कनकाई खबर \ झापाको कनकाई नगरवाट कृषि क्षेत्रको मौसमी प्रशिक्षार्थी कामदारका रुपमा कोरिया पठाएका युवाहरुसँग जोडिएको विवाद नगर क्षेत्रमा क्रियाशिल गठबन्धनका राजनीतिक दलहरुसहितको सहमतिमा भएको निर्णय अनुसार कार्यान्वयन भएको नेकपा एमाले कनकाई नगर कमिटीले जनाएको छ ।
गत मंसिर २ गते कनकाई नगरपालिकामा सर्वदलिय बैठक बसी हस्ताक्षर गरेको निर्णय अनुसार कार्यान्वयन भएको विषयलाई लिएर गठबन्धनका राजनीतिक दलबाट घटनालाई तोडमोड गरी भ्रम फिजाउने काम भएको भन्दै कनकाई एमालेको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।
नेकपा एमाले कनकाई नगर कमिटीले सुरुङ्गामा एक वृहत पत्रकार सम्मेलनको आयोजना गरी प्रेस विज्ञप्ती मार्फत सत्यतथ्य सार्वजनिक गरेको छ । गठबन्धनका दलहरुले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी हिलो छ्याप्ने काम भएको एमाले कनकाईले दावी गरेको छ । जसका कारण आगामी दिनमा समेत कोरिया जान चाहाने कनकाई नगरवासी युवाहरुलाई बाधा पुग्ने एमाले झापा जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज रविन्द्र लम्सालले बताए । कुनै पनि कामको सही र गलत नछुट्याइकन चुनावी मसला छरेर परमादेशबाट बनेको सरकारको गठबन्धन दलहरुलाई जनता आफैले परास्त गर्ने नगर इन्चार्जको तर्क थियो ।
कोरियाको गोहेङ्ग गन जेलानाम डो र कनकाई नगर पालिका बीच सम्झौता भएर कृषि र मत्स्यपालन क्षेत्रमा प्रशिक्षार्थी कामदार पठाउने सहमति भएको थियो । कामदार पठाउन डकुमेन्ट्स तयारी ,भिसा प्रोसेसिङ, मेडिकल जाँच, प्रशिक्षण , पिसिआर जाँच , क्वारेन्टाइन वसाईको ब्यवस्थापन र हवाई उडानको ब्यवस्थापन लगायतका काममा सहयोगी शुशिल मैनालीले सहजीकरण गरेको एमाले कनकाईले जनाएको छ ।
युवालाई कोरिया पठाउने जिम्मेवारी पाएका सहयोगी मैनालीले स्वदेशमा वेरोजगार नगरवासी युवाहरुलाई रोजगारकालागि प्राथमिकता दिएर कोरिया पठाउने काम के अपराध हो त ? भन्दै प्रश्न गरेका थिए । मौसमी प्रशिक्षार्थीका रुपमा कोरिया गएका युवाहरुले सर्तअनुसारको व्यवस्थापनमा लाग्ने आवश्यक खर्च उनीहरु आफैबाट बेहोर्ने सम्झौता भएअनुसार काम सम्पन्न भएको मैनालीले बताए ।
कनकाई नगरपालिकाले युवाहरुलाई कोरिया पठाउने कार्यमा सम्झौता पत्रमा हस्ताक्षर गरी कोरियासँग भगिनी सम्बन्ध स्थापित गर्न खोजेको कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले जानकारी दिए । नगरवासी बेरोजगार युवाहरुलाई कोरियाकालागि प्रक्रिया अघि बढाउँने सन्दर्भमा योजना कार्यान्वयन हुनु अघि नै कनकाई नगरपालिकामा सर्वदलिय बैठक बसी हस्ताक्षर गरेको निर्णय अनुसार कार्यान्वयन भएको नगर प्रमुख पोखरेल बताउँछन् । सर्वदलीय बैठकमा उपस्थित भएका दलिय गठबन्धनका राजनीतिक पार्टीका जिम्मेवार व्यक्तित्वहरु आँफैले हस्ताक्षर गरेको निर्णय अनुरुप भएको कार्यप्रति विरोध जनाउँदै प्रयोग गरेको भाषा शैली सुन्दा आश्चार्य चकित बनाएको पत्रकार सम्मेलनमा नगर प्रमुख पोखरेल जानकारी दिए ।
अपवित्र गठबन्धन गरेका दलहरुले कनकाई नगरवासीलाई दुविधामा पार्ने ,भ्रमको खेती गर्ने फोहोरी खेल खेलिरहेकाले अब सचेत नगरवासी साथै नेकपा एमालेले प्रतिकार गर्ने चेतावनी दिएको कनकाई नगर कमिटीका अध्यक्ष खड्ग प्रसाई साथै नगर कमिटी इन्चार्ज रविन्द्र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कनकाई नगरपालिकाको पहलमा कोरीया गएका १२ जना युवाहरुले भने सामाजिक संजाल मार्फत आँफ्नो धारणा सार्वजनिक गर्दै हाल चर्चामा आएको जस्तो कनकाई नगरपालिकाका प्रमुख पोखरेलको कुनै कमजोरी नभएको बताएका छन् । यस विषयलाई थप राजनीतिकरण नगर्न सम्बन्धित पक्षलाई उनीहरुले आग्रह गरेका छन् ।