प्रस्तावनाः कनकाई नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, कर तथा शुल्कको दर घटाउने-बढाउने, कर लगाउने, छुट दिने तथा राजस्व प्रशासन सम्बन्धी कानुनी तथा प्रशासनिक व्यवस्था करना वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम कनकाई नगरपालिकाको नगर सभा समक्ष यो ऐन पेश गरिएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस ऐनको नाम “आर्थिक ऐन, २०८३” रहेको छ।
(२) यो ऐन २०८३ साल साउन १ गतेदेखि कनकाई नगरपालिका क्षेत्रमा लागू हुनेछ।
२. सम्पत्ति करः
(१) नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको घर र सोले चर्चेको जग्गामा स्थानीय सरकार सञ्चालन ऐनको दफा ५६ मा उल्लेखित प्रावधान अनुसार अनुसूची (१) बमोजिम सम्पत्ति कर लगाइने र असुल गरिनेछ।
(२) यस दफा बमोजिम सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्यांकन दर अनुसूची (१), जग्गाको मूल्यांकन रकम अनुसूची (२), घरको मूल्यांकन रकम अनुसूची (३) तथा ह्रासकट्टीको दर अनुसूची (४) मा उल्लेख भए बमोजिम हुनेछ।
३. मालपोत/भूमिकरः
मालपोत/भूमिकर प्रयोजनका लागि जग्गाको मूल्यांकन दर अनुसूची (५), जग्गाको मूल्यांकन रकम अनुसूची (२) बमोजिम लगाइने र असुल गरिनेछ।
४. घर जग्गा बहाल करः
(१) नगरपालिका क्षेत्रभित्र कुनै व्यक्तिले घर, घरको छत, पसल, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिई प्राप्त गरेको आयमा बहाल कर लगाइने र असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिम लगाइने घरजग्गा बहाल करको दर तथा बहाल रकमको मूल्यांकन सम्बन्धी व्यवस्था अनुसूची (६) मा उल्लेख भए बमोजिम हुनेछ।
५. व्यवसाय करः
(१) नगरपालिका क्षेत्रभित्र सञ्चालित उद्योग, व्यापार, व्यवसाय वा सेवामा व्यवसायको प्रकृति, पुँजी लगानी र आर्थिक कारोबारका आधारमा वर्गीकरण गरी व्यवसाय कर लगाइने र असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिम व्यवसाय कर असुली गर्दा बैंक तथा वित्तीय संस्था र सुपरमार्केटहरूको प्रत्येक कारोबार स्थलमा अलग-अलग इकाई मानी कर असुली गरिनेछ।
(३) यस दफा बमोजिम लगाइने व्यावसायिक करको दर अनुसूची (७) मा उल्लेख भए बमोजिम हुनेछ।
६. जडीबुटी, कवाडी र जीवजन्तु करः
नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले जडीबुटी, कवाडी माल र प्रचलित कानुनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यावसायिक कारोबार गरेबापत अनुसूची (८) बमोजिम जडीबुटी, कवाडी तथा जीवजन्तु कर लगाइने र असुल गरिनेछ।
७. सवारी साधन करः
(१) नगरपालिका क्षेत्रभित्रका रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सा जस्ता सवारी साधनको दर्ता र वार्षिक नवीकरणमा सवारी साधन कर लगाइने र असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिम लगाइने सवारी साधन करको दर अनुसूची (९) मा तोकिए बमोजिम हुनेछ।
८. विज्ञापन करः
(१) नगरपालिका क्षेत्रभित्र हुने विज्ञापन, प्रचारप्रसारका लागि राख्न दिइने साइनबोर्ड, ग्लोबोर्ड, स्टिकर आदिमा विज्ञापन कर लगाइने र असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिम लगाइने विज्ञापन करको दर अनुसूची (१०) मा तोकिए बमोजिम हुनेछ।
९. मनोरञ्जन करः
(१) नगरपालिकाले प्रदेश कानुनले तोके बमोजिमका सेवा र क्षेत्रमा सोही कानुनमा तोकिएको दरमा मनोरञ्जन कर लगाई असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिम लगाइने मनोरञ्जन करको दर प्रदेश सरकारले तोके बमोजिम अनुसूची (११) को दरमा हुनेछ।
१०. बहाल बिटौरी शुल्कः
(१) नगरपालिका क्षेत्रभित्रका सार्वजनिक, पर्ती वा ऐलानी जग्गालाई उपयोग गरी बनाइएका टहरा, छाप्रा वा पसल वा आवास, त्यस्ता जग्गाको उपयोग तथा नगरपालिकाले तोकेको सार्वजनिक स्थल, हाटबजार, मेला, जात्रा आदिमा सञ्चालन भएका पसलमा बहाल बिटौरी शुल्क लगाई असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिम लगाइने बहाल बिटौरी शुल्कको दर अनुसूची (१२) मा तोकिए बमोजिम हुनेछ।
११. पार्किङ शुल्कः
(१) नगरपालिकाले आफ्नो क्षेत्रभित्र तोकेको पार्किङ स्थलमा सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएबापत पार्किङ गर्ने समयको आधारमा अनुसूची (१३) मा उल्लेख भए बमोजिमको दरमा पार्किङ शुल्क लगाइने र असुल गरिनेछ।
(२) निजी स्वामित्वको जग्गामा पार्किङ स्थल व्यवस्थापन गरी सवारी साधनको पार्किङ सुविधा उपलब्ध गराउने व्यक्ति वा संस्थाले कार्यपालिकाबाट तोकिएको दस्तुर बुझाई नगरपालिकाको अनुमति लिनुपर्नेछ।
१२. सेवा शुल्कः
(१) नगरपालिकाले निर्माण वा सञ्चालन तथा व्यवस्थापन गरेका अनुसूची (१४) मा उल्लेखित स्थानीय पूर्वाधार वा सेवामा सेवाग्राहीबाट सोही अनुसूचीमा उल्लेखित दरमा सेवा शुल्क तथा दस्तुर लगाइने र असुलउपर गरिनेछ।
१३. सेवाशुल्क दस्तुरः
(१) नगरपालिकाले कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयमार्फत उपलब्ध गराउने सिफारिस, प्रमाणित, इजाजत जस्ता प्रशासनिक सेवामा अनुसूची (१५) मा उल्लेखित दरमा सेवाशुल्क तथा दस्तुर लगाई असुलउपर गर्नेछ।
१४. बिक्री दरः
(१) नगरपालिकाले आफ्नो क्षेत्रभित्रको बगर वा अन्य सार्वजनिक स्थलबाट वातावरणीय प्रभाव मूल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षणबाट तोकिएको परिमाणमा ढुङ्गा, गिट्टी, बालुवा, माटो जस्ता साधारण निर्माणमुखी खानीजन्य वस्तुहरू तथा नक्सा पासका लागि आवश्यक निवेदन फाइल, बोलपत्र वा दरभाउपत्र फाराम आदि अनुसूची (१६) मा उल्लेख भए बमोजिमको दरमा बिक्री गरिनेछ।
(२) उपदफा (१) बमोजिम साधारण निर्माणमुखी खानीजन्य वस्तुको बिक्री गर्दा बिक्रीको दर तथा उपलब्ध परिमाणका आधारमा कायम भएको न्यूनतम बिक्री मूल्यमा ठेक्का बढाबढ गरी गर्न सकिनेछ।
१५. भाडामा लगाउन सकिनेः
(१) नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका भवन, मेशिनरी तथा अन्य सम्पत्तिलाई अनुसूची (१७) मा उल्लेखित दरमा भाडामा लगाउन सक्नेछ।
१६. दण्ड जरिवानाः
(१) यस ऐन तथा अन्य प्रचलित कानुन बमोजिम पालना गर्नुपर्ने कर्तव्य भएको व्यक्ति वा संघ-संस्थाले कर्तव्य पालना नगरेको वा नगरपालिकाले निर्धारण गरेको कर, शुल्क, दस्तुर तथा महसुल तोकिएको समयमा भुक्तानी नगरेमा अनुसूची (१८) मा उल्लेखित दरमा दण्ड जरिवाना लगाई असुलउपर गरिनेछ।
१७. छुट तथा सहुलियतहरूः
(१) नगरपालिकाले अनुसूची (१९) मा व्यवस्था भए बमोजिम कर तथा शुल्कमा सहुलियत वा छुट दिन सक्नेछ।
१८. पुनरावलोकन सम्बन्धी व्यवस्थाः
(१) कनकाई नगरपालिकाले गरेको कर, शुल्क, महसुल तथा दण्ड जरिवाना सम्बन्धी विषयमा चित्त नबुझेका करदाताले नगरपालिकामा पुनरावलोकनका लागि निवेदन गर्न सक्नेछन्। यसरी पुनरावलोकनका लागि कार्यपालिकाले प्रमुखको अध्यक्षतामा सम्बन्धित विषय विज्ञ समेत रहने गरी पुनरावलोकन समिति गठन गर्नेछ।
(२) पुनरावलोकनका लागि प्राप्त भएका निवेदन उपर ३५ दिनभित्र पुनरावलोकन समितिले छानबिन तथा निर्णय गरी सम्बन्धित व्यक्तिलाई निर्णयको जानकारी दिनुपर्नेछ।
१९. विद्युतीय माध्यमको प्रयोगः
(१) नगरपालिकाले कर, शुल्क, दस्तुर तथा अन्य राजस्व प्रशासनका लागि अग्रिम सूचना दिन, करको अभिलेख राख्न तथा कर संकलनको लागि विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेछ।
२०. नियमावली तथा कार्यविधि बनाउन सक्नेः
(१) कनकाई नगरपालिका नगर कार्यपालिकाले यस ऐनमा भएका व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी नियमावली तथा कार्यविधिहरू बनाई लागू गर्न सक्नेछ।
२१. बाधा अड्काउ फुकाउः
(१) यस ऐनको कार्यान्वयनको क्रममा कुनै बाधा आइपरेमा नगर कार्यपालिकालाई बाधा अड्काउ फुकाउने अधिकार रहनेछ।
२२. प्रचलित कानुन बमोजिम हुनेः
(१) यस ऐनमा उल्लेख गरिएका विषयहरूमा यसै बमोजिम र उल्लेख नगरिएका विषयमा प्रचलित कानुनमा व्यवस्था भए बमोजिम हुनेछ।
नोट:- यस ऐनसँग सम्बन्धित करका दरहरू अनुसूचीमा समावेश गरिएको छ।

