कनकाई खबर \ झापाको विर्तामोड २ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल साकोसका सवै सेवा केन्द्रहरुले संस्थाको २७ औं वार्षिकउत्सवको अवसरमा छुट्टा छुट्टै कार्यक्रम सम्पन्न गरेका छन् ।
यसै क्रममा सुरुङ्गा सेवा केन्द्रले संस्थाको वार्षिक उत्सवको अवसरमा सडक दुर्घटनामा परी निधन भएका सुरुङ्गास्थित होटल हेवनका संचालक स्व.पुर्णबहादुर बिष्ट (राज) र उनकी श्रीमती भिमा कार्की विष्टका छोरा निशान विष्टलाई सहयोग स्वरुप ३३ लाख बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, सुरुङ्गा सेवा केन्द्रका संयोजक खड्ग प्रसाईँ लगायतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
संस्थाको लघुवित्त तर्फकी सदस्य स्व.भीमा विष्टले लघुवित्त मार्फत ११ लाख कर्जा लिएको सेवा केन्द्र सुरुङ्गाका प्रमुख टिका प्रधानले बताए । संस्थाको नियमअनुसार ऋणी सदस्यको निधन भएको अवस्थामा ऋणीले लिएको कर्जाको दोब्बर साथै ऋण लिए बराबरको हिस्सा श्रीमान तर्फ पनि भाग लाग्ने भएपछि थप ११ लाख गरी जम्मा ३३ लाख ८ हजार बराबरको चेक छोरा निशान विष्टलाई हस्तान्तरण गरिएको हो । संस्थाले प्रत्येक ऋणी सदस्यको विमा गरिदिने भएकाले ऋणी सदस्यको निधन भएमा विमा बापतको रकम परिवारका सदस्यलाई दिँदै आएको बताइएको छ । विष्ट दम्पतिको गत साउनमा दमक चिया बगान सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परी घटनास्थलमै निधन भएको थियो ।
वार्षिक उत्सवकै अवसरमा संस्थाले सफल उद्यमी सदस्यका रुपमा सीतामाया लिम्बू र मरीयमकुमारी लिम्बूलाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको छ । संस्थाको सेवा केन्द्र सुरुङ्गाका संयोजक खड्ग प्रसाईँको सभापतित्व रहेको कार्यक्रममा संयोजक प्रसाईँले संस्थाको समग्र वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सेवा केन्द्र प्रमुख टिका प्रधानले केन्द्रको प्रगति विवरण प्रस्तुत गरेका थिए । सेवा केन्द्र सुरुङ्गामा १७० वटा समूह रहेका छन् भने सदस्य संख्या ४ हजार ८ सय १७ रहेको प्रमुख प्रधानले जानकारी दिए । सेवा केन्द्रले हाल ३६ करोड बचत गरेको छ भने ५१ करोड कर्जा लगानी गरेको साथै २ करोड २६ लाख नाफा आर्जन गर्न सफल भएको बताइएको छ । सेवा केन्द्रकी सदस्य सीता बस्नेतको स्वागत तथा सदस्य विनोद थपलियाले संचालन गरेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौडेल लगायतले संस्थाको सफलताको कामना व्यक्त गरेका थिए ।