कनकाई खबर \ झापाको कनकाई १ निवासी ७९ वर्षिय धर्मानन्द गौतमबाट नेकपा एमालेको विजय र्यालीलाई सहयोग प्राप्त भएको छ ।
सहयोगी भावना भएका गौतमले बुढाबुढीलाई हेर्ने पाटी भन्दै एमालेको वडा नंं १ मा हिंडेको र्यालीकालागि आर्थिक सहयोग गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आस्था राख्दै आएका वडाका जेष्ठ सदस्य गौतमले केही दिन अघि मात्र नेकपा एमालेको विजयी र्यालीमा बजेको नौमति बाजाप्रति प्रभावित भइ बाजा बजाउँने समूहलाई पार्टीले बुझाउँनु पर्ने जम्मा ९ हजार रुपैंया आँफैले सहयोग गरेका छन् । आफ्नै अगाडीबाट नौमति बाजा झ्याई झ्याई बजाउँदै वडाका निर्वाचित जनप्रतिनिधिहरु हिँडेको देखेर स्वतः स्फुर्त आँफुलाई पनि केही सहयोग गर्न मन लागेको जेष्ठ सदस्य गौतम बताउँछन् ।
एमालेको नेतृत्वमा रहेको सरकारले सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले मासिक रुपमा रु.४ हजार पुगेपछि आँफू धेरै खुशी हुँदै हाल निर्वाचित भएका आफ्नो वडाका एमाले वडाअध्यक्ष र सदस्यहरुलाई समेत केही सहयोग गर्न मन लागेको गौतम बताउँछन् ।
गौतमले आफ्ना सहयोगी साथीभाइहरु मार्फत एमाले कनकाई १ का ईन्चार्ज समेत रहेका दधिराम पोखरेल मार्फत सहयोग रकम उपलव्ध गराएको बताए । छोराछोरीले नहेरे पनि बुढाबुढीले पाएको रु.४ हजार भत्ताबाट सामान्य गुजारा चल्न सक्ने गौतमको ठहर छ ।
विपक्षी पार्टीप्रति आस्था राख्दै आएका गौतम पछिल्लो समय नेकपा एमालेको निती तथा कार्यक्रमप्रति प्रभावित हुँदै आएको बताउँछन् । नेकपा एमालेको गतिविधिप्रति प्रभावित भइ पार्टीलाई निस्वार्थ रुपमा अन्य सहयोग समेत गर्दै आएका समाजका जेष्ठ सदस्य गौतमलाई नेकपा एमाले वडाकमिटीले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत सम्मानसँगै जेष्ठ सदस्य गौतमलाई समेत सम्मान गरेको एमाले कनकाई १ का ईन्चार्ज दधिराम पोखरेलले जानकारी दिए ।