कनकाई खबर \ ईलामको माई नगरपालिका २ स्थित प्राकृतिक सुन्दरताले सजिएको ह्याप्पी ड्रिम्स चेप्टी नेपालीहरुको महान चाड बडा दशैं, दिपावली साथै छठ पर्वका पाहुना पर्यटकको रोजाई बनेको छ ।
भर्खरै सकिएको नेपालीहरुको महान चाड वडादशै, दिपावली, छठ लगायतका पर्वसँगै यस पर्यटकीय क्षेत्रको अवलोकनमा देखीएको पर्यटकको घुँइचोले चेप्टी विभिन्न उत्सव र चाडपर्वमा पर्यटनको मुख्य केन्द्र बिन्दु बनेको पाइन्छ ।
न्युन प्रवेश शुल्कमा चेप्टी पार्कमा प्रवेश गरेपछि निशुल्क रुपमा विभिन्न खेलहरु खेल्न र मनोरम दृश्यको अवलोकन गर्न सकिने प्राकृतिक वातावरण रहेको यस क्षेत्रमा विभिन्न ठाउँबाट दशै, तिहार मनाउँन आफ्नो घर अथवा मान्यजनकोमा आएका सर्वसाधारणको घुँइचो नै लागेको बताइएको छ । दशै, तिहार लगायतका पर्वमा चेप्टी पार्कले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याएको स्थानीयवासी बताउँछन् ।
दशैं,तिहारभर हजारौ पाहुना पर्यटकले चेप्टि अवलोकन गरेको यहाँका संचालक दिनेश सिवाकोटीले बताएका छन । यो दशैँ र तिहारमा सोचे भन्दा बढी पर्यटक देखेर चेप्टी पार्क परिवार हर्षित भएको पार्कका व्यवस्थापक दिपक ढुङ्गानाको भनाइ छ । नेपाली पर्यटकका साथै भारतीय पर्यटकको समेत दैनिक बाक्लो उपस्थित रहेको देख्दा हिजो पार्क नबन्दाको अवस्थामा रहेको विकटता र चेप्टीमा घर छ भन्न पनि लाज लागेको बिगतको क्षण सम्झँदै अहिले पार्क बनेपछी हर्षका साथ पार्क छेउमा आफ्नो घर छ भन्न पाउँनु चेप्टीका बासिन्दाको ठूलो भाग्य भएको स्थानीवासी बताउँछन ।
नेपालकै नमुना पार्कको रुपमा पहिचान बनाउदै गरेको चेप्टी पार्कमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमालबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु लगायतका संरचनाले त्यहाँ पुग्ने पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिएको पार्कका संचालक दिनेश शिवाकोटी बताउँछन् ।
फेरि पनि दिनहुँजसो फरक फरक किसिमका थप संरचनाहरु निर्माण गरिदै जाने बताउँदै संचालक शिवाकोटीले दोहो¥याएर आएका पर्यटकले पनि फरक किसिमले मनोरञ्जन प्राप्त गर्ने बताए । अब चेप्टीलाई फुलैफुलको पार्क बनाएर दार्जिलिङ बनाउने र माई नगरपालिकालाई नेपालमै परिचीत बनाउने योजना रहेको संचालक शिवाकोटी बताउँछन ।
नेपाल सरकारले यतिको पार्क बनाउँन नसकेको र सरकारलाई चुनौती दिँदै अब चेप्टीले पर्यटकको मन जित्न सफल भएको शिवाकोटीको ठहर छ । हिजो सम्म युवालाई रोजगार मात्र दिएको बताउँने शिवाकोटीले अब रोजगारसँगसँगै व्यवसाय गर्न पनि सिकाएको बताए ।
