
कनकाई खबर डेक्स \ नमुना विद्यालयका रुपमा प्रस्ताव स्विकृत भएको झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा ६ महिनादेखि प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीका कारण विद्यालयको पठनपाठन प्रभावित भएको छ । प्रधानाध्यापकको दावेदारीका रुपमा बहालवाला निमित्त प्रधानाध्यापक गोपीकृष्ण भट्टराई सहित अन्य तीन जना सहायक प्रधानाध्यापकहरु कर्णवहादुर डाँगी, हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटीको विचमा भएको होडवाजीका कारण विद्यालयको शैक्षिक गतिविधिमा समस्या आउँन थालेको हो ।
नयाँ शैक्षिक सत्रको पहिलो परीक्षा आउँन अब एक महिना मात्र बाँकी रहँदा पनि आजसम्म विद्यालयमा सवै विषयको अध्ययन अध्यापन सुचारु हुन नसक्नु विद्यालय प्रशासनको गम्भिर लापरवाही भएको स्थानीय अभिभावक चन्द्रप्रसाद प्रसाईले वताएका छन् । शैक्षिक गुणस्तरलाई प्राथमिक्तामा राखेर नमुना विद्यालयका रुपमा विकास गर्ने लक्ष्य लिएको विद्यालयले अध्ययन अध्यापनसँगै विद्यार्थीको शौचालय व्यवस्थापनमा चासो राख्न भ्याएको छैन ।
विद्यालयको पश्चिम तर्फको छात्र र छात्राको दुवै शौचालयको दुर्गन्धले विद्यार्थीहरुलाई कक्षाकोठामा बस्न समेत समस्या भएको कक्षा दशको(ई)मा अध्ययनरत छात्रा गरीमा पोखरेलले वताएकी छन् । गर्मीको समयमा कक्षा कोठामा पर्याप्त पंखाको व्यवस्था पनि नभएकाले लामो समयदेखी सरसफाई र मर्मत सम्भार नभएको शौचालयवाट आएको दुर्गन्धले आसपासका सवै कक्षाकोठामा बस्न नसक्ने अवस्था भएकोे छात्रा पोखरेलले गुनासो पोखेकी छन् ।

विद्यालयमा रहेको छात्र तर्फको शौचालयका सवै पेना ६ महिना अघि नै फुटेकाले हाल सम्म पनि सरसफाई नभएको शौचालय फोहोर मैलाले भरिएको छ । त्यस तर्फ विद्यालयको ध्यान नजानु ठूलो कमजोरी भएको स्थानीय अभिभावक धर्मानन्द भट्टराईले चिन्ता व्यक्त गरेका छन् । अंग्रेजी माध्यमलाई प्राथमिक्ता दिँदै नमुना विद्यालयका रुपमा विकासको गतिमा अघि बढेको यस किसिमका विद्यालयमा भएका विद्यार्थी लगायत कार्यरत शिक्षक, कर्मचारीहरुको विद्यालय पोशाक, विद्यालय आगमनको समय, अनुशासन जस्ता विषयमा राज्यतर्फवाट पनि बेला मौकामा अनुगमन हुनु पर्नेमा अभिभावक भट्टराईले जोड दिएका छन् ।
झापामा नमुना विद्यालयको रुपमा प्रस्तावित भएका लगभग सवै विद्यालयमा निर्देशिका अनुसार प्रधानाध्यापकको व्यवस्थापन भई विद्यालय विकास योजना कार्यन्वयन हुन थालेको वताइएको छ । प्रमुख राजनीतिक दल नेकपा कनकाई नगर कमिटिले कनकाई माविमा देखिएको समस्यालाई सुरुदेखी नै सहजीकरण गर्दै आएको भएपनि आजसम्म ठोस निर्णय दिन नसक्नु आफैंमा कमजोरी भएको पार्टीकै स्थानीय तहका कार्यकर्ता वताउँछन् । प्रधानाध्यापकको नियुक्तिमा भएको ढिला सुस्तीकै कारण नमुना विद्यालयकालागि शिक्षा विभागवाट ससर्त आउँने अनुदान रकम समेत रोकिने अवस्थामा पुगेको वताइएको छ ।
विद्यालयमा केही शिक्षकहरु स्वास्थ्यको कारण देखाउँदै विदामा रहेका छन् भने अन्य तीनजना शिक्षकको अभाव खड्कीएको हुँदा विज्ञापन सार्वजनिक गरेर पदपुर्ती गर्नकालागि प्रक्रिया अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले वताएका छन् । शैक्षिक संस्थामा यस किसिमको संक्रमणकालिन अवस्था आउँन नदिन व्यवस्थापन समितिको तर्फवाट हदैसम्मको प्रयास भइरहेको वताउँदै अध्यक्ष उप्रेतीले अव चाँडै यसको निकास आउँने प्रतिवद्धता जनाएका छन् ।

विद्यालय विकास प्रस्ताव लिखित साथै प्रोजेक्टरवाट समेत प्रस्तुत गरेर आन्तरिक प्रतिस्पर्धावाट प्रधानाध्यपकको नियुक्ती गर्नु पर्ने प्रावधान रहेको छ । तर प्रक्रियाको थालनी गर्ने समयसिमा यहि जेठ ५ गते आइतवारलाई तोकीएको भएपनि नेकपा कनकाई नगरको निर्देशनमा म्याद थप भएकाले प्रक्रिया अझै अनिश्चित बनेको विद्यालय स्रोतले जनाएको छ । कनकाई माविमा प्रधानाध्यापकको नियुक्तीकालागि प्रमुख राजनीतिक दलको स्थानीय नेतृत्ववाट नै घुमाउरो तरिकाले टिका थाप्नु पर्ने बाध्यता भएकाले प्रधानाध्यापकका चारैजना उम्मेद्वारहरु यतिबेला प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा व्यस्त देखिन्छन् ।
प्रधानाध्यापकको विषयमा टुङ्गो लगाउँन ६ महिनाअघिदेखि नै विभिन्न चरणमा बसेको बैठक र व्यापक रुपमा भएको छलफलवाट पनि निकास नआएपछि प्रक्रिया लम्बिँदै आएको बताइएको छ । नमूना विद्यालयका रुपमा विकास हुँदै आएको शैक्षिक संस्थाको प्रधानाध्यापक जस्तो महत्वपूर्ण जिम्मेवारीको अन्तिम निर्णयका लागि योग्यता, क्षमता, दक्षता, अनुभव सबै कुरा हुँदा हुँदै पनि सहजीकरण गर्दै आएको राजनीतिक दलले तोकीएको समयसिमाभित्र निर्णयमा पुग्न नसकेका कारण विद्यालयमा संक्रमण काल लम्बीन पुगेको वताइएको छ । तत्कालिन प्रधानाध्यापक निर्मलकुमार खतिवडा सेवा निवृत्त भएपछि गत मंसिर २५ गतेदेखी निमित्त प्रधानाध्यापकको रुपमा गोपीकृष्ण भट्टराईले कनकाई माविमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
राससवाट