कनकाई खबर \ झापाको निर्वाचन क्षेत्र नं.४मा ७०० मत गणना हुँदा घण्टीले अग्रता लिएको छ ।
घण्टी चुनाव चिन्हका उम्मेद्वारले ३२५ मत प्राप्त गर्दा सुर्य चुनाव चिन्हका उम्मेद्वारले १९७ मत प्राप्त गरे । त्यस्तै रुख चुनाव चिन्हका उम्मेद्वारले ११५ मत प्राप्त गरेका छन् भने लौरो चुनाव चिन्हका उम्मेद्वारले ९ मत प्राप्त गर्न सफल भए । कुखुराको भाले चुनाव चिन्हमा २ मत प्राप्त भएको छ । क्रस खुकुरी चुनाव चिन्ह भएका उम्मेद्वारको १४ मत आएको छ भने माछा चुनाव चिन्ह भएका उम्मेद्वारले १ मत प्राप्त भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए । झापा निर्वाचन क्षेत्र नं.४मा प्रतिनिधि सभा सदस्यका जम्मा १८ जना उम्मेद्वार मध्ये अन्य उम्मेद्वारले खाता खोल्न बाँकी रहेको बताइएको छ । हाल सम्मको ७०० मत गणना हुँदा ३७ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
कनकाई ३ स्थित जनचेतना आधारभुत विद्यालयमा रहेको मतदान स्थल र कनकाई ४ स्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको मतदानस्थलको मतपत्र गणना गर्ने काम भइरहेको छ । भर्खरै कनकाई १ स्थित प्रजापति र वडा नं.५ स्थित देवकोटा आधारभुत विद्यालयमा रहेको मतदानस्थलको समेत मत गणना प्रारम्भ भएको छ । चाँडै अरु वडाको पनि गणनाको कार्य सुचारु गर्ने जनाइएको छ ।
झापा क्षेत्र नं.४ मा १लाख २३ हजार १२४कुल मतदाता रहेको बताइएको छ । जसमा ४१ हजार ४९९ महिला र ३७ हजार ८५० पुरुष सहित यस क्षेत्रमा ७९ हजार ३४९ मत खसेको बताइएको छ ।