कनकाई खबर / झापा गाउँपालिका ७, मदरगाछ स्थित जनकल्याण माध्यमिक विद्यालयमा एकैसाथ तीनवटा छात्रवृत्ति वितरण गरिएको छ । छात्रावृत्ति वितरणसँगै आफ्ना दिवंगत मातापिता साथै परिवारका सदस्यको सम्झनाले दाता परिवारलाई भावुक बनाएको थियो ।
विभिन्न दाताहरुबाट विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति वितरणकालागि आयोजीत एक विशेष कार्यक्रममा दिवंगत मातापिता साथै परिवारका सदस्यको सम्झनाले दाता परिवारलाई भावुक बनाएको हो । विद्यालयमा स्थापना गरिएका छात्रवृत्तिहरु मध्ये जनकल्याण माविका पुर्व विद्यार्थी समेत रहेका परिवारका सदस्यहरु टिकाप्रसाद जमरकट्टेल संरक्षक साथै भवानीप्रसाद जमरकट्टेल अध्यक्ष रहेको कट्टेल परिवारका तर्फबाट आफ्ना दिवंगत मातापिताको नाममा २०७२ मा भिष्मत कुबेरलाल जमर कट्टेल स्मृत्ति अक्षयकोष स्थापना भएको हो ।आठजना छोराछोरी भएको कट्टेल परिवारमा तत्कालिन समयमा बुबाआमाले छोराछोरीको हेरचाह र शिक्षा, स्वास्थ्यमा अत्यन्तै दुःख कष्टका साथ निर्वाह गरेको अभिभावकीय भूमिकाप्रति उच्च सम्मान गर्दै आफ्ना अभिभावकको स्मृत्तिलाई सधैं स्मरणीय बनाउँन अक्षयकोष स्थापना गरिएको कोषका संरक्षक टिकाप्रसाद जमरकट्टेलले जनाएका छन् ।

कट्टेल परिवारबाट स्थापना गरिएको २ लाख एक हजार बराबरको अक्षयकोषबाट हरेक वर्ष जनकल्याण माध्यमिक विद्यालयबाट एसईई मा उत्कृष्ट अंक ल्याई पास गर्ने तीनजना विद्यार्थीहरुलाई जनही ४ हजार ५ सय नगदसहित प्रशंसा पत्र साथै विद्यालयमा लामो समय कार्यरत भई अवकास प्राप्त एकजना शिक्षकलाई समेत नगदसहित सम्मान पत्रका साथ दोसल्ला ओढाएर विशेष सम्मान गर्दै आएको बताइएको छ ।
त्यस्तै हाल वैदेशिक रोजगारीमा रहेका छोराबुहारी मेघनाथ र भुमिका सिटौलाले आफ्ना आमावुवाका नाममा २०७५ मा विद्यालयमा स्थापना गरेको आमावुवा ईन्दिरा—विष्णु सिटौला शैक्षिक अक्षयकोषले समेत विद्यार्थीलाई छात्रावृत्ति साथै पुर्व शिक्षकलाई सम्मानको कार्यक्रम गर्दै आएको बताइएको छ । सिटौला परिवारबाट स्थापना गरिएको १ लाख १३ हजार ३ सय बराबरको अक्षयकोषबाट एसईई मा उत्कृष्ट अंक ल्याई पास गर्ने तीनजना विद्यार्थीहरुलाई जनही २ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिँदै आएको कोषका अध्यक्ष विष्णुप्रसाद सिटौलाले जानकारी दिएका छन् ।
यी दुवै कोषबाट सम्मानित हुने विद्यार्थीहरुमा धिरेन गोसार्इँ, डम्बरनारायण यादव र मञ्जना हेमरम रहेका छन् । त्यस्तै लामो समयसम्म विद्यालयमा कार्यरत भइ यस अघि नै अवकास प्राप्त शिक्षक अर्जुन प्रसाईँलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरिएको बताइएको छ ।
त्यस्तै झापा गाउँपालिका ७ निवासी जीवनाथ र अम्बिकादेवी लम्सालले दुई वर्ष अघि २०७७ साउन ३ गतेका दिन सडक दुर्घटनामा परी निधन भएका आफ्ना २७ वर्षिय छोरा प्रदिपको स्मृत्तिमा २०७८ मा स्थापना गरेको एक लाख एक हजार बराबरको प्रदिप लम्साल स्मृत्ति अक्षयकोषबाट समेत छात्रवृत्ति वितरण गरिएको छ । गाउँपालिका स्तरीय कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक ल्याएर पास भएका छात्र रोहितकुमार मण्डल र छात्रा प्रिया मण्डललाई जनही दुई हजार पाँचसय नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको कोषकी संरक्षक अम्बिकादेवी सिटौला लम्सालले बताएकी छन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष अन्जुदेवी थपलियासहित दाता परिवारका तर्फबाट नगदसहित प्रशंसा पत्र प्रदान गरिएको बताइएको छ ।
जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ लम्सालको सभापतित्व रहेको छात्रवृत्ति वितरण कार्यक्रममा दाता परिवारका तर्फबाट क्रमशः टिकाप्रसाद जमरकट्टेल, विष्णुप्रसाद सिटौला, अम्बिकादेवी सिटौला लम्सालले अक्षयकोष स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथी झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष अन्जुदेवी थपलिया, वडा नं.७ का वडाअध्यक्ष सखीचन्द्र ठाकुर, नेपाल शिक्षक महासंघ झापा गाउँपालिका अध्यक्ष जगन्नाथ राजवंशी, नेपाल शिक्षक संगठन झापा गाउँपालिकाका अध्यक्ष भक्तवहादुर बानियाँ, सम्मानित पुर्व शिक्षक अर्जुन प्रसाईँ लगायतले विद्यालयमा स्थापना भएको अक्षयकोषले विद्यार्थीहरुमा उत्प्रेरणा जगाउँन महत्वपूर्ण भूमिका खेलेको भन्दै सामाजिक रुपान्तरणकालागि समेत अक्षयकोष सबैकालागि प्रेरणा बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
जनकल्याण माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई विद्यालयका शिक्षक कमलप्रसाद पाठकले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सोही विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीले गरेका थिए ।