कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले उज्यालो नगरी बनाउँने अभियानको निरन्तरता स्वरुप एकै साथ चारवटा ‘मास लाइट’ संचालनमा ल्याएको छ ।

आठौं संविधान दिवसको समेत अवसर पारेर पहिलो चरणमा कनकाईका मुख्य चोक बजार कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट संचालनमा ल्याइएको हो । सोमबार साँझ कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नगरका सबै वडाअध्यक्ष,कार्यपालिका सदस्य,वडासदस्यसहित विभिन्न संघसंस्था साथै राजनीतिक दलका प्रतिनिधिहरुसहितको उपस्थितीमा चारवटै स्थलमा मास लाइट उद्घाटन गरिएको हो । कनकाईमा मास लाइट संचालनमा आएसँगै यो प्रदेश नं.१ को पहिलो कार्यक्रम भएको बताइएको छ ।
जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यता पाँच वर्षअघि देखि नै उज्यालो नगरी निर्माणको अभियान संचालन गर्दै आएको कनकाई नगरपालिकाले निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिवद्धता पुरा गर्ने कार्यको निरन्तरता स्वरुप मास लाइट संचालनमा आएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।
कनकाईका मुख्य बजार क्षेत्र साथै संवेदनशील स्थानलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैती लगायत विभिन्न आपराधिक घटनामा कमी आउने विश्वास गरिएको छ । यसका साथै व्यापारिक क्षेत्रमा समेत थप सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गरिएको हो ।
दुई करोड २० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गर्ने योजना भएपनि ठेक्का प्रक्रियामा एक करोड ७२ लाखमा सम्झौता भइ कार्य सम्पन्न भएको नगर प्रमख पोखरेलले जानकारी दिए । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको बताइएको छ । एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च भएको नगर प्रमुख पोखरेलले बताए । सोह्र मिटर अग्लो पोलमा जडान भएको स्वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिने बताइएको छ