कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले नगरवासीको पशु धन सुरक्षा साथै कृषि उत्पादनको बजारीकरणलाई थप व्यवस्थित गर्ने भएको छ ।
नगरको आर्थिक समृद्धिकालागि कृषि तथा पशुपालनको क्षेत्रमा प्राथमिक्ताका साथ अघि बढेको कनकाई नगरपालिकाले कृषि तथा पशुपालन तर्फ नगरवासीलाई आत्मनिर्भर बनाउँने उद्येश्यका साथ यस क्षेत्रलाई थप व्यवस्थित बनाउँन लागिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । आ.व.२०७८ \ ०७९ मा हेफर प्रोजेक्ट नेपाल र अभियान नेपालसँगको साझेदारीमा भएको कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजनाको विषयमा केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले समृद्धिको यात्रा कृषिबाट मात्र सम्भव हुने बताए । विकासलाई जोड्ने एउटा महत्वपूर्ण आधारका रुपमा कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवस्थित गर्ने अभियानमा कनकाई नगरपालिकाले समय सापेक्ष थप वैज्ञानिक बनाउँदै अघि बढ्ने निती लिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।
कनकाईमा संचालित परियोजना अन्तर्गत १८ वटा महिला समूहमा रहेका महिलाहरुसहित स्थानीय प्रमुख राजनीतिक दलका प्रतिनिधि, संचारकर्मीसहितको उपस्थितीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालको जवाफ दिँदै नगर प्रमुख पोखरेलले कृषक साथै सेवाग्राहीबाट आएका सुझावलाई सम्पतिका रुपमा लिएर नगरपालिकाले कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाए । जनतालाई सेवा प्रवाह गर्ने क्रममा स्थानीय सरकारका तर्फबाट कुनै कर्मचारी वा जनप्रतिनिधिबाट कुनै पनि किसिमको भ्रष्टचार भएको प्रमाणित भएमा त्यस्तो व्यक्तिलाई तत्काल सेवाबाट बर्खास्त गर्ने समेत नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए ।
हेफर प्रोजक्टसँगको सहकार्यमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना कनकाईमा अत्यन्तै प्रभावकारी भएको भन्दै नगर प्रमुख पोखरेलले महिलाहरुलाई स्वारोजगार बनाउँदै समृद्वितर्फ अघि बढाउँने यस्तो अभियानलाई निरन्तरता दिएर अघि बढ्ने बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख पोखरेल, हेफरका क्षेत्रीय संयोजक दिपेश पोखरेल र अभियान नेपालका अध्यक्ष प्रेम गिरीले सहभागीहरुको जिज्ञासालाई सम्बोधन गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश महिलाहरुले कृषि तथा पशुपालनका क्षेत्रमा भएका उपलब्धी र समस्याका बारेमा आ—आफ्नो धारणा राखेका थिए । परियोजना अन्तर्गतका सहभागीहरुले पर्याप्त तालिमको आवश्यकता भएको बताउँदै बजारीकरणमा सहयोग गर्न आग्रह समेत गरेका थिए । समयमा बाख्रा बिक्दैन, बैंकको किस्ता बुझाउने समय आउछ, सहभागीहरुले भने –यो अवस्थामा असाध्यै समस्या हुन्छ ।त्यसैले बजारीकरणमा सहयोगको आवश्यक्ता रहेको सहभागीहरुले जोड दिए ।
सहभागी कृषकहरुले गाउँघरमा पशुचौपाय चोरीको समस्या पनि बढ्दै गएको जानकारी गराएका थिए । उनीहरुले चोरी नियन्त्रणकालागि सडकबत्तीको माग समेत गरेका छन् । हेफर प्रोजेक्टले कृषि र पशुपालनमा आफुलाई निकै उत्साहित बनाएको सहभागी किसानहरुको भनाई थियो । उनीहरुले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
हेफर प्रोजेक्टका क्षेत्रीय संयोजक दिपेश पोखरेलले मान्छेको चेतना परिवर्तन गरेर कृषि र पशुपालनका क्षेत्रमा लगाउन सकेमा मात्र कृषिमा आत्मनिर्भर हुने बताएका छन् । ‘कृषि र पशुपालनका क्षेत्रमा महिलाहरुको उल्लेखनीय सहभागीता छ’, पोखरेलले भने–‘यो क्षेत्रमा काम गर्ने महिलाहरुमा चेतना बढेको छ ।’ प्रारम्भिक चरणमा उत्पादनका क्षेत्रमा मात्र लागेको हेफर नेपालले हाल कृषि एम्बुलेन्सका रुपमा राजधानीका शहरमा उत्पादन लैजान यातायातको व्यवस्था गरिरहेको क्षेत्रीय संयोजक पोखरेलले जानकारी दिए ।
‘विकासलाई मिटरमा हेर्ने होइन’, संविधान सभा सदस्य एवम् अभियान नेपालका अध्यक्ष प्रेम गिरीले भने–‘विकासको मुहार फेर्नु पर्छ । त्यो काम यो संस्थाले गरिरहेको छ । यो संस्थाले कृषि, पशुपालन लगायतका क्षेत्रमा महिलाहरुलाई आत्मनिर्भर बनाएको छ ।’ हेफर प्रोजेक्ट नेपाल र अभियान नेपालसँगको साझेदारीमा कनकाई नगरपालिकाले गरेको कार्यक्रम सफल र सबल भएको भन्दै अध्यक्ष गिरीले नगरवासीलाई स्वदेशमै आत्मनिर्भर बनाउँने अभियानमा कनकाई नगरपालिकाले खेलेको भूमिका अत्यन्तै प्रभावकारी भएको टिप्पणी गरे ।
कनकाई नगरपालिका र हेफरको मोटो लगानी भएको परियोजना अन्तर्गत विभिन्न समूहलाई तालिम, सामुदायिक कृषि तथा पशु स्वास्थ्य उद्यम तालिम, बाख्रा वितरण, बिउ बोका वितरण, घाँसको बेर्ना सहयोग, घाँसको बिउ सहयोग, पशु स्वास्थ्य शिविर, साना सिचाई सहयोग, सिचाई मिटर साथै मोटर वितरण, दुग्ध व्यवसाय प्रवद्र्धन, पशु पहिचान ट्याग वितरण, अनुगमन समिति गठन तथा अभिमुखिकरण सञ्चालन गरिएको थियो ।
यस्तै, वडा स्तरीय परियोजना व्यवस्थापन समिति गठन, मुल समूह गठनपछि अभिमुखिकरण, पशु स्वास्थ्य बीमा, धानको बिउ वितरण, केभ परिचालन, तरकारी फलफुलको विउ तथा बेर्ना वितरण, कृषि यन्त्र औजार सहयोग, पकेट क्षेत्र विकास कार्यक्रम, भेटनरी सामाग्री वितरण, एग्रोभेट सामाग्री वितरण गरिएको परियोजनाका संयोजक हरिप्रसाद सिलवालले जानकारी दिए ।
परियोजनाका संयोजक सिलवालले गत आ.व.२०७८\ ०७९ मा कृषि तथा पशुपालनका क्षेत्रमा गरेको कामको विवरण प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए । दुई वर्ष सम्म संचालन भएको परियोजना अन्तर्गत कृषि र पशुपालनका क्षेत्रमा ५ करोड लगानी गरिएको बताइएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन न्युज २४ का पत्रकार मात्रिका सुवेदीले गरेका थिए