
कनकाई उद्योग वाणिज्य संघको यहि पौष १२ गते हुने निर्वाचनमा १७ जनाको कार्यसमिति मध्ये सर्वसम्मत भएका वरिष्ठ उपाध्यक्ष वाहेक अन्य १६ पदका लागि निर्वाचन हुँदैछ । स्थानीय व्यवसायीहरुले दुईवटा प्यानल निर्माण गरी वाणिज्य संघको यो निर्वाचनमा चुनावी मैदानमा होमीएका छन् । दुवै प्यानललाई दुईवटा प्रमुख राजनितिक दलहरुले नेतृत्व गरेका छन् । दुवै दलले आआफ्नो प्रतिष्ठाको रुपमा हेर्ने गरेको यो निर्वाचनले यतिवेला स्थानीय चुनावको झल्को दिएको अनुभव गर्न सकिन्छ ।
नेपाल कम्युनिष्ट पार्टीको समर्थन प्राप्त व्यवसायीहरुको संयुक्त प्यानलमा यस क्षेत्रकै पुराना व्यवसायी तथा सामाजिक व्यक्तित्व मिनाल तिम्सिनाले आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी सार्वजनिक गर्दै प्यानलको नेतृत्व गरेका छन् । झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गादेखी कनकाई उद्योग वाणिज्य संघसम्मको लामो यात्रामा विभिन्न चरणमा विभिन्न किसिमका जिम्मेवारी वहन गर्दै आएका तिम्सिनाले भर्खरै संघको वाणिज्य उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी पव्लिक लिमिटेडका वर्तमान अध्यक्ष,मेची डिलर एसोसिएशनका सदस्य, सुरुङ्गा जेसीजका मानार्थ सदस्य, पृथ्वी सहकारी संस्थाका सदस्य, कनकाई वहुमुखी क्याम्पसका सल्लाहकार लगायत विभिन्न सामाजिक एवम् शैक्षिक संघसंस्थामा क्रियाशिल तिम्सिना यस क्षेत्रका एक शालिन तथा व्यवसायीहरु विच लोकप्रिय वौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । यस क्षेत्रका प्रतिष्ठित शिक्षासेवी, वौद्धिक व्यक्तित्व साथै लोकप्रिय व्यवसायीका रुपमा समाजमा स्थापित समाजसेवी पिता टिकाप्रसाद र माता दिलमाया तिम्सिनाका सुपुत्र ५० वर्षिया मिनाल तिम्सिनाले अर्थशास्त्रमा स्नातक तहसम्मको अध्ययन पूरा गरी व्यवसायमा जमेका हुन् ।
तिम्सिना सुरुङ्गा वजारका एक सफल खाद्य तथा किराना होलसेल तथा खुद्रा विक्रेताका रुपमा स्थापित व्यवसायी हुन् । संघको यो निर्वाचनको सेरोफेरोमा रहेर संयुक्त व्यवसायी प्यानलका अध्यक्ष पदका उम्मेद्वार तिम्सिनासँग कनकाई खबर डटकमका लागि सम्पादक रामप्रसाद निरौलाले गरेको कुराकानीको सार संक्षेपः
वाणिज्य संघमा तपाईको उम्मेद्वारी किन ?
एउटा संस्थालाई प्रजातान्त्रीक प्रक्रिया मार्फत अगाडी वढाउँनुपर्ने भएकाले लामो समयदेखी संस्थाको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको हुनाले संस्था भित्रका अधुरा कार्यलाई निरन्तरता दिँदै संघको पहिचानलाई अझै व्यापक वनाउँनका लागि मैले उम्मेद्वारी दिएको हो ।
व्यवासायीहरुले तपाईलाई नै भोट दिनु पर्ने कारण के होला ?
मेरो लागि यो एकदम महत्वपूर्ण प्रश्न गर्नुभएको छ । वास्तवमा आम व्यवसायीहरु अवको समयमा साना मसिना कुराहरु सवै वुझ्ने भइसकेका छन् । यहि ठाउँमा वसेर विगत ३० वर्षदेखी व्यापार व्यवसायमा लागेको यथार्थतालाई मैले भनिरहनु पर्दैन । मैले व्यवसाय गर्दा भर्खर जन्मेका कतिपय हाम्रै साथीहरु अहिले वाणिज्य संघको विभिन्न पदका लागि उम्मेद्वारका रुपमा उभिनुभएको छ । यो विचमा व्यवसायको माध्यमवाट हामीले सामाजिक क्षेत्रमा खेलेको भूमिका सवै सामु छर्लङ्ग छ ।
यसका साथै वाणिज्य संघको स्थापनाकालदेखी आजसम्म पनि निरन्तर रुपमा आम व्यवसायीहरुसँगै काँधमा काँध मिलाउँदै संस्थाको भौतिक संरचना निर्माणमा समेत जिम्मेवारीका साथ काम गरेको हुँदा धेरै व्यवसायीहरुको साथ सहयोग र सल्लाह सुझावका आधारमा आँफूले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको हो । त्यसैले आम व्यवसायीहरुको इच्छा र चाहना अनुसार आम व्यवसायीहरुको हितका लागि नै आफ्नो उम्मेद्वारी परेको हुँदा सवैले म मिनाल तिम्सिनालाई नै भोट दिनु पर्ने वाध्यता भएको हो ।
तपाईको चुनाव जित्ने आधार के छन् ?
मेरो चुनाव जित्ने प्रशस्त आधारहरु छन् । त्यसमध्येमा पनि लामो समयदेखी सवै व्यवसायीहरुसँगको सद्भाव र एकताका कारण व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको वाणिज्य संघ मार्फत आम व्यवसायी साथै विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय हुँदै संस्थाको स्थापना कालदेखी हालसम्म पनि सवैसँग सहकार्य हुनु नै मेरो चुनाव जित्ने वलियो आधार हो । त्यस मध्ये पनि वाणिज्य संघको भवन निर्माण समिति लगायत कार्यसमितिको विभिन्न जिम्मेवारी सम्हाल्दै भर्खरै वाणिज्य उपाध्यक्षको जिम्मेवारीमा रहेर सफलतापूर्वक कार्यसम्पादन गरिसकेको हुनाले सिस्टम अनुसार नै अव अध्यक्षको जिम्मेवारी निर्वाह गर्नु पर्ने भएपछि समय र परिस्थितीको माग अनुसार जिम्मेवारी सम्हाल्नु पर्ने भएकाले स्वतः स्फुर्त रुपमा जित्ने आधार तय भएको हो ।
निर्वाचित भएपछिका तपाइँका योजनाहरु के कस्ता छन् ?
निर्वाचित भएपछिको समयमा गर्ने कामहरुलाई योजनावद्ध तरिकाले अघि वढाउँनका लागि हामीले एउटा तत्कालिन र दिर्घकालिन योजनाको खाका नै वनाइसकेका छौं । सवै तह र तप्काका व्यवसायीहरुको जीवनस्तर कसरी उठाउँन सकिन्छ साथै वजारलाई अझै व्यवस्थित गर्दै संस्थाको भौतिक संरचनाको थप निर्माण , यसको संरक्षण र आम व्यवसायीहरुको स्तर उन्नतीका लागि हरेक हिसावले लागी पर्ने विश्वास दिलाउँदै हामीले हाम्रा १७ वुँदे प्रतिवद्धताहरु भर्खरै पनि सार्वजनिक गरीसकेका छौं । हामीले हाते पर्चा साथै विभिन्न पत्रपत्रिका मार्फत पनि हाम्रा सवै प्रतिवद्धताहरुलाई जस्ताको त्यस्तै सार्वजनिक गरेका छौं । यसलाई चुनावी मुद्धाको रुपमा मात्र नहेरीदिनु हुन समेत सम्वन्धित सवैलाई विनम्रताका साथ आग्रह गर्दै मेरो नेतृत्वको कार्यसमितिले यसलाई व्यवहारमा उतार्ने कुराको प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।
आम व्यवसायीहरुको हितका लागि तपाईको प्राथमिक्तामा के कस्ता कुराहरु पर्लान् त ?
आँफू पनि एक व्यवसायी नै भएको कारणले व्यवसायीहरुको सारो, गाह्रो, अप्ठ्यारोलाई मैले नजिकवाट अनुभव गरेको छु । त्यसैले आम व्यवसायीहरुकै हितका लागि स्थापना भएको हामी व्यवसायीहरुकै संस्था कनकाई उद्योग वाणिज्य संघको नेतृत्व तहमा आँफू रहेपनि कुनै पनि कुराको जटिल किसिमको निर्णय गर्नु पर्दा समाजका अग्रज व्यक्तित्व साथै व्यवसायी, संस्थाका पूर्व अध्यक्षज्युहरु, आवश्यक्ता अनुसार संघको माथिल्लो निकाय साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सल्लाह सुझावलाई प्राथमिक्तामा राखेर कार्य सम्पादन गर्ने कुरा प्रष्ट पार्न चाहन्छु । अन्य कुराहरुमा प्राथमिक्ता भन्दा पनि अति आवश्यक्ताका कुराहरुलाई मध्यनजर गर्दै योजनावद्ध ढङ्गले निस्वार्थका साथ आम व्यवसायीहरुको हितमा निरन्तर लागी पर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।