कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा धनीपुर्जा लिन गएका भूमिहिन नगरबासी रित्तो हात घर फर्किएका छन् ।
कनकाई नगरपालिकाले निर्वाचन आयोगसँग अनुमति लिएर धनीपुर्जा वितरणको तयारी गरेको भएपनि भूमि आयोग झापाबाट नगरलाई धनीपुर्जा उपलब्ध नगराएपछि भूमिहीनहरू रित्तो हात घर फर्किएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई नगरले शनिवार एक कार्यक्रमको आयोजना गरी कनकाई–८कल्टुबारी टोलका २० घरपरिवारलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको थियो । तर, निर्वाचन आयोगको आचारसंहिता फुकुवा नभएको भनेर राष्ट्रिय भूमि आयोग झापाले धनीपुर्जा उपलब्ध नगराएका कारण निर्धारीत समयमा वितरण गर्न नसकिएको धनीपुर्जा नगरवासीको घर घरमै पुर्याउँने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए।
आम निर्वाचन अघि धनीपुर्जा वितरणको तयारी गरेको भएपनि निर्वाचन आचारसंहिता लागू भएपछि वितरण कार्य रोकिएको थियो । नगरले दोस्रो पटक पूर्व सूचना गरेर शनिवार धनीपुर्जा वितरण गर्ने तयारी गरेको थियो । तोकिएको मितिमा धनीपुर्जा बितरण गर्न नगरमा सर्वपक्षीय भेला समेत बोलाइएको थियो ।
कनकाई नगरपालिकाले धनीपुर्जा वितरणकालागि २०७४÷०७५देखि नै नक्साङ्कनको काम सुरु गरेको थियो । हाल सम्म अधिकांश काम सम्पन्न भइसकेको भएपनि नगरपालिकाले बनाएको धनीपुर्जा जिल्ला आयोगले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । आयोगले अब प्रमाणित गर्ने काम थालेको छ,अब छिट्टै कनकाईका भूमिहिन परिवारलाई घर घरमा नगरपालिकाले धनीपुर्जा उपलब्ध गराउने नगर प्रमुख पोखरेलले बताए ।
कार्यक्रममा कनकाई ८ का वडाअध्यक्ष लिलाबहादुर कटुवालले आफ्नो वडाबाट धनीपूर्जा वितरण हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने नगरपालिका भूमिहिनहरूलाई जग्गा धनीपुर्जा उपलब्ध गराउन सक्रियताका साथ अघि बढेको भएपनि प्रविधिक कारणले धनीपूर्जा वितरण कार्य ढिलो भएको बताए ।
आयोगले यथाशीघ्र भूमिहिनहरूलाई धनीपुर्जा उपलब्ध गराउँनु पर्नेमा जोड दिँदै प्रदेश नं.१ का पुर्व मन्त्री हीराकुमार थापाले हिजो निर्वाचनमा गरेका प्रतिवद्धता पूरा गर्ने कार्यमा एक कदम पनि पछि नहट्न जनप्रतिनिधिहरुलाई सुझाव दिए । धनीपुर्जाको विषयलाई लिएर ग्रामिण क्षेत्रका जनताहरुले जनप्रतिनिधिलाई घेरामा पार्ने गरेको विषयलाई सामान्य रुपमा नलिन प्रदेशका पुर्व मन्त्री थापाले भूमि आयोग झापाको ध्यानाकर्षण गराए । भूमि आयोगले गरेको ढिलासुस्तीको कारण जनप्रतिनिधिहरूले भूमिहिन परिवारको गुनासो दैनिक सुन्नु परेको दृष्टान्त थापाले सुनाए ।
कनकाई नगरपालिकामा ८ हजार ७७८ कित्ता र ७ हजार ९१ घरधुरी परिवारले धनीपूर्जा पाउने भएका छन् । जस अन्तरगत ३३७ भूमिहीन दलित, २ हजार ३२९ भूमिहीन सुकुम्बासी, ४ हजार ४२५ अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क नगरपालिकाले तयार पारेको छ । भूमि ऐनको आठौँ संशोधनले नगरपालिकालाई तथ्याङ्क संकलन, नापजोख र धनीपूर्जा बनाउने अधिकार प्रत्याभूत गरेको बताइएको छ ।
कनकाई नगरपालिकाका प्रमुख पोखरेलको सभापतित्व रहेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँले सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा नगरस्तरीय भूमिआयोगकी संयोजक रञ्जीता कट्टेलले धनीपुर्जा वितरणकालागि हाल सम्म भएको प्रगतिका बारेमा जानकारी दिएकी थिइन् । नगरपालिकाकी कर्मचारी जमुना कटुवालको संचालन रहेको कार्यक्रममा नगरपालिकाकी पुर्व उपप्रमुख मन्जु प्रसाईँ, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईँ, जगत देउजा लगायतले भूमिहिन नगरवासीलाई जतिसक्दो चाँडो धनीपुर्जा उपलव्ध गराउँनु पर्नेमा जोड दिए ।
