राम निरौला,
कनकाई खबर \ आसन्न वैशाख ३० गते हुने निर्वाचनमा झापाको कनकाईबाट राजेन्द्र पोखरेल र मन्जु प्रसाईँ क्रमश ःमेयर र उपमेयर पदमा दोहोरिएका छन् । नेकपा एमालेका तर्फबाट पाँच वर्ष अघि निर्वाचित भई कनकाई नगरपालिकाको सफल नेतृत्व सम्हालिसकेका मेयर पोखरेल र उपमेयर प्रसाईँ यस पटक पनि नेतृत्व हात पार्ने दाउमा छन् ।

एक कार्यकाल स्थानीय सरकारको नेतृत्व गरिसकेका पोखरेल र प्रसाईँ जनमतको सम्मान गर्दै पुनः एक पटक कनकाई नगरपालिकाको मेयर र उपमेयरको जिम्मेवारी सम्हाल्ने दौडमा चुनावी मैदानमा होमिएका छन् । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट भारी मतका साथ निर्वाचित भएका मेयर पोखरेलले निर्वाचनका बेला गरेका प्रतिवद्धता ९० प्रतिशत पूरा गरेको बताउँछन् । लामो समय सम्म जनप्रतिनिधि बिहिन भएको अवस्थाका कारण विकासको गति ठप्प भई भौतिक संरचनाहरु समेत जीर्ण बनेको अवस्थालाई सहज बनाउँन पोखरेल र प्रसाईँको नेतृत्व सफल बनेको बताइएको छ । स्थानीय सरकारका रुपमा जनप्रतिनिधिहरुले नेतृत्व सम्हाल्न थालेसँगै विकासको गति तिव्रताका साथ अघि बढेको स्थानीयवासी बताउँछन् ।
यसै क्रममा स्थानीय सरकार प्रमुखका रुपमा कनकाई नगरपालिकाको नेतृत्व सम्हाल्दै आएका मेयर पोखरेल र उपमेयर प्रसाईँको कार्यकालमा कनकाईले समृद्धिको यात्रामा धेरै फड्को मारेको बताइएको छ । कनकाईमा सम्पन्न भएका भौतिक पुर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य साथै युवा स्वरोजगारका क्षेत्रमा सम्पन्न भएका महत्वपुर्ण कार्यले कनकाईमा मेयर, उपमेयरसहित अधिकांश वडाका जनप्रतिनिधिहरु आसन्न निर्वाचनमा दोहोरिएको पाइन्छ । पाँच वर्ष अघिको निर्वाचनमा प्रतिवद्धतामा उल्लेख भएका महत्वपूर्ण योजनालाई पूर्णता दिँदै आसन्न निर्वाचनमा थप महत्वकांक्षी योजनाका साथ कनकाई नगरको मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रसाईँ दोहोरिएका हुन् । कनकाईमा पाँच वर्षको यो अवधिमा ऐन–११वटा, कार्यविधि–२७, निर्देशिका–३, नियमावली–२, कार्यादेश–१, आचार संहिता–१ गरी ४५वटा कानुन कार्यान्वयनमा रहेको बताइएको छ ।

कनकाई नगर क्षेत्रमा रहेका मजदुरहरुलाई मालिक बनाउने कार्यक्रम अन्तरगत कानुन निर्माण गरी तत्कालिन मेयर पोखरेलले नगरपालिकाबाट आफूले पाउँने तीन वर्षको पारिश्रमिक मजदुर हितकोषमा प्रदान गरेका थिए । मेयर पोखरेलको व्यक्तिगत आर्थिक सहयोग साथै हौसला र नगरपालिकाबाट समेत प्राप्त सहयोगका कारण हाल कनकाईमा मजदुर सहकारी संचालनमा रहेको छ भने श्रमिक स्वावलम्वन कंक्रिट उद्योग स्थापना भएको बताइएको छ । यसका साथै पाँच वर्ष अघिको निर्वाचनमा भएका प्रतिवद्धता मध्ये सुकुम्वासी तथा अव्यवस्थित वसोवासको व्यवस्थापन गर्न तथ्याङक संकलन गरी नाप नक्सा समेतको काम अन्तीम चरणमा पुगेको मेयरका उम्मेद्वार पोखरेल बताउँछन् । पाँच हजार बढी अव्यवस्थित बसोबासी साथै दुई हजार पाँचसय भुमिहिन सुकुम्बासी रहेको कनकाईमा यस अघि भएको प्रतिवद्धता अनुसार धनीपुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
जनप्रतिनिधिले नेतृत्व सम्हाल्नु अघि १४ किलो मिटर मात्र सडक कालो पत्रे भएकोमा हाल कनकाईमा कालो पत्रे ४२ कि.मी.,(पेवर्स) ब्लक विछ्याउँने कार्य १० कि.मी., ग्रामिण क्षेत्रका धेरै बाटाहरु उच्च स्तरको ग्राभेल निर्माण गरी हिले सडकलाई विस्थापित गरिएको बताइएको छ । त्यस्तै उज्यालो नगरीको कार्यक्रम अन्तरगत सडक बत्तीकोलागि स्मार्ट लाईट तथा मास लाईट संचालन गरी आवश्यक पोल तार र ट्रान्फरमरको वितरण तथा व्यवस्थापन भएको छ । निर्वाचनका समयमा गरेको प्रतिवद्धता अनुसार फोहोरलाई मोहोरमा बदल्ने कार्यको निरन्तरता स्वरुप नगर क्षेत्रको फोहोरलाई व्यवस्थापन गरी छिमेकी नगरपालिका अर्जुनधारा र विर्तामोडलाई समेत समेट्दै ग्यास प्लान्ट स्थापना गरीएको छ ।
कनकाई माई, सुरुङ्गां, सन्काहा, विरिङ्, घाग्रा, बाघे खोलामा तटवन्धन निर्माण, अधिकांश स्थानमा पुल, कल्र्भट, कजवेको निर्माण भएको छ । कनकाई नगरपालिकामा मेयरको जिम्मेवारीमा रहँदा आँफुले पाउँने सरकारी सवारी साधनको सुविधा समेत उपभोग नगरी सवारी साधन खरिदकालागि आउँने बजेट शिक्षा क्षेत्रमा लगानी गरेका मेयर पोखरेलको नेतृत्वमा कनकाईको विविध मुल्यांकनका आधारमा देशकै उत्कृष्ट नगरपालिकाको रुपमा समेत घोषित भइसकेको बताइएको छ । कनकाई पोलिटेक्निक इन्टिच्युटको (प्राविधिक शिक्षालय) स्थापना र सिभिल, कम्प्युटर र जियोमेट्रिक विषयहरुमा डिप्लोमा तहको शैक्षिक कार्यक्रम संचालनमा रहेको छ ।