कनकाई खबर \ झापाको कनकाई नगरपालिकालाई देशव्यापी पहिचान दिने कार्यमा सहारा नेपाल साकोसको भूमिका अब्बल रहेको भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सहाराको खुलेर प्रशंसा गरे ।
झापाको विर्तामोड–२ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल साकोसको सुरुङ्गा सेवा केन्द्रले संचालन गरेको एकाइगत साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाई नगरपालिकालाई देशमै चिनाउँने पहिलो सहकारी संस्था सहारा नेपाल भएको भन्दै सहाराका गतिविधिको प्रशंसा गरेका हुन् ।

संस्थाको २६औं वार्षिक साधारण सभा अन्तर्गत यतिबेला सेवा केन्द्रसहित लघुवित्त तर्फका सेवा केन्द्रहरुमा समेत उपएकाईगत साधारणसभा संचालन भइरहेका छन् । यसै क्रममा कनकाई उद्योग वाणिज्य संघको सभा हलमा संस्थाका प्रथम उपाध्यक्ष छविलाल खतिवडाको अध्यक्षता रहेको साधारण सभालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले प्रदेश नं.१ मै यति धेरै सुविधा आफ्ना सदस्यहरुलाई प्रदान गर्ने संस्थाका रुपमा आँफुले सहारालाई बुझेको बताएका छन् ।
सम्बोधनका क्रममा नगर प्रमुख पोखरेलले भने,“सहकारीको नियमित गतिविधि त छँदैछ, तर सामाजिक क्षेत्रमा स्थानीय सरकारसँग समेत समन्वय गरेर आर्थिक समृद्धिमा सहाराले ठूलो टेवा पुर्याएको छ।” समाज रुपान्तरणमा सहाराको योगदान अब्बल रहेको चर्चा गर्दै कनकाई नगर प्रमुख पोखरेलले पाँच वर्ष अघि नै जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यताको प्रारम्भिक चरणबाटै कनकाईमा जेष्ठ नागरीक चौतारी निर्माण, कृषि, शिक्षा, स्वास्थ्य,भौतिक पुर्वाधार, पर्यापर्यटन,आयआर्जन लगायतका क्षेत्रमा सहारासँगको साझेदारीमा कनकाईमा महत्वपूर्ण काम भएको नगर प्रमुख पोखरेलले बताए ।
प्रारम्भिक चरणमै सहारा नेपालबाट सिकेका कुरालाई कनकाई नगरपालिकाले हालसम्म पनि निरन्तरता दिँदै आएको स्मरण गर्दै नगर प्रमुख पोखरेलले सहारासँगको साझेदारीमा कनकाईका मुख्य चोक बजारलाई स्मार्ट सिटी बनाउँने अभियान सफल भएको बताए । नगर क्षेत्रका मुख्य चोक बजारमा मास लाइट जडान गरेर कनकाई नगरपालिकालाई प्रदेन नं.१कै पहिलो नगरपालिका बनाउँने कार्यमा सहारा नेपालको भूमिका महत्वपुर्ण भएको भन्दै नगर प्रमुख पोखरेलले सहारा नेपालसँगको सहकार्यलाई निरन्तरता दिन चाहेको बताए ।
कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन संस्थाका प्रथम उपाध्यक्ष छविलाल खतिवडाले र संस्थाको नीति तथा कार्यक्रम संचालक समिति सदस्य लक्ष्मीप्रसाद आचार्यले प्रस्तुत गरे ।त्यस्तै लेखा समितिको प्रतिवेदन ऋणसमिति सदस्य नारायणप्रसाद काफ्लेले प्रस्तुत गरेको कार्यक्रममा संस्थाका उपनिर्देशक दिनेशवहादुर निरौलाले लेखा परीक्षण प्रतिवेदन साथै बचत सेवा बारेमा जानकारी गराएका थिए ।

साधारणसभामा सहभागी सदस्यहरु एवम् अतिथिहरुलाई सुरुङ्गा सेवाकेन्द्र सञ्चालन सहयोग समितिका संयोजक निर्मल दाहालले शाब्दिक स्वागत गरेका थिए । समिति सदस्य मेनुका मैनालीले संचालन गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, संस्थाका क्षेत्रीय सहसंयोजक खड्गप्रसाद प्रसाईँ, कनकाई नगरपालिकाकी पुर्व उपप्रमुख मन्जु प्रसाईँ लगायत सदस्यहरुको व्यापक उपस्थिति रहेको सेवा केन्द्र सुरुङ्गाका प्रमुख टिका प्रधानले जानकारी दिए । साधारणसभामा प्रस्तुत प्रतिवेदनहरुमाथि सदस्यहरुले राखेका जिज्ञासा र सुझावलाई संचालक समितिका पदाधिकारीहरुले बुँदा टिपोट गरी उठेका सवालमा व्यापक छलफल भइ थप सुझाव संकल गरिएको छ ।
संस्थाले चालू आर्थिक वर्षमा ५४ करोड रुपैयाँ खुद नाफा गर्ने योजनासहितको बजेट बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा ‘सहारा भए अरु किन खोज्ने’ नारा दिएर सदस्यहरुको सम्पूर्ण वित्तीय आवश्यकता सहाराले नै पूरा गर्ने विश्वास दिलाउँदै सहाराले प्रवद्र्धन गरेका बाहेक अन्य सहकारीमा रहेका सदस्यलाई पनि संस्थामा ल्याउन कोसिस गर्ने उल्लेख गरिएको छ । सहारा नेपाल साकोसले विगतमा झैं स्वास्थ्य सेवा योजनालाई निरन्तरता दिँदै विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको छ । जसअन्तरगत घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरी अस्पतालबाट अप्रेशन गरी घर फर्केका सदस्यहरुलाई नियमित ड्रेसिङ्ग लगायतका प्राथमिक उपचार सेवा उपलब्ध गराउने जनाइएको छ ।
संस्थाको लोकप्रिय स्वास्थ्य कार्यक्रम ‘सञ्जिवनी कार्यक्रम’ अन्तर्गत नियमित औषधी सेवन गर्नुपर्ने प्रमुख १० वटा रोगहरु उच्च रक्तचाप, सुगर, थाइराइड, कोलस्ट्रोल, युरिक एसिड, मुटु, मिर्गौला, दम, छारेरोग र कोलाइटिटिसका बिरामीहरुलाई ५० प्रतिशत सहयोग उपलब्ध गराउने जनाइएको छ । यस्तै सिनियर सिटीजन हेल्थ केयर अन्तर्गत यस वर्षदेखि जेष्ठ सदस्य तथा बृद्ध आमाबुबाहरु बिरामी भई घरमा नै मिनिअस्पतालको सेवा दिन सहज बनाउन ह्वील चियर, अस्पताल बेड, कुर्सी, अक्सिजन न्यूनतम शुल्क लिई पछि निको भएपछि फिर्ता हुने गरी प्रदान गरिनेछ ।
स्वास्थ्य सम्बन्धी अर्को महत्वपूर्ण योजना ‘जीवन बरदान कार्यक्रम’ अन्तर्गत साना तथा मझौला शल्यक्रिया, प्रसुती सेवा, दुर्घटना र विशेष रोगहरुमा निर्देशिका बमोजिम सुविधा प्रदान गरिने जनाइएको छ । सुत्केरी पोषण कार्यक्रम अन्तरगत संस्थाका महिला शेयर सदस्य सुत्केरी भएको अवस्थामा पहिलो दुई सन्तानसम्म २ हजार रुपैयाँ बराबरको पोषण सामाग्री उपलब्ध गराउने कामलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख छ ।
