हो, आज मेरी आमाको जन्म दिन । आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।

आज भन्दा ६९ वर्ष अघि वि.सं.२०१० को असार २९ गतेका दिन पाँचथरको तत्कालिन खँुगामा बुबा देबनारायण र आमा मनमाया खनालकी कान्छी सुपुत्रीका रुपमा जन्म भएकी मेरी आमा हेमकला निरौलाको बाल्यकालमै १३ वर्षको उमेरमा विवाह भएको हो । वि.सं.२००० साल असार २३ गतेका दिन तेह्रथुमको कोयाखोला पाक्तीनमा जन्म भई २०१६ देखि नै हालको कनकाई नगरपालिका ७ मा बसोबास भएका महिपति र नैनकला निरौलाका कान्छा सुपुत्र टिकाराम निरौलासँग वि.सं.२०२३ फागुन २३ गते मंगलबारका दिन विवाह बन्धनमा बाँधिएपछि सोही समयदेखि नै आमाको नयाँ जीवन यात्रा सुरु भएको हो ।
आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ । प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ । गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ । ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्। हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ ।
आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान्। नेपोलियन बोनापार्टले त्यसै भनेका होइनन्, मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु । नेपोलियनले असल पिता किन मागेनन् ? किन कि, संसारमा त्यस्तो कुनै वेद, विज्ञान र व्यक्ति छैन, जो आमाभन्दा असल होस् । आमालाई सम्बोधन गर्दै भारतका पूर्वराष्ट्रपति एवं वैज्ञानिक अब्दुल कलामले भनेका छन्, जीवनमा एक दिन मात्र त्यस्तो दिन छ, जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउन् ।
सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस्। सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ।
कसैको सफलतामा कोही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ उसको आमा हुन्छिन्। आमा सिर्फ आमा मात्र हुँदिनन्, एक सन्तानको लागि पहिलो पुस्तक पनि हुन् । आमा नै पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन्, आमा नै हरेक पीडाको सारथी हुन् । तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ।
जीवन यात्राको ७० वर्ष प्रवेशसँगै जीवन भोगाईका क्रममा आमाको जीवनमा धेरै उतारचडावहरु पनि नआएका होइनन् । स्वास्थ्य समस्याका कारण दुई पटक सम्म आइसियु बेडमा भएको लामो उपचारपछि हाल आमाले स्वास्थ्य लाभ लिइरहनुभएको छ । न्यानो छहारीमा शितलता प्राप्त गर्दै यसरी नै आमासँगसँगै जन्म दिन मनाइरहन पाउँ, सुस्वास्थ्य र दीर्घ जीवनको कामना छ । आमाका जीवनसाथी, सातवटी छोरी साथै ज्वाइँ, एक छोराबुहारीसहित नातीनातीना, पनातिनी सहित सपरिवारका तर्फबाट आमालाई पुनः सुस्वास्थ्य र दीर्घ जीवनको कामना छ ।