कनकाई खबर / झापाको दक्षिणी क्षेत्र बाह्रदशीको एक विद्यालयका विद्यार्थीलाई रोटरी क्लव अफ विर्तामोडले वाटर फिल्टर हस्तान्तरण गरेको छ ।
क्लबले बाह्रदशी गाउँपालिका –५ मा रहेको फूलबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि शुद्ध खानेपानी बनाउने वाटर फिल्टर जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
सामाजिक क्षेत्रमा सेवाको भावले क्रियाशिल अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त रोटरी क्लवले एक कार्यक्रमका बीच विद्यालयलाई वाटर फिल्टर र त्यसका लागि आवश्यक पर्ने दुई थान ट्याङकी, धारा सहित जडान गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष ओमकृष्ण विमलीको अध्यक्षता एवं वडाध्यक्ष वीरबहादुर राजवंशीको प्रमुख आतिथ्यमा विद्यालयका प्रधानाध्यापक डुकेश्वर शाहलाई फिल्टर हस्तान्तरण गरिएको हो । विगत १० वर्ष अघि स्थापना भएको रोटरीले विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएको छ ।
रोटरीको पाँच कार्यक्षेत्र TEACH ……‘टिच’ – TEACHER SUPPORT, E–LEARNING, ADULT LITERACY, CHILD DEVELOPMENT, HAPPY SCHOOL अन्तरगत पर्ने ह्याप्पी स्कुल प्रोजेक्टबाट रोटरीले विद्यालयमा पानी फिल्टर उपलब्ध गराएको कार्यक्रम संयोजक सुरेश वंशलले बताए ।
फिल्टर जडान साझेदारी कार्यक्रममा जडान गरिएको हो । जम्मा १ लाख ९२ हजार लागतको फिल्टरकोलागि एक्सेल डेभलपमेन्ट बैंकको ५० हजार, विद्यालयको ४० हजार र बाँकी १ लाख २ हजार रोटरियनहरु बाट संकलन गरिएको क्लबका अध्यक्ष ओमकृष्ण विमलीले जानकारी दिए ।
रोटरीले यस अघि झापाका तीनवटा सामुदायिक विद्यालयहरूमा वाटर फिल्टर जडान गरेर हस्तान्तरण गरिसकेको अध्यक्ष विमलीले बताए ।
फिल्टर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वीरबहादुर राजवंशी, विशिष्ट अतिथि रोटरी डिस्ट्रिक्ट असिस्टेन्स गर्भनर राधिका गुरुङ, एक्सल बैंकका एजिएम अशोक क्षेत्री, विद्यालयका प्रधानाध्यापक डुकेश्वर प्रसाद शाह लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत नवीन गट्टानी, औचित्यमाथि प्रकाश सुरेश वंशल, सञ्चालन रोट्याक्टका सचिव प्रज्ज्वल विमलीले गरेका थिए । फिल्टर हस्तान्तरण कार्यक्रममा रोटरियन र रोट्रयाक्टरहरुको उपस्थिति रहेको थियो ।