शिवसताक्षी \ झापाको शिवसताक्षीमा पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।
शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा दमक भेट्रान क्लब विजयी भएको छ । विर्तामोड भेट्रान क्लबलाई ३–१ गोलअन्तरले हराउँदै दमक भेट्रान क्लब विजयी भएको आयोजक झिलझिले भेट्रान क्लबले जनाएको छ ।
खेल सुरु भएको एक मिनेट नबित्दै दमक भेट्रानले गोल गरी खाता खोलेको थियो । पहिलो हाफमा दमक भेट्रान क्लबले दुई गोल गर्न सफल भएको थियो भने, दोस्रो हाफमा १ गोल गरी तीन गोलले अग्रता लिएको थियो । त्यस्तै विर्तामोड भेट्रान क्लबले खेलको अन्तिम समयमा १ गोलमा चित्त बुझाएको थियो । खेलको म्यान आफ दी म्याच दमक भेट्रान क्लबका सुवास याङथोपु घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।
खेलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले गरेका थिए । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले खेल स्वास्थ्यका लागि अपरिहार्य भएकाले यसलाई निरन्तरता दिनु पर्ने बताए । शिवसताक्षी नगरपालिकाले पनि खेललाई उचित सहयोग गर्ने उनको भनाई थियो ।
प्रतियोगिताका विजेता टिमले नगद ५० हजार सहित प्रमाण पत्र, ट्रफी, मेडल प्राप्त गर्ने छन् भने, उपविजेता टिमले ३० हजारसहित प्रमाण पत्र, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक टिमका सचिव प्रवेश दाहालले जानकारी दिए ।
प्रतियोगिता उद्घाटनका अवसरमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
बुधबार झिलझिले भेट्रान क्लब र भद्रपुर भेट्रान क्लब बीच खेल हुने आयोजकले जनाएको छ ।
