Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उदाए बालेन
    राष्ट्रिय

    उदाए बालेन

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ १३, शुक्रबार ०९:३७ गते6 Mins Read

    – गौरव पोखरेल

     काठमाडौं । २०७४ सालमा स्थानीय तह निर्वाचन हुँदा काठमाडौं महानगरका मतदाता बालेन (बालेन्द्र) साहले भोट हालेनन् । उनको भनाइमा त्यतिवेला उठेका उम्मेदवारहरूप्रति उनलाई भरोसा थिएन । त्यसैले उनले ३१ वैशाख २०७४ मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु, देश कसरी विकास गर्ने मलाई थाहा छ ।’

    सिभिल इञ्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका साहले त्यतिवेला स्ट्रकचरल इञ्जिनियरिङमा स्नातकोत्तर तह अध्ययन गरिरहेका थिए । त्यही पृष्ठभूमिका आधारमा देश कसरी बनाउनुपर्छ भन्ने आफूलाई थाहा भएको उनको भनाइ थियो । काठमाडौं महानगरको मेयर बन्ने हुटहुटी उनलाई अहिले अचानक जागेको होइन भन्ने कुरा साहले पाँच वर्षअघि फेसबुकमा गरेको यही पोष्टले जनाउँछ ।

    बालेन निकटस्थहरूका अनुसार २०७२ सालमा भूकम्प आएका वेला पुनर्निर्माणका काममा सरिक हुँदा उनलाई राज्य प्रणाली र संरचनाप्रति चित्त बुझेको थिएन, त्यसले यसलाई सुधार गर्न एउटा भरपर्दो विकल्पको खाँचो छ भन्ने उनलाई लागेको थियो । त्यही विकल्प बन्ने हुटहुटी लिएर गरेको तयारीपछि पाँच वर्षअघि भनेजस्तै साहले यसपालिको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा आफैं उम्मेदवार बने, आफूले आफैलाई भोट हाले ।

    बुधबार बेलुकीदेखि चाहिँ बालेन उम्मेदवार मात्र रहेनन्, लामो राजनीतिक पृष्ठभूमि र विरासत बोकेको पार्टीहरूलाई पराजित गर्दै महानगरको मेयरमा निर्वाचित भएका छन् । काठमाडौं महानगर चलाउने चाबी पाँच वर्षका लागि हात पारेका छन् । साहले ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।

    राजनीतिक दललाई चुनौती

    चुनावका वेला वाचाका चाङ लगाउने र निर्वाचित भइसकेपछि त्यसलाई भुल्ने दलहरुका प्रवृत्तिका कारण मतदाता वाक्क भइसकेका थिए । जनप्रतिनिधिले पनि अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै असन्तुष्टि स्वर सार्वजनिक भइरहेका थिए । यसपालि त्यही असन्तुष्टिको आवाज काठमाडौंमा प्रकट भएको राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन् ।

    उनको बुझाइमा काठमाडौं महानगरको मेयरमा साह निर्वाचित हुनु भनेको नागरिक राजनीतिक दलको क्रियाकलापबाट वाक्कदिक्क भइसके र विकल्प खोजी गरिरहेका छन् भन्ने सन्देश हो । ‘जनताले विकल्पको खोजी गरिरहेका थिए, त्यो विकल्प बालेनको अनुहारमा देखे’ उनले भने, ‘राजनीतिक दलप्रति निराशा र बालेनमा आशा देखिएको छ ।’ उनको बुझाइमा यो दलहरूलाई सच्चिनका लागि जनताले गरेको खबरदारी पनि हो ।

    पछिल्लो समयमा सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा बालेनको पक्षमा जुन किसिमको माहोल बन्यो, त्यसले बालेनको फरक व्यक्तित्व निर्माण गराएको लाभ बताउँछन् । उनी भन्छन्, ‘फेरि मुख्य राजनीतिक दलले राम्रो उम्मेदवार उठाउन नसक्नु पनि बालेन उदयको आधार बन्यो ।’

    उम्मेदवारी मनोनयको वेलासम्म बालेनलाई मुख्य राजनीतिक दलहरुले प्रतिस्पर्धी नै मानेका थिएनन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापित आफ्नो जीत सुनिश्चित भएको भन्दै कसरी उत्सव मनाउने भनेर भाषण गरिरहेका थिए । तर साहचाहिँ चुपचाप चुनावी तयारी गरिरहेका थिए ।

    त्यतिवेला साहबारे स्थापितले दिएको विवादास्पद अभिव्यक्तिले उनलाई चुनावी प्रचारमा झनै मद्दत पुग्यो । स्थापितले साहविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिइरहँदा साहले उनको भनाइलाई प्रतिकार गरेनन्, बरु स्थापितलाई ‘बाबु’ भन्दै आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा काम गरिरहेको बताइदिए । स्थापित एकपछि अर्को गर्दै आपत्तिजनक अभिव्यक्ति दिँदै गए, तर साहले चुपचाप नै रहे ।

    स्थापित २०५४ सालको निर्वाचनमा युवा अवस्थामा थिए, त्यतिवेला लोकप्रिय पनि थिए । तर बदलिएको समय उनको पक्षमा थिएन । यसबारे दलले आकांलन गर्न नसक्नु पनि बालेनका लागि फाइदाजनक भनेको विश्लेषकहरु बताउँछन् ।

    हुन पनि ०५४ पछि स्थापितको जीवन अस्थिर बन्दै आयो, उनी कम्युनिष्ट पार्टी छाडेर दरबारको जागिर खान गए, प्रजा परिषद्को अध्यक्ष पनि भए, पछि संघीय समाजवादी पार्टीमा लागे । त्यसता पनि उनी बोलीका कारण बारम्बार विवादमा आइराख्थे ।

    नेपाली कांग्रेसले उम्मेदवार बनाएकी सिर्जना सिंहलाई पनि मतदाताले उत्तम विकल्प मान्न सकेनन् । विश्लेषक डम्बर खतिवडा पनि भन्छन्, ‘खासमा काठमाडौंमा दलहरुले यसपालि राम्रो उम्मेदवार नै दिन सकेनन्, जसले बालेनलाई उदाउन परिस्थिति सहज बन्यो ।’

    वैकल्पिक विकल्पहीन बनेपछि रोजाइमा स्वतन्त्र

    अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा विवकेशील साझा पार्टीकी उम्मेदवार रञ्जु दर्शना चर्चाको शिखरमा थिइन् । उनले २३ हजार ४३९ मत ल्याउँदा साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार ४९२ मत ल्याए । खासमा काठमाडौंवासीले मुख्य राजनीतिक दलहरुको विकल्प खोजी गरिरहेको सन्देश त्यसबेलै दिएका थिए ।

    तर यो पाँच वर्षमा दर्शना र थापाले काठमाडौंवासी मतदाताको मनमा बसिराख्ने काम गर्न सकेनन् । पार्टी पनि दुईभागमा विभाजित भयो, विकल्प भनिएको पार्टीमा राजनीतिक लाइनका कारण दुई भागमा बाँडियो । विवकेशील साझा पार्टीका संस्थापक नेतामध्येका एक केशव दाहाल भन्छन्, ‘मैले यो कुरा स्वीकार्नै पर्छ, यसपालिको चुनावले वैकल्पिक भनिएको पार्टीलाई पनि जनताले विकल्प भन्ने सोचेनन्, पार्टी विचार र सिद्धान्तको कुरामा फस्दा जनताले स्वतन्त्र व्यक्तिलाई विकल्पको रुपमा चुनेका छन् ।’

    उनको बुझाइमा स्थानीय तहमा चाहिने कुरा भनेको प्रभावकारी सेवा प्रवाह, सामाजिक न्याय र इमान्दार नेतृत्व हो । ‘विगतमा यही कुरा मतदाताले विवकेशील साझाका उम्मेदवारमा देखेका थिए, तर अहिले पार्टीका विवादले गर्दा स्वतन्त्र उम्मेदवार विजयी हुनुभयो’ दाहाल भन्छन् ।

    त्यसो त केही अघिबाटै स्थानीय निकाय गैरदलीय हुनुपर्ने बहस पनि चलिरहेको थियो ।

    ‘स्थानीय तह दलीय आग्रह पूर्वाग्रहमा फस्दा जस्तोसुके मान्छेले पनि काम गर्न सकेनन् भन्ने आम बुझाइ रह्यो’ दाहालले थपे, ‘स्थानीय सरकार सेवाप्रवाहको सरकार भएकाले दलीयभन्दा पनि गैरदलीय र क्षमतावान हुनुपर्छ भन्ने मतदाताले सोच्दा, त्यो विकल्प बालेनमा देखिएको हुनुपर्छ ।’

    बालेन साह र्‍यापरका रुपमा युवा पुस्ता माँझ पहिल्यै चिनिएका थिए ।

    तर पुराना पुस्ताका मतदातासँग चाहिँ उनी सुनिएका नाम थिएनन् ।

    चुनावमा मनोनय दर्ता गराएपछि सञ्चारमाध्यमहरूका अन्तरवार्तामा आउन थालेपछि मात्रै पुराना पुस्ताका धेरैको नजरमा परेका थिए ।

    भर्चुअल समर्थन जोगाइराख्ने चुनौती

    मेयरका रुपमा उम्मेदवारी दिंदै गर्दा उनले आफ्नो प्रमुख प्राथमिकताका रुपमा ‘काठमाडौंलाई बस्न लायक सहर’ बनाउने योजना अघि सारेका थिए ।

    ‘काठमाडौं म आफैं बस्ने ठाउँ पनि हो, म माफैं मास्क लगाएर धुलोमा हिँड्नु परेको छ, खाल्डाखुल्डीमा म आफैं परेको छु’ उनले केहीअघि अनलाइनखबरसँग अन्तरवार्ता दिंदै भनेका थिए, ‘जताजातै फोहोर आफैंले देखेको छु, दुर्गन्धका कारण खुला रुपमा हिँड्न सकिन्न, त्यसैले बस्न लायक सहर आफैंले बनाउनुपर्छ भनेर लागेको छु ।’

    नागरिक अगुवा श्याम श्रेष्ठ पनि बालेनको मुख्य चुनौती यही हुने बताउँछन् । ‘अहिले बालेनको पक्षमा एक्कासी लहर सिर्जना भएर जनमत जुटेको छ, उनीप्रति धेरै अपेक्षाहरु छन्’ उनी भन्छन्, ‘तर भोलिका दिन उनी मेयर भएर पनि फोहोर नउठ्ने जस्ता समस्या देखिए पनि एक महिना पनि नभइ बालेनप्रति पनि नागरिकमा फ्रस्टेसन सुरु हुनसक्छ ।’

    विश्लेषक खतिवडाको बुझाइमा पनि साहको इञ्जिनियरिङ पृष्ठभूमिका कारण पनि मतदाता लोभिएका छन् । ‘तर उनी कस्तो काम गर्छन् भन्ने विषयमा टेस्टेड मान्छे होइनन्’ खतिवडा भन्छन्, ‘मतदाताको अपेक्षा अनुसार गर्न सके उनका लागि यो अवसर हो, नभए आगामी दिन उत्तिकै चुनौतीपूर्ण पनि छ ।’

    उनका अनुसार मेयर भनेको व्यवस्थापकीय पद पनि हो । सीमित स्रोतका बीच उनले अघि सारेका महत्वकांक्षी योजनाहरुलाई कसरी पूरा गर्छन् भन्ने पनि देखिइनसकेको खतिवडा बताउँछन् । ‘योजना पूरा गर्न आम्दानीको योजना के हो भन्ने अहिलेसम्म स्प्ष्ट छैन, त्यसैले नागरिकमाझ सिर्जित अपेक्षा र बजेटको सीमितता बीच दूरि बढ्नसक्छ’ उनी भन्छन्, ‘यो उनको व्यवस्थापनमा भर पर्ने कुरा हो ।’

    खतिवाडाको बुझाइमा अहिलेसम्म बालेन स्वयम् कस्ता व्यक्ति हुन् भन्ने स्पष्ट भइसकेको छैन । उनको विशेष दखल र्‍याप, इञ्जिनियरिङ, व्यवस्थापन वा कुन विधामा हो भन्ने देखिएको छैन । त्यसैले कर्मचारी प्रशासन चलाउनेदेखि लिएर विभिन्न राजनीतिकसँग समन्वय गर्नेसम्मका विषयले बालेनको भविष्य निर्धारण गर्ने खतिवडा बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.