कनकाई खबर \ प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस कनकाईलाई आआफ्नो विरासत जोगाउँन धौ धौ परेको छ ।
एमालेलाई पछि पार्न मुलुकभरी नै गठबन्धनको प्रयास गरेको कांग्रेसलाई अन्ततः आफ्नो विरासत जोगाउँन नै धौ धौ परेको छ । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सत्ताधारी राजनीतिक दललाई समेत विरासत जोगाउँन धौ धौ परेको हो । कनकाईमा पाँच वर्ष अघिको निर्वाचनमा कांग्रेस विजयी बनेको वडा नं. ९ र वडा नं. ६ लाई यस पटक एमालेले आफ्नो पकडमा पारेको छ भने वडा नं.३ लाई समेत आफ्नो पकडमा पार्ने प्रयास गरेको छ । त्यस्तै कनकाई नगरकै नेतृत्व हात पार्ने दाउमा रहेको कनकाई कांग्रेसले एमालेको विरासत तोड्दै वडा नं.८ लाई आफ्नो नेतृत्वमा पारेको छ ।
कनकाईको वडा नं.६मा एमाले तर्फका उम्मेद्वार दिर्घवहादुर थापा विजयी बनेका छन् । थापाले ५०८ मत प्राप्त गरी विजयी बनेका हुन । उनका निकटतम प्रतिद्वन्दी निवर्तमान वडाअध्यक्ष समेत रहेका स्वतन्त्र तर्फका उम्मेद्वार लक्ष्मीप्रसाद ओलीले ४४० मत ल्याएका छन् । नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेद्वार केशव विमलीले २०९ मत प्राप्त गरेका छन् ।
विजयी बनेकी महिला सदस्य कुमारी द्रौपदा गौतमले ५७९ मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्य कल्पना विश्वकर्माले ५६२ मत प्राप्त गरेकी छन् । त्यस्तै खुल्ला सदस्य तर्फ नेपाली कांग्रेसका अर्जुनकुमार राजवंशीले ५४८ मत प्राप्त गरी विजयी बनेका छन् । त्यस्तै अर्का सदस्य सन्तोष सोरेनले ५८८ मत प्राप्त गरी विजयी बनेका छन् ।