भक्तपुर \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता तिम्सिना भट्टराई निर्वाचित भएका छन् ।
सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका उम्मेद्वार बासुदेव थापाले प्रमुखमा १४ हजार ७ सय ५८ मत प्राप्त गरी विजयी भएका हुन् भने थापाका प्रतिद्धन्दी नेपाली काँग्रेसका निशान ढुंगेलले १३ हजार २ सय ३२ मत प्राप्त गरेका थिए । विजेता मेयर थापाले १५२६ मत बढि ल्याएर काँग्रेसका उमेद्वारलाई हराएका थिए । थापाले यसअघिपनि सूर्यविनायक नगरपालिकाको प्रमुखको जिम्मेवारी सफतापुर्वक निर्वाह गरेका थिए ।
त्यसैगरी उपप्रमुखमा पनि एमालेकै उमेद्वार सरिता तिम्सिना भट्टराईले विजय हासिल गरेकी छन् । उपप्रमुख भट्टराईले आफ्ना प्रतिद्धन्दीलाई निकै फराकिलो मतान्तरले विजयी हासिल गरेकी हुन् । भट्टराईले १४ हजार ४ सय ९० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् भने प्रतिद्धन्दी नेकपा समाजवादीका श्याम सुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत प्राप्त गर्दै पराजित भएका हुन् ।
अर्थशास्त्रमा राम्रै दख्खल भएकी सामाजिक अभियन्ता भट्टराईले आफ्नो कार्यकालमा नगरपालिकामा बौद्धिक सर्कल बनाएर कार्य गर्ने र यसका लागि विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरुलाई समेत समेटेर नगरपालिकाको न्यायीक सम्पादन गर्ने प्रतिवद्धता जनाएकी छन् । महिलाहरुलाई आर्थिक रुपमा समेत सम्पन्न बनाउँनुका साथै परिवारमा महिलाहरुको आर्थिक सहभागिता गराउँनु पर्ने तर्फ नवनिर्वाचित उपप्रमुख भट्टराईले जोड दिँदै आएकी छन् ।
एउटा परिवारमा जन्मेको बच्चादेखि मृत्यु पर्यन्त सम्मका योजनाहरुलाई कार्यन्वयनकालागि प्राथमिक्ताका साथ अघि बढाउँने योजनाका साथ तयार पारिएको घोषणा पत्रलाई अक्षरस पालना गर्न पालिकाको नेतृत्व सक्रिय रहने नवनिर्वाचित उपप्रमुख भट्टराईले जनाएकी छन् । नवनिर्वाचित उपप्रमुख भट्टराईले कनकाई खबरसँगको संवादमा आफ्ना सबै मतदाताहरुप्रति आभार प्रकट गर्दै सम्पूर्ण नगरवासीहरुमा सकारात्मक साथै रचनात्मक सल्लाह सुझावको समेत अपेक्षा राखेको बताएकी छन् ।
स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य गरी एमालेबाट ३३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् भने कांग्रेसबाट वडा अध्यक्ष र वडा सदस्य गरि १९ जना निर्वाचित भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा बालकोटमा रहेको महेन्द्र शान्ति माविमा मतदान गरेका थिए ।