कनकाई खबर / झापाको कनकाई नगरपालिकाले एकै दिनमा साडे ८ करोडको बजेटमा निर्माण सम्पन्न भएका चारवटा ऐतिहासिक संरचनाको समुद्घाटन गरेको छ ।
नगरपालिकाको दुई तले प्रशासनिक भवन, विद्युतिय कर भुक्तानी सेवा साथै सुरुङ्गा बजारमा खुल्ला व्यायामशाला एवम् कनकाई बन्द निषेधित स्तम्भ उद्घाटन गरिएको हो । चारवटै भौतिक संरचनाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले उद्घाटन गरेका हुन् ।

साविक सुरुङ्गा र घैलाडुवा गाविसको समायोजनपछि २०७१ वैशाख २५ मा नगरपालिका घोषणा भएसँगै जमिनको व्यवस्थापन गरी २०७२ असारबाट प्रशासनीक भवन निर्माण कार्य प्रारम्भ भएको नगर प्रमुख पोखरेल बताउँछन् । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै २०७४ असारमा भुइतलाको निर्माण कार्य सम्पन्न भएपछि निर्वाचित जनप्रतिनिधिले प्रशासनीक भवन प्रयोगमा ल्याएको बताइएको छ । हाल नगरपालिकाको प्रशासनीक भवन पूर्ण रुपले निर्माण कार्य सम्पन्नपछि विधिवत रुपमा उद्घाटन गरिएको हो ।
कार्यक्रमकै अवसरमा नगरपालिकाको प्रशासनीक भवन निर्माणकालागि ६ कठ्ठा १० धुर जग्गा दान गर्ने सिटौला परिवारका सदस्य दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने दाताहरुमा कनकाई–१ निवासी मातृकाप्रसाद र अञ्जना, उमाप्रसाद र सीतादेवी, भवानीशंकर र दिपा, हेमन्त र शान्ता, प्रशान्त र आरजु, रेनुशंकर सिटौला, गंगा सिटौला उप्रेती, कोमल र ऋचा, पारस र सन्जना सिटौला रहेका छन् । त्यसैगरी स्थानिय ओली परिवारका सदस्य दाताहरु शरदकुमार एवम् मेनुका, स्व.दिलिपकुमार एवम् शान्ता, झलेन्द्रकुमार एवम् उर्मिला ओली, शिला ओली पाण्डे, दिव्या ओली पाठकले आफ्ना दिवंगत बुबाआमा स्व.पदमप्रसाद र स्व.सावित्रादेवी ओलीको स्मृत्तिमा दुई कठ्ठा जमिन नगरपालिकाको भवन निर्माणकालागि दान गरेका थिए । सम्मानित सबै सिटौला र ओली परिवारलाई कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, उप–प्रमुख मञ्जु प्रसाईं, कार्यकारी प्रमुख मोहनप्रसाद न्यौपाने लगायतले सम्मान गरेका हुन् ।

त्यसैगरी नगर प्रमुख पोखरेलले नगरपालिकाले सुरु गरेको स्मार्ट सेवा अन्तर्गत विद्युतिय कर भूक्तानी सेवाको पनि शुभारम्भ भएको घोषणा गरेका छन् । आगामी दिनमा नगरका दैनिक कामकाज पूर्ण प्रविधीमैत्री बन्नु पर्ने मा पोखरेलले जोड दिए ।
पाँचवटा विभिन्न एप प्रयोग गर्न सकिने विद्युतिय कर भूक्तानी सेवा नेपालमै पहिलो पटक स्थानीय सरकारले प्रयोगमा ल्याउने कनकाई नगरपालिका पहिलो बनेको पालिकाका सुचना प्रविधी अधिकृत खगेन्द्र मिश्रले दावी गरेका छन् ।
विभिन्न कालखण्डमा राजनीतिक आन्दोलन, हड्तालको चरम चपेटामा देश नै समस्यामा परेको बेला झापाको सुरुङ्गामा भने स्थानीय नागरिक र दलका नेताको एकता र समझदारीमा सुरुङ्गा बजारलाई बन्द निषेधित क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणाका कारण सुरुङ्गाको परिचय देशव्यापी बन्न पुगेको छ । पछि कनकाई नगरपालिका घोषणा भएपछि तिनै सचेत नागरिक र दलका नेताहरुले सिंगो कनकाईलाई नै बन्द निषेधित क्षेत्र बनाए । हाल सम्म त्यो प्रतिवद्धता कामय रहेको छ । बन्द निषेधित क्षेत्र कनकाईको एक परिचय बनेकोले आगामी दिनमा पनि यो बन्द निषेधित अभियानलार्ई निरन्तरता दिने र ईतिहास राख्ने उद्येश्यले सुरुङ्गा बजारको पश्चिम बस बिसौनी दक्षिणमा कनकाई बन्द निषेधित क्षेत्रको सांकेतिक रुपमा एउटै ढुङगाको १३ फिटको अग्लो स्तम्भ बनाईएको छ ।

विगत दुई बर्षदेखि बनाउन सुरु गरिएको स्तम्भ हाल तयार भएकाले नगर प्रमुखको बाहुलीबाट अनावरण गरिएको हो । त्यसैगरी स्तम्भ परिसरमा खुल्ला व्यायामशालाको पनि नगर प्रमुख पोखरेलले उद्घाटन गरेका छन् ।
स्तम्भ र व्यायामशाला निर्माणकोलागि नगरपालिकाले छुट्टै समिति बनाएको थियो । समितिको अध्यक्षमा मौसम श्रेष्ठ, सचिव नमिता बस्नेत काफ्ले, कोषाध्यक्ष राधिका ओली कडरिया, सदस्यहरुमा अर्जुनकुमार बिमली, मिलन खरेल, ऋषि राई र गणेशप्रसाद पोखरेल रहेका थिए ।
बन्द निषेधित स्तम्भको परिकल्पना र कलाकारिता स्थानिय मुर्तिकार हिम्मत नेम्माङ्ले गरेका हुन् । स्तम्भ राख्नको लागि इन्जिनियरिङको काम इन्जिनियर विशाल थेवेले गरेका हुन् ।
विभिन्न श्रोत, आन्तरिक श्रोतबाट नगरपालिकाको प्रशासनिक भवनमा ८ करोड २६ लाख २० हजार, खुल्ला व्यामशालामा १० लाख र बन्द निषेधित प्रतिमाको फाउण्डेशनसहित १२ लाख ३१ हजार रुपैंया बजेट खर्च भएको बताईएको छ ।
नगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा जग्गा दाताहरुको तर्फबाट उमाप्रसाद सिटौला, कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, राप्रपा कनकाई नगर सचिव भुपेन्द्र दाहाल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, पुर्व जनप्रतिनिधि एवम् विवेकशिल साझा पार्टीका कनकाई नगर अध्यक्ष भिमप्रसाद अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले स्वागत गरेको कार्यक्रमको संचालन नगरका प्रवक्ता एवम् वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।