कनकाई खबर \ झापाको विर्तामोड—२ स्थित चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एकैदिनमा ९५ लाख ९० हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

वडादशैंको समेत अवसर पारेर सहाराले हरेक वर्ष आफ्ना सदस्यहरुलाई वितरण गर्दै आएकोे सामाजिक सुरक्षा बापतको सुविधा शनिवार एकै पटक एउटै समयमा झापाका विभिन्न १० वटा स्थानबाट वितरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष ८ वटा विभिन्न शिर्षकमा १ हजार ५४ जना सदस्यलाई सुविधा वितरण गरिएको संस्थाका अध्यक्ष हरिवहादुर राजवंशीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
सबै स्थानमा संस्थाका सदस्यहरुबाट मनोरन्जनात्मक नृत्यको प्रस्तुतीसहित शुभकामना आदानप्रदनका साथमा ज्येष्ठ, एकल तथा अशक्त सदस्यहरुलाई सम्मानसहित सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरिएको हो । यसै अवसरमा सहारा नेपाल साकोस सेवा केन्द्र सुरुङ्गाले कनकाई—४ स्थित जेष्ठ नागरिक भवनमा कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्र सुरुङ्गाका अध्यक्ष निर्मल दहालको सभापतित्व एवं कनकाई—४ का वडाअध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ६० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको केन्द्रका प्रमुख टिकावहादुर प्रधानले जानकारी दिए । भत्ता पाउँनेमा सुरुङ्गा सेवा केन्द्रबाट ५४ जना र झापा गाउँपालिकास्थित कुमरखोद सेवा केन्द्रबाट ६ जना रहेको बताइएको छ ।
संस्थाले विभिन्न उमेर समूहका ज्येष्ठ सदस्यहरुलाई एकमुष्ठ रुपमा ६ हजारदेखि २५ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा सुविधा भत्ता वितरण गर्दै आएको छ ।एकल महिला तथा पुरुष दुबैले वार्षिक रुपमा सहारा नेपालबाट भत्ता पाउने गरेका छन् । महिला एकलले प्रोत्साहन स्वरुप रु. ८ हजार र पुरुषले सम्मान स्वरुप रु.६ हजार रुपैयाँ पाउने गरेको बताइएको छ । संस्थाले परिवार राहत अन्तर्गत रु.१ लाख वा नियमअनुसार राहत वितरण गर्दै आएको छ ।
यसै क्रममा सुरुङ्गा सेवा केन्द्र अन्तर्गत नियमअनुसार ४८ जना एकल महिलाले रु.८ हजारका दरले भत्ता प्राप्त गरेका छन् भने ६५ वर्ष उमेर पूरा भएका ४ जना जेष्ठ सदस्यलाई पोषण सम्मान अन्तर्गत रु.६ हजारका दरले भत्ता वितरण गरिएको बताइएको छ । त्यस्तै एकल पुरुष एकजनालाई रु.६ हजार साथै अशक्त अपाङ्ग एकजनालाई रु.१० हजार भत्ता उपलव्ध गराएको सेवा केन्द्र प्रमुख प्रधानले जानकारी दिए ।
कार्यक्रममा सेवा केन्द्र प्रमुख प्रधानले सुरुङ्गा सेवा केन्द्र तथा संस्थाको समग्र वित्तिय अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यस्तै संस्थाको बचत सेवाको बारेमा कुमरखोद सेवा केन्द्र प्रमुख दिपक पोखरेलले जानकारी गराएका थिए ।
सेवा केन्द्र उपसमिति सदस्य रामवहादुर भुजेलले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि कनकाई ४ का वडाअध्यक्ष सुवेदीले सहारा नेपाल वास्तवमै बेसहाराकालागि भरपर्दो सहारा भएको बताए । व्िित्तय कारोवारका क्षेत्रमा मात्र सिमित नभई समाज रुपान्तरणमा समेत सहाराले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथी सुवेदीले सहाराबाट स्थानीय सरकारले समेत धेरै कुरा सिक्नु पर्नेमा जोड दिए ।
संस्थाको केन्द्रिय संचालक समितिका तर्फबाट सदस्य भोला धितालले मन्तव्य राखेको कार्यक्रमको संचालन सुरुङगा सेवा केन्द्र उपसमिति सदस्य मेनुका मैनालीले गरेकी थिइन् ।