कनकाई खबर \ वर्तमान अवस्थामा विभिन्न अस्पतालमा भएको रगत अभावलाई केही सहयोग पुगोस् भन्ने उद्येश्यले कनकाईको सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भारत मैत्री संघ सुरुङ्गा उप–शाखाले गरेको रक्तदानमा १४ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् । सुरुङ्गा बजारको पश्चिम बस स्टेण्ड खुल्ला व्यायाम शाला नजिकै भएको रक्तदानमा समाजसेवी शेरवहादुर थापा,संघका सभापति अर्जुन बोहोरा,उपसभापति यदु अधिकारी, सचिव गोमा कार्की लगायत संघका अन्य सदस्यहरुले समेत रक्तदान गरेको बताइएको छ । रक्तदान गर्नेहरुमा अधिकांश क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको बताइएको छ ।
नेपाल भारत मैत्री संघ सुरुङ्गा उप–शाखाका सभापति बोहोराको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको रक्तदान विशेष समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले नेपाल र भारत विच नागरिकस्तरमा स्थापित संस्था आफैंमा घनिष्ट भएको बताए । दुवै देश विचको सम्बन्ध थप सुदृढ साथै परिपक्व बनाउँनुपर्नेमा जोड दिँदै नगर प्रमुख पोखरेलले नागरिकस्तरको मानसिक्तामा रुपान्तरण गर्दै सामाजिक एवं सांस्कृतिक सम्बन्ध सुमधुर बनाउँनु पर्ने तर्फ अघि बढ्न समितिलाई सुझाव दिए ।
मानिसले गर्ने हरेक किसिमका दानहरु मध्ये रक्तदान एउटा पवित्र दान भएको ठहर गर्दै नगर प्रमुख पोखरेलले यस्तो महान कार्यमा नेपाल भारत दुवै देश विचमा समन्वय हुनु पर्नेमा जोड दिए । नेपाल रेडक्रस सोसाइटी विर्तामोड रक्तसंचार सेवाको प्राविधिक सहयोग रहेको औपचारिक कार्यक्रममा औचित्यसहित सहभागीहरुलाई कार्यक्रमका संयोजक श्याम पौडेलले स्वागत गरेका थिए । रेडक्रस सुरुङ्गाका सभापति वालकृष्ण प्रसाईले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन संघकी सचिव गोमा कार्कीले गरेकी थिइन् ।