कनकाई खबर \ झापाको कनकाई–३ सुरुङ्गा स्थित प्रसाईँ मार्केटका संचालक पदमप्रसाद प्रसाईले आफ्नो व्यापारिक भवन कनकाई नगरपालिकाले नियमविपरीत डोजर लगाएर भत्काएको बताउँदै उचित क्षतिपूर्तिको माग गरेका छन् । प्रसाईले सोमवार सुरुङ्गास्थित आफ्नो भत्किएको घरमा पत्रकार भेटघाटको आयोजना गरेर क्षतिपूर्तिको माग गरेका हुन् ।

सुरुङ्गास्थित पूर्व–पश्चिम लोकमार्गको दक्षिण अमरपथ सडक खण्डमा पर्ने साढे दश धुर जमिन मध्ये आफ्नो नाममा रहेको कित्ता नं. २६७ को साढे ३ धुर जमिन तर्फ बनेको चार तले व्यवसायीक भवन नियम विपरित कनकाई नगरपालिका र वडा नं. ३ ले डोजर लगाएर भत्काईदिएको भन्दै प्रसाईँले आफ्नो एक करोड १० लाख वढीको क्षति भएको दावी गरेका छन् । बाटोको सेन्टरबाट ४० फुट बाटो, ढल र सेटब्याट ७ फिट कायम गरि नगरपालिकाले २०७३ जेठ २४ मा घर नक्सा प्रमाणित गरी घर नक्साको प्रमाण दिइसकेको अवस्थामा नगरपालिकाले पूर्वाग्रहपूर्ण ढंगले घर भत्काएको प्रसाईले आरोप लगाएका छन् ।
बाटो निर्माणाधिन रहेकै अवस्थामा २ घर दक्षिणबाट २०७५ पुसमा बनेको डिपिआर विपरित बाटो बङ्ग्याइएको बताउँदै प्रसाईले कनकाई नगरपालिकाले बाटोको डिपिआर तथा नगरपालिकाले नै दिएको घर–जग्गाको नक्सा पास विपरित घर भत्काएको घटनाप्रति आपत्ति जनाएका छन् ।
२०७७ असोजमा नगरपालिकाले घर भत्काउन सात दिने सूचना दिएको जनाउँदै उक्त निर्णय चित्त नबुझेपछि आफू न्यायका लागि अदालतमा पुगेको प्रसाईँले बताए । सोही क्रममा २०७७ असोज १५ गते उच्च अदालत इलाममा मुद्दा दर्ता गराएकोमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले मुद्दा खारेज गर्न लगाएको प्रसाईँको भनाई छ । त्यसपछि न्यायका लागि आफू सर्वोच्च अदालतमा गएर नगरप्रमुख पोखरेल, वडा कार्यालय र पूर्वाधार विकास कार्यालय भद्रपुरलाई प्रतिवादी बनाई दायर गरेको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको प्रसाईँ बताउँछन् । सर्वोच्च अदालतले आगामी पुस ११ गते पेसी तोकेपनि विचाराधिन रहेकै अवस्थामा स्थानीय सरकारले भवन भत्काउनुले न्यायालयप्रतिको पनि अपमान भएको प्रसाईँ बताउँछन् । डिपिआरको अध्ययन, स्थलगत अनुगमन एवं सत्यतथ्य छानवीन गरी आफूलाई न्याय दिलाइदिन पनि प्रसाईले सम्बन्धित निकायसँगै माग गरेका छन् ।
यता नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अमरपथ सडक खण्डमा पर्ने संरचना हटाएर बाटोको सिमा क्षेत्र कायम गरिएको बताएका छन् । सडक मिचेर बनाइएका घर तथा टहरा हटाउन नियम अनुसार ३५ दिने सूचना जारी गरेको साथै पटक–पटक पत्राचार गर्दा समेत अटेर गरेर घर धनी प्रसार्इँले संरचना नहटाएपछि नगरपालिकाले डोजर प्रयोग गर्नु परेको नगर प्रमुख पोखरेल बताउँछन् ।