कनकाई खबर \ झापाको सुरुङ्गामा रहेको तराईकै पहिलो सामुदायिक वनका रुपमा चिनिने कनकाई सामुदायिक वनले निकास पाएको छ ।

वन समूको मुख्य पाँच पदकालागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै विगत लामो समयदेखी विवादमा रहेको यस वन समूहले निर्वाचन भएको २० महिनापछि निकास पाएको हो । नेकपा एमाले र कांग्रेस नेतृत्वको गठबन्धन बिच ०७७ चैत ३० गते सम्पन्न निर्वाचनको मत गणनाबाट पछिल्लो मत परिणाम सार्वजनिक भएसँगै अध्यक्षमा एमालेका ख्याम ओली निर्वाचित भएका थिए । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राप्रपाको सयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदकालागि सन्तोश रायमाझीको नेतृत्व चुनावी मैदानमा रहेको थियो भने एमाले एक्लै ख्याम ओलीको नेतृत्वमा चुनावी मैदानमा थियो । त्यस्तै विवेकशील साझा पार्टीले समेत नारायण ओलीको नेतृत्वमा उम्मेद्वार खडा गरी निर्वाचनको मैदानमा होमिएको थियो ।
निर्वाचन सम्पन्नपछि मत परिणामको अन्तिम नतिजा घोषणा भए लगत्तै मत गणनामा धाँधली भएको भन्दै पुनः मत गणनाको माग सहित कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वारसहितका नेता तथा कार्यकर्ताले चर्को नाराबाजी गरेका थिए । त्यसपछि अदालतको ढोका सम्म पुगेको कांग्रेस नेतृत्वको गठबन्धनले उच्च अदालत इलाममा रिट दर्ता गरेको थियो । अदालतमा मुद्दा दायर भएकोले नव निर्वाचित समूहको सपथ रोकिएको थियो । वन समूहको मुल ढोकामा तालाबन्दी समेत गरेको कांग्रेस नेतृत्वको गठबन्धनले पछिल्लो समय केही लचिलो बन्दै ढोकामा लगाएको ताला आँफै खोलिदिएको थियो । मत गणनामा असन्तुष्टी जनाउदै पुनः गणनाको माग गरेर उच्च अदालत इलाममा दर्ता गरेको रिट गत असार ७ गतेको अदालतको फैसलाले खारेज गरेको थियो । सोही अनुरुपको पत्र अदालतबाट वनलाई प्राप्त भएपछि निर्वाचन सकिएको २० महिना पछि सोमबार नवनिर्वाचित पदाधिकारी साथै सदस्यहरुले सपथ ग्रहण साथै पदभार ग्रहण गरेका हुन् । निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षमा ख्याम ओली साथै कांग्रेस नेतृत्वको गठबन्धनबाट सन्तोश रायमाझी चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

वन समूह परिसरमा नव निर्वाचित अध्यक्ष ख्याम ओली , उपाध्यक्ष ललित बहादुर कार्की , सचिव मान्ता खरेल , सहसचिव केशव सङ्ग्रौला, कोषाध्यक्ष श्रीप्रसाद खरेल साथै १७ वटै टोलका टोल संयोजक र सदस्यहरुलाई निर्वाचन समितिका सदस्य रुपनारायण खतिवडाले सपथ ग्रहण गराए । साथै निर्वाचन समितिका संयोजक टीकाकुमार पोखरेलले नव निर्वाचित अध्यक्ष ख्याम ओलीलाई माइन्युट प्रदान गर्दै पद हस्तान्तरण गराएका थिए । वन समूहको १७ वटै टोलका संयोजकहरु कार्यसमिति सदस्यमा रहने साथै पाँचजना मनोनीत सहित २७ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएको वन समूहका कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए ।
कार्यसमिति सदस्यका रुपमा रहने टोल समिति संयोजकहरुमा कालीवहादुर विक, मेघराज मगर, वलराम सुवेदी, भवानीशंकर निरौला, ईन्द्रवहादुर थापा, अम्बरबहादुर कार्की, सोमनाथ शिवाकोटी, चोकप्रसाद गौतम, गोपाल सिग्देल, रामप्रसाद भट्टराई, माधवप्रसाद ढकाल,नरहरी थपलिया, झलक सिटौला, गणेशप्रसाद पोखरेल, होमप्रसाद विमली, दिब्यराज ढकाल, राजेश थापा रहेका छन् । वन समूहको विधानअनुसार अन्य पाँचजना सदस्य कार्यसमितिको बैठकबाट मनोनित हुने जनाइएको छ ।

कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक टीकाकुमार पोखरेल, सदस्य चन्द्र मैनाली भतिज , प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , कनकाई ४ का बडा अध्यक्ष रोशन सुवेदी , सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख सुरेशकुमार खनाल , वन संरक्षक देवराज ओझा लगायतका अतिथिहरुले प्रमाण पत्र वितरण गरेका थिए ।
वन समूका अध्यक्ष ओलीको सभापतित्व एवं उपाध्यक्ष ललितवहादुर कार्कीले स्वागत गरेको कार्यक्रममा नव निर्वाचित समितिलाई प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, सव डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल , कनकाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद पाठक , वन समूहका पुर्व अध्यक्ष नारायण ओली लागायतले सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन समूहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।
