कनकाई खबर \ आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न तहमा आकांक्षीहरुको नाम सार्वजनिक भएसँगै कनकाई मेयरको लाइनमा गोविन्द पौडेलको नाम समेत चर्चामा आएको छ ।
कनकाईको मेयरमा एमालेका तर्फबाट पुन ः राजेन्द्र पोखरेल नै दोहोरिने वातावरण बन्दै आएको वर्तमान अवस्थामा नगरका प्रवक्ता समेत रहेका कनकाई ४ का वडाअध्यक्ष पौडेल समेत चर्चामा आएका छन् । कनकाई मेयरको लाइनमा पौडेलसँगै पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्यका रुपमा रहेका हिरा थापा समेत अग्र भागमा रहेका छन् भने स्थानीय सामाजिक अभियन्ता श्याम ओली समेत मेयरको आकांक्षी बनेका छन् । पछिल्लो समय युवाहरु माझ लोकप्रिय बन्दै आएका नेकपा एमाले कनकाई नगरका निवर्तमान अध्यक्ष साथै वर्तमान इन्चार्ज रविन्द्र लम्साल समेत एकाएक मेयरको चर्चामा आउँन थालेका छन् ।
त्यस्तै युवा पुस्तामा सम्भावना बोकेका अर्का जुझारु युवा दिपक चापागाईँ समेत कनकाईको मेयरमा आकांक्षी बनेका छन् । हाल नेकपा एमाले कनकाईका उपसचिव साथै कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जाका प्रबन्ध निर्देशक रहेका चापागाईँ २०७४ को निर्वाचनमा राजेन्द्रकुमार पोखरेललाई कनकाई नगरको मेयरमा निर्वाचन गराउँनमा समेत प्रमुख भुमिका खेल्ने एक सामाजिक अभियन्ता हुन् । रोजगारीको सिलसिलामा विभिन्न ८ वटा मुलुकमा भ्रमण गरिसकेका चापागाईँ विदेशको ज्ञानसीपलाई आधार मानेर युवालाई स्वदेशमै रोजगारीको श्रृजना गर्नुपर्ने तर्फ जोड दिन्छन् ।
गत २०७४ को निर्वाचनबाट कनकाईको वडा नंं.४ मा वडाअध्यक्षका रुपमा निर्वाचित भएका पौडेल कनकाई नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पूरा गरेसँगै अब मेयरको लाइनमा चर्चामा आउँनु स्वभाविक भएको स्थानीयवासी बताउँछन् । वि.सं.२०३७ बाट कम्युनिष्ट पार्टीमा आवद्ध भएका पौडेल पार्टी भुमिगत अवस्थामा रहेको समयमा सेल्टर दाताका रुपमा समेत रहेका थिए । २०४४ सालको निर्वाचनमा पार्टीको निर्णयबाट निर्वाचित जनप्रतिनिधि साथै पार्टीको जनवर्गिय संगठनमा आवद्ध भएका पौडेल पार्टी कमिटीको विभिन्न जिम्मेवारीमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् ।
पार्टी राजनीतिसँगै विभिन्न सामाजिक साथै शैक्षिक संघसंस्थामा समेत जिम्मेवारीमा रहेर सफल कार्य सम्पादन गरिसकेका पौडेल २०४९ को निर्वाचनमा साविक सुरुङ्गा १ को वडा अध्यक्षमा उपबिजेता बनेका थिए । २०४८ देखि साविक सुरुङ्गा शाखा कमिटीको सदस्य साथै वडा नं.१ को पार्टी इन्चार्जको जिम्मेवारी पूरा गरिसकेका पौडेल झापा उद्योगबाणिज्य संघ शाखा सुरुङ्गाको सदस्य, सुरुङ्गा खानेपानीको सचिव, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको कार्यसमिति सदस्य साथै निर्माण समितिको संयोजक समेतको जिम्मेवारीमा रहेर कार्य सम्पादन गरिसकेका छन् ।
नेकपा एमाले साविक सुरुङ्गा गाउँ कमिटीको दुई कार्यकाल अध्यक्ष, सुरुङ्गा गाउँ विकास समितिको संयन्त्र सदस्य साथै वडा नागरिक मन्चको समेत जिम्मेवारीमा रहेर कार्य सम्पादन गरिसकेका पौडेलको कार्य क्षमता र दक्षताकै कारण २०७४ को निर्वाचनमा कनकाई वडा नंं.४ं को वडा अध्यक्षमा निर्वाचित भई कुशल नेतृत्व प्रदान गरेका एक सफल जनप्रतिनिधिका रुपमा परिचित छन् । नगरको पुर्वाधार विकास समितिको संयोजक साथै विभिन्न उपसमितिको संयोजक साथै सदस्य, विभिन्न सामाजिक संघ संस्थामा आबद्ध, नगरपालिकाको निती तथा कार्यक्रम निर्माण, शैक्षिक अवलोकन भ्रमणको नेतृत्व गर्दै नेपाल भ्रमण समेत गरिसकेका पौडेल पार्टी क्षेत्रीय कमिटी सदस्य साथै पटक पटक जिल्ला अधिवेशन प्रतिनिधिको समेत जिम्मेवारी पूरा गरिसकेका छन् ।