कनकाई खबर \ सुरुङ्गा जेसीजले एक दिवसीय विद्यार्थी केन्द्रित मेडिटेशनको कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ब्रम्हकुमार राजु घलेबाट प्रदान गरिएको विद्यार्थी केन्द्रित मेडिटेसनमा सुरुङ्गा आसपास क्षेत्रका मावि तहको कक्षा ९ र १० मा अध्ययनरत २ सय बढी विद्यार्थीहरु लाभान्वित भएको जेसीज अध्यक्ष सुस्मा न्यौपाने उप्रेतीले बताएकी छन् ।
सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था सुरुङ्गा जेसीजले आफ्नै सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने पवित्र भावना बोकेको संस्था सुरुङ्गा जेसीजले मानव जीवनमा कसरी सुधार ल्याउँन सकिन्छ भन्ने सोचका साथ सोही अनुरुपको कार्यक्रम ल्याएको जेसीज अध्यक्ष उप्रेती बताउँछिन् ।
आजका वालवालिका नै भविष्यका कर्णधार भएकाले वर्तमानको समयलाई सहि सदुपयोग गर्दै उज्वल भविष्य सुनिश्चित गर्नकालागि यस किसिमको मेडिटेशन कक्षाले थप सहयोग पुग्ने विश्वास गरिएको छ । मेडिटेशन कक्षामा प्रमुख प्रशिक्षक राजु घलेले विद्यार्थीले पढ्ने कलालाई कसरी सहज साथै प्रभावकारी बनाउँन सक्छन् भन्ने विषयमा तथ्यपरक प्रस्तुती दिएका थिए ।
सुरुङ्गा जेसीजकी अध्यक्ष सुस्मा न्यौपाने उप्रेतीको सभापतित्व रहेको कार्यक्रममा पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । महासचिव राजु पाठकले संचालन गरेको कार्यक्रममा सुरुङ्गा जेसीजका पुर्वअध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल,जविन तिम्सिना, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठ, प्यारागन एकाडेमीकी संस्थापक अध्यक्ष चम्पा खनाल सुवेदी, सुरुङ्गा जेसीजको भवन निर्माण स्थलका जग्गादाता घनश्याम बराल, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र सुरुङ्गाकी पार्वती दिदीसहित केन्द्रका प्रतिनिधिहरु लगायत विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक साथै विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागीता रहेको बताइएको छ ।