कनकाई खबर \ लामो समयदेखि अनिर्णयको बन्दी बनेपछि अन्यौलमा रहेको भmापाको कनकाई सामुदायिक वनले निकास पाएसँगै नयाँ आशा जगाएको छ ।
वन समूहका अध्यक्ष ख्याम ओलीले पदभार ग्रहणसँगै आफ्ना तत्कालिन एवं दिर्घकालिन योजनाहरु सार्वजनिक गरेपछि उपभोक्ता विचमा थप आशा जागेको हो । यसै क्रममा कनकाई सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रको माटो परिक्षण गरी वातावरण अनुकुलको वृक्षरोपण गर्ने आफ्नो पहिलो योजना रहेको अध्यक्ष ओलीले बताएका छन् । दिर्घकालिन सिंचाइकालागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारसँंगको सहयोगमा भुमिगत सिंचाई सोलार पम्प तथा दोमुखाको ड्याम्पबाट वन भित्र पानी सञ्चय गरी सिंचाईको व्यवस्थापन गर्ने बताइएको छ । त्यस्तै नवनिर्वाचित अध्यक्ष ओलीले चोरी निकासी तथा वन डढेलो नियन्त्रणकालागि उपभोक्ता गस्ति परिचालन गर्ने तथा आवश्यकता अनुसार शसस्त्र वनगस्ति टोली एवम् प्रहरीको सहयोगमा वृहत दिवा तथा रात्रीकालिन गस्तिको व्यवस्था गर्ने, वन संरक्षणकालागि वनको बाहिरी क्षेत्रमा प्राकृतिक तथा कृत्रिम घेरावाराको व्यवस्थापन गर्ने जनाएका छन् ।
आफ्नो नेतृत्वमा रहेको कार्यसमितिसँगको सहकार्यमा अध्यक्ष ओलीले उपभोक्ता वन हेरालु, कार्यसमिति तथा टोल सदस्यहरुको गस्ति परिचालन गरी झाडी सफाई गर्ने , कनकाई नगरपालिकासँग समन्वय गरी वनभित्र फालिने फोहोरलाई यथासिघ्र कनकाई विर्ताअर्जुन नविकरणीय उर्जामा व्यवस्थापन गर्ने योजना रहेको बताएका छन् । कनकाई नगरपालिकाँंगको सहयोगमा वन क्षेत्र तथा अग्नी रेखामा स्मार्ट लाइट तथा सिसी क्यामेरा जडान गरी उज्यालो र सुरक्षित वनाउँने बताउँदै अध्यक्ष ओलीले विकास निर्माणका कामहरुमा सरकारका तीनवटै तह स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर आगामी ३ वर्ष भित्रमा विशेष प्राथमिकताका साथ ५० हेक्टर वन क्षेत्रलाई हराभरा वनाउँने प्रतिबद्धता जनाएका छन ।
त्यस्तै अध्यक्ष ओलीले वन समूहले अघि सारेको विज्ञान प्रदर्शनी तथा वनस्पती उद्यानलाई ३ वर्ष भित्रमा सम्पन्न गर्ने , कनकाई सामुदायिक वनमा संकलन गरि विक्री सहमति प्राप्त गरेका लकडीलाई प्रत्येक टोललाई जनसंख्याका आधारमा समावेशी रुपमा वितरण गर्ने बताए । गरिवी निवारण अन्तर्गत कनकाई सामुदायिक वनका निम्न स्तरका उपभोक्ता सदस्यहरुलाई सुरुङ्गा कनकाई वचत तथा ऋण सहकारी संस्थासँंगको सहकार्यमा प्रत्येक वर्ष १०० जना सदस्यलाई सेयर सदस्य वनाउँने योजना अध्यक्ष ओलीले सुनाए ।त्यस्तै निम्न आयस्तर भएका उपभोक्ताका छोराछोरी तथा जेहेन्दार विद्यार्थी तथा दिदी वहिनीहरुलाई प्रत्येक वर्ष आवश्यक विशेष तालिमको व्यवस्था गर्ने बताइएको छ । कनकाई नगरपालिकालाई धार्मिक पर्यटनको केन्द्र निर्माण गर्नकालागि क्रियाशिल संघ संस्थासँंग समन्वय गर्दै वनको वरिपरीको क्षेत्रमा सौन्दर्य प्रदायक विरुवा रोपण गर्ने अध्यक्ष ओलीले बताए ।
त्यस्तै कनकाई सामुदायिक वनको पुस्तकालयलाई अझ व्यवस्थित गर्दै ईलाइवेरीका रुपमा विकास गर्ने साथै समूहका वन हेरालु तथा कर्मचारीलाई समय सापेक्ष रुपमा तालिमको व्यवस्था गर्ने बताउँदै अध्यक्ष ओलीले वन समूहको सम्पूर्ण गतिविधिलाई विभिन्न संचार माध्यमबाट मात्र नभई संस्थाको आफ्नै वेवसाइट समेत निर्माण गरी सत्यतथ्य सार्वजनिक गर्दै जाने लगायतका प्रतिबद्धता व्यक्त गर्दै वन समूहका गतिविधिलाई थप पारदर्शि बनाउँने प्रतिवद्धता जनाएका छन ।
