कनकाई खबर \ झापाको कनकाई नगरका जनप्रतिनिधि गोविन्द सुवेदीसहित छोरी युनिकाले कनकाई–३, स्थित झरनाबस्तीका बिपन्नसँग जन्मदिन मनाएका छन् ।
पछिल्लो समय जन्मदिन लगायतका हरेक पर्व एवं उत्सवका नाममा होटल साथै रेष्टुरेन्टमा बढ्दै गएको भिडभाडका कारण गलत संस्कारको विकास भएको भन्दै सुवेदीले संस्कारयुक्त समाज निर्माणकालागि बिपन्नसँग जन्मदिन मनाएको बताएका छन् ।
नेपाल खेलकुद महासंघ कनकाईका अध्यक्ष समेत रहेका कनकाई–३ का निर्वाचित वडासदस्य सुवेदीको यहि मंसिर १६ गते साथै छोरी युनिकाको १७ गते जन्म दिन परेको थियो । जन्मदिनको अवसर पारेर युवा समाजसेवी सुवेदीले झरनाबस्तीका बिपन्न परिवार साथै वालवालिकासँग संयुक्त बाबाछोरी जन्मदिन मनाएका हुन् । युनिका सुवेदी लाइफलाइन अस्पताल दमकमा स्टाफ नर्स दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
जन्मदिनको अवसरमा विपन्न परिवारका २० जना वालवालिकालाई न्यानो कपडा(सुइटर) वितरण साथै एकसय बढी स्थानीयबासीको स्वास्थ्य परिक्षणसहित निशुल्क औषधि वितरण गरिएको थियो । निशुल्क स्वास्थ्य शिविर संचालन गरेको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाका डाक्टर अभिषेक नायक र स्वास्थ्यकर्मी पवन पोखरेलको टोलीले स्वास्थ्य परिक्षण गरेको बताइएको छ ।
विगत केही वर्षदेखि नै सुवेदीले समाज रुपान्तरणकालागि नयाँ सन्देश दिने उद्येश्यले जन्मदिनलाई थप विशेष बनाउँदै आएका छन् । स्थानीय पुकार अशक्त अपाङ्ग समाजमा रहेका वालवालिकाहरुकालागि सहयोग पुगोस भन्ने उद्येश्यले सुवेदीले केही वर्ष अघि नै आफ्नो जन्मदिनमा विशेष सहयोग गरेका थिए । त्यस्तै सामाजिक अभियन्ता सुवेदीले कोरोना महामारीका समयमा समेत स्थानीयवासीलाई महत्वपूर्ण सहयोग गरेका थिए । सुवेदीले सामाजिक क्षेत्रमा पवित्र उद्येश्य राखेर गरेको कार्यक्रमबाट सबैले अनुसरण गर्नु पर्ने भन्दै कनकाई –३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नं.२ का वडाअध्यक्ष प्रताप राई, एमाले प्रदेश कमिटि सदस्य टंकवहादुर कार्की, कनकाई नगर कमिटि अध्यक्ष खड्ग प्रसाईँ लगायतले प्रशंसा गरे ।
कार्यक्रममा गोविन्दकी माता यमुना सुवेदीसहित कार्यपालिका सदस्य कृष्णमाया भुजेल, नवलकिशोर दत्त, वडा सदस्य अनिल गोयल, एमालेका युवा नेता विनोद राना,छवी थपलिया, राधिका ओली कडरीया, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईँ, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष मनोहरी बिमली, अनन्त टोल विकास संस्था झरनावस्तीका अध्यक्ष विनोद भण्डारी, कनकाई मावि सुरुङ्गाको व्यवस्थापन समितिका सदस्य चन्द्र प्रसाई लगायतको उपस्थिती रहेको थियो ।
