कनकाई खबर \ निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) कनकाई नगर समितिको आयोजनामा दुई दिवसीय नगर स्तरीय साँस्कृतिक कार्यक्रममा पहिलो दिन शनिबार गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

कनकाई ३ स्थित पशुपति अंग्रेजी माविको सभाहलमा भएको प्रतियोगितामा प्याब्सन कनकाई नगरका अध्यक्ष विनोद सुब्बाको अध्यक्षता एवं झापा क्षेत्र नं.४ (२)का प्रदेश सदस्य माननीय भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । प्याब्सन नेपालका केन्द्रिय सदस्य लक्ष्मीप्रसाद (एलपी) उप्रेती, प्याब्सन झापाका अध्यक्ष गौरिमान फागो, पशुपति अंग्रजी माविका अध्यक्ष पुण्यप्रसाद उप्रेती लगायत नगर क्षेत्रमा रहेका निजी विद्यालयका संचालक साथै प्रिन्सिपलसहितको आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरका निजि तथा आवासिय बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
दुई दिवसिय कार्यक्रममा पहिलो दिन शनिवार १२ बर्ष भन्दा मुनिका र १२ बर्ष माथिका बिद्यार्थीको अलग अलग समूह बनाई गायन प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा १२ बर्ष माथिको समुहमा ११ वटा बिद्यालयले सहभागिता जनाएका थिए भने १२ बर्ष भन्दा मुनिको समूहमा १२ वटा बिद्यालयले सहभागीता जनाएका थिए । १२ बर्ष मुनिको गायन प्रतियोगितामा प्यारागन एकाडेमी प्रथम , दिव्यरत्न आवासिय मावि द्वितीय र माउन्ट अन्नपूर्ण अंग्रेजी बिद्यालय तृतीय भएको छ । त्यस्तै १२ बर्ष माथिको गायन प्रतियोगितामा ग्लोबल एडुकेयर एकाडेमी प्रथम , देवकोटा अंग्रेजी बिद्यालय द्वितीय साथै अरुणोदय अङ्ग्रेजी बिद्यालय र प्यारागन एकाडेमी तृतीय भएका छन ।
त्यसैगरी शनिवार नै लोक तथा सांस्कृतिक सामुहिक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १२ बटा बिद्यालयले सहभागिता जनाएकोमा प्यारागन एकाडेमी प्रथम , नव युग शिक्षा निकेतन द्वितीय र पशुपति अंग्रेजी मावि तृतीय भएका छन । प्रतियोगिताको निर्णायक मण्डलमा गायन तर्फ भिम बस्नेत र सञ्जिव कुमार धिमाल रहेका थिए भने नृत्य तर्फ देवराज खड्का र चन्द्र तामाङ रहेका थिए ।
कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने सहभागीलाई शिल , मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा प्रथम हुने प्रतियोगीलाई प्याब्सन जिल्लाले आयोजना गर्ने जिल्लास्तरीय प्रतियोगितामा समावेश गराउँने प्याब्सन कनकाई नगरका अध्यक्ष विनोद सुब्बाले वताएका छन । यस किसिमका कार्यक्रमले हाम्रो आफ्नो संस्कार ,संस्कृति र धर्मको संरक्षण भई जिवन्त रहन सहयोग पुग्ने बताउदै कार्यक्रमका प्रमुख अतिथि सिटौलाले जिवनको स्वास्थ्य सन्तुलनकालागि पनि यस किसिमको कार्यक्रम अपरिहार्य रहेको बताएका छन ।
बालबालिकालाई राष्ट्रिय कलाकार बनाउन प्याब्सनले अहम भुमिका खेलेको प्रष्ट्याउँदै विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका छन । त्यस्तै आईतबार दोस्रो दिनको कार्यक्रममा आधुनिक नृत्य प्रतियोगिता साथै राष्ट्रिय गित, नृत्य प्रतियोगिता हुने र यसमा आधुनिक तर्फ १६ र राष्ट्रिय गित तर्फ १४ वटा बिद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक विनोद उप्रेतीले बताएका छन ।
प्याब्सनका केन्द्रीय सदस्य , क्षेत्रीय सदस्य , विभिन्न पालिकाका अध्यक्ष साथै प्रतिनिधि , शैक्षिक ब्यक्तित्व , बिद्यार्थी , अभिभावक , संघसंस्थाका प्रतिनिधि लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि लाई स्वागत प्याब्सनका जिल्ला सदस्य सागर ढुङ्गानाले गरेका भिए भने संचालन कनकाई नगर सचिव मोहन थापा र कार्यक्रम संयोजक समेत रहेका नगर कोषाध्यक्ष विनोद उप्रेतीले गरेका थिए ।
