कनकाई खबर \ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर कनकाईस्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा आइतवार सम्पन्न निशुल्क आँखा शिविरमा ५ सय ८६ जनाले सेवा लिएका छन् ।
आँखा परिक्षणका क्रममा मोती बिन्दुको समस्या भएका ३२ जना आँखाका विरामीहरुलाई निशुल्क रुपमा अपरेशन गर्नकालागि मेची आँखा अस्पताल विर्तामोडमा रेफर गरिएको नेपाल रेडक्रस सोसाईटी सुरुङ्गा उपशाखाका सभापति प्रविन तिम्सिनाले वताएका छन् । आँखा परिक्षणका क्रममा सामान्य समस्या भएका विरामीहरुलाई निशुल्क रुपमा औषधि वितरण गरिएको थियो भने आवश्यक्ता अनुसार १ सय ८० जनालाई निशुल्क रुपमा चस्मा समेत वितरण गरिएको बताइएको छ । ग्रामिण क्षेत्रका विपन्न समुदायलाई लक्षित गरी संचालन गरिएको शिविरमा कनकाई लगायत झापा गाउँपालिका र शिवसताक्षी नगरका समेत आँखाका विरामीहरुले सेवा लिएको वताइएको छ ।
रोटरी क्लव अफ सुरुङ्गाका वर्ष २०२० \ ०२१ का अध्यक्ष टिका प्रसाद जमरकट्टेलको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको निशुल्क आँखा शिविर स्थानीय ४ वटा क्रियाशिल सामाजिक संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको वताइएको छ । आयोजकका रुपमा रहेका संस्थाहरुमा सुरुङ्गाा रेडक्रस, रोटरी क्लव अफ सुरुङ्गा, सुरुङ्गा जेसीज र सुरुङ्गा सहकार्य युवा क्लव रहेका छन् ।
आँखा शिविर संचालन गर्नकालागि मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो भने कनकाई नगरपालिका साथै एक्सल बैंकको आर्थिक सहयोग रहेको आयोजक समितिले जनाएको छ । सुरुङ्गा जेसीजका अध्यक्ष त्रिलोचन उप्रेतीले स्वागत तथा सुरुङ्गा रेडक्रसका सभापति प्रविन तिम्सिनाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, एक्सल बैंकका कर्जा प्रमुख शिवकुमार गिरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सम्पन्न गर्नकालागि आर्थिक सहयोग गर्ने कनकाई नगरपालिका र एक्सल बैंकलाई कदर पत्र प्रदान गरिएको थियो भने प्राविधिक सहयोग गर्ने मेची आँखा अस्पताललाई प्रशंसा पत्र प्रदान गरिएको सुरुङ्गा रेडक्रसका सचिव हिरण्य राईले बताएका छन् । शिविर उद्घाटन कार्यक्रमको संचालन सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष टिकाराम भण्डारी (सुदिप) ले गरेका थिए ।