
बिर्तामोड/ बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आउनेहरुले आदिबासी जनजातीहरुको स्टललाई विशेष चासोका रुपमा हेरेको पाइएको छ । महोत्सवमा आदिबासी जनजातीहरुले आफ्ना मौलिक सामाग्री चिनाउने उद्देश्यका साथ स्टलहरु राखेका छन् ।
महोत्सव स्थलमा किरात राई यायोख्खा, मेचे समाज शिवियारी आफात, किरात याक्थुम चुम्लुङ, थारु कल्याणकारिणाी सभा, सन्थाल, राजवंशी, गनगाईं, मगर, तामाङ घेदुङ लगायत आदिबासी जनजातीको स्टल राखिएको छ । स्टलहरुमा मौलिक पहिचान झल्किने भेषभुषा, दैनिक प्रयोजनका परम्परागत सामाग्री तथा कलाकृतीसमेत राखिएको छ ।
आफूहरुले मौलिक घरसहितको स्टल बनाएर राखेको किरात राई यायोख्खाका चित्रप्रकाश राईले बताए । ‘ओख्ली, जाँतो, डालो, डोको, चिण्डो, मकैको झुत्ता, फर्सी जस्ता सामाग्री पनि राखिएको छ,’ उनले भने, ‘महोत्सवमा मौलिक सामाग्री चिनाउने नै हाम्रो मुख्य उद्देश्य हो ।’
दुई सय दस वटा स्टल रहेको महोत्सव शुक्रबारदेखि सुरु भएको हो । महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो रहेको अध्यक्ष कुमार भट्टराईले वताए । महोत्सवमा शनिबारदेखि टिकटको व्यवस्था गरिएको छ । हालसम्म १० हजारभन्दा बढीले टिकट काटेर महोत्सवको अवलोकन गरेको आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।
महोत्सवकै अवसरमा काठमाडौँबाट माउण्टेन एयरको हेलिकप्टर ल्याइएको छ । हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेको संख्या बढेको बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईंले बताए । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवमा तीनवटा प्याकेजमा हेलिकप्टर सञ्चालनमा ल्याइएको हो ।
महोत्सवस्थलमा स्वास्थ्य शिविर समेत सञ्चालनमा ल्याइएको छ । सोमबार छाला रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने बताइएको छ । महोत्सवमा आउनेमध्ये २५ जनाले रक्तदान तथा ४० जनाले दन्त परीक्षण गराएको लायन्स क्लब अफ बिर्तामोडले जनाएको छ ।
महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए । मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति देखाइरहेका छन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन मेलामा उपलब्ध छ । महोत्सव २३ माघसम्म सञ्चालन हुनेछ ।