कनकाई खबर \ झापाको कनकाई ३, सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा आबद्ध स्थानीयवासी तीर्थराज खरेल सोही विद्यालयको सहायक प्रधानाध्यापक पदमा नियुक्त भएका छन् ।
कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिक एवम् कनकाई खबर डटकम अनलाइनका सल्लाहकार सम्पादकको समेत जिम्मेवारीमा रहेका खरेललाई गत असार १६ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा बसेको विव्यसको बैठकले विद्यालयको सहायक प्रधानाध्यापक पदमा नियुक्त गरेको हो । विद्यालयका प्रअ कर्णबहादुर डाँगीको सिफारिसका आधारमा खरेललाई सहायक प्रअमा नियुक्त गरेको सोही विद्यालयका शिक्षक–अभिभावक संघ (पीटीए) का अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । सो विद्यालयमा सूचना अधिकारीको रूपमा क्रियाशील खरेलले विद्यालयका प्रअ डाँगीलाई प्रशासनिक कार्यमा सहयोग पु¥याउँदै आएका थिए ।
भृकुटी मावि दुर्गापुरबाट प्राथमिक र कनकाई माविबाटै माध्यमिक तहको शिक्षा पुरा गरेका खरेल बिराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातक पुरा गरी २०४९ सालदेखि सुरुङ्गास्थित पशुपति अंग्रेजी माविमा माध्यमिक शिक्षकको रूपमा शिक्षण सेवामा प्रवेश गरेका थिए । ३ वर्ष पशुपतिमा सेवा गरी त्यसपछि २०५९ सालसम्म सुरुङ्गामै सञ्चालित श्री हरिकुल नमुना माविमा कार्यरत रही २०५९ सालदेखि कनकाई माविमा माध्यमिक तहमा अंग्रेजी शिक्षकको रूपमा अस्थायी दरबन्दीमा प्रवेश गरेका थिए । २०६३ सालमा स्थायी भई पदस्थापनका क्रममा कनकाई माविबाट अलग्गिनु परेको थियो । १ महिने विद्यालय व्यवस्थापनसम्बन्धी प्रधानाध्यापकको तालिम, १ महिने पेशागत विकास तालिम लगायतका तालिम लिएका खरेलसँग प्रधानाध्यापक चलाएको अनुभव समेत रहेको छ । उनले मेचीनगरको धाइजनस्थित बलभद्र जनता माविमा प्रधानाध्यापकको जिम्मेवारी लिई विद्यालयलाई स्तरोन्नति गरी कक्षा १२ सम्म पु¥याउन स्थानीय शिक्षासेवीहरूसँग मिली महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
उनी केही समयपछि २०६६ सालदेखि पुनः कनकाई माविमै सरुवा भई हालसम्म कनकाईमै कार्यरत रहेका छन् । २०७६ सालमा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षाबाट माध्यमिक तह द्वितीय श्रेणीमा पदोन्नति भएका खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा एम्.ए, एम्.एड्.सम्मको शिक्षा हासिल गरेका छन् । हाल उनी कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस सभा सदस्य तथा सुरुङ्गास्थित युनिक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्षका रूपमा क्रियाशील छन् । दर्शन र राजनीतिक चिन्तनमा हरदम चासो राख्ने खरेल शिक्षा क्षेत्रमा नवीनतम् प्रविधिको उपयोग गर्नुपर्ने र सहभागितामूलक शिक्षामा विश्वास राख्छन् ।
माता राधिका खरेल र पिता ईश्वरीप्रसाद खरेलका ज्येष्ठ सुपूत्रका रूपमा बि.सं.२०२८ असार २० गते हालको कनकाई नगरपालिका–७ दुर्गापुरमा जन्मेका खरेल शिक्षण पेशामा संलग्न रहँदै कनकाई सुरुङ्गा प्रेस क्लबको संस्थापक अध्यक्ष समेत रही पत्रकारिता क्षेत्रमा आबद्ध रहेर निरन्तर रूपमा स्थानीय तथा खोज अनुसन्धानमूलक समाचार सम्प्रेषण गरी कनकाई नगर क्षेत्रका आम नागरिकहरूको भावना र यस क्षेत्रका सबै संघसंस्थाहरूको समर्थन र सहकार्यमा लोकतन्त्र र जनताको पक्षमा सदैव दृढतापूर्वक उभिंदै आएका छन् । कनकाई नगरलाई बन्द–हडतालमुक्त शान्तिक्षेत्रका रूपमा स्थापित गर्न व्यापारी, व्यवसायी र राजनीतिकर्मीसँगै खरेल पनि एक सञ्चारकर्मी र बुद्धिजीवीका रूपमा दृढतापूर्वक उभिएका छन् । हरदम सकारात्मक सोचका साथ कलम चलाउने खरेलका लेखहरू रूचिका साथ पढ्ने पाठकको सङ्ख्या बढ्दै गएको छ । हाल उनी सुरुङ्गाबाट प्रकाशित कनकाई खबर साप्ताहिक एवम् कनकाई खबर डटकम अनलाइनसँगै विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल राष्ट्रिय दैनिक तथा आमसञ्चार डटकमसँग आबद्ध रहेका छन् ।
सहायक प्रअको रूपमा नियुक्त भइसकेपछि खरेलले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक, व्यवस्थापकीय क्षेत्रमा समस्त अग्रजहरूको निर्देशनलाई शिरोपर गर्दै प्रधानाध्यापकको भरपर्दो सहयोगीको रूपमा विद्यालय व्यवस्थापन समिति र पीटीएले दिएका जिम्मेवारीहरू पुरा गर्दै विद्यालयको उन्नयनमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।