कनकाई खबर \ आसन्न स्थानीय तह निर्वाचनमा कनकाईबाट मेयर उपमेयरसहित ४७ जना उम्मेद्वार मनोनयन गरेको नेकपा एमाले कनकाईले वुधबारदेखि आफ्नो प्रचारप्रसार अभियानलाई तिव्रता दिने भएको छ ।
एमालेले सुरुङ्गास्थित सहिद लक्ष्मी पाण्डेको शालिकमा माल्यार्पण गरी चुनाव प्रचारप्रसारलाई औपचारिक्ता दिने भएको हो । सहिद पाण्डेको शालिक परिसरमा कनकाई नगरका नौवटै वडाका ४७ जना नै उम्मेद्वारहरुको उपस्थितीमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी स्थानीय चुनावको प्रचारप्रसार शुरु गरिने नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईले जानकारी दिए । औपचारिक कार्यक्रम सम्पन्नपछि नगर प्रमुखका उम्मेदवार राजेन्द्रकुमार पोखरेल, उपप्रमुखका उम्मेदवार मञ्जु प्रसाई र पार्टी नेतासहितको टोली वार्ड नं. १ बाट प्रचारप्रसारमा लाग्ने एमाले जिल्ला कमिटी सदस्य एवम् कनकाईका ईन्चार्ज रविन्द्र लम्सालले जानकारी दिए ।
भारतमा रहेका नेपाली भाषी माथि गरिएको दमनको विरुद्ध भएको आन्दोलनमा पाण्डे पञ्चायती व्यवस्थाका प्रहरीद्वारा मारिएका थिए । सहिद पाण्डेको जन्म विं. सं २०२२ साल पौष १९ गते पिता खड्गप्रसाद पाण्डे र माता माया देवी पाण्डेको कोखबाट ताप्लेजुङ्ग जिल्ला सिनाममा भएको थियो । वि. स. २०३५ सालमा परिवार सहित झापाको साविक बनियानी –६ मा पाण्डे परिवार बसाई सरी आएको थियो । वि.सं. २०४४ सालमा भारतको मेघालय राज्यमा लामो समयदेखि आफ्नो रगत र पसिना त्यही माटोमा भिजाउँदै गरेका नेपाली मुलका जनतालाई अपमानजनक ढङ्गले लखेट्न थाले पछि भारतीय हैकमवाद्को विरुद्ध नेपालमा पनि विरोध सभाहरू हुन थाले । त्यही क्रममा २०४४ साल मंसिर २७ गते सुरुङ्गामा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर पाण्डे मारिएका थिए ।