बिर्तामोड \ आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम बिर्तामोडमा बुधबारदेखि सुरु भएको छ ।
नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिमको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रिजालले विभेदको सुरुवात जहाँबाट भएको छ, त्यहिँबाट अन्त्य हुनसक्नेमा जोड दिंदै विभेद प्रारम्भको विन्दु खोज्नुपर्ने धारणा राखेका थिए ।
राज्यका संरचनाहरुमा महिला सहभागिताको सुनिश्चितता संविधानले नै गरेको उल्लेख गर्दै रिजालले संख्यात्मक सहभागितासँगसँगै गुणात्मकतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।
उचित समयमा सान्दर्भिक विषय उठेको बताउँदै रिजालले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनले मात्र सही निर्णय दिन सक्नेतर्फ सचेत गराउँदै मतदान गर्दा विवेक पुर्याउन आग्रह समेत गरे ।
तालिममा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्व, सातै प्रदेशका पालिकाहरुमा (निर्णायक ठाउँ)मा महिलाको सहभागिता, निर्वाचन परिणाममा देखिएका केही सवालहरु, तथ्याङ्कमा अब हुने निर्वाचनका विषयमा छलफल भएको थियो ।
त्यस्तै महिलाहरुलाई अघि बढ्नका लागि सञ्चारको भूमिकाका विषयमा समूहगत रुपमा धारणा सार्वजनिक गर्दै उक्त विषयमाथि छलफल भएको निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, पत्रकार सुब्रत न्यौपाने, दिपीन राई, विष्णु मैनाली, खगेन्द्र घिमिरे, विजय बराल लगायतले धारणासहित जिज्ञासा राखेका थिए । तालिममा सहभागी ४० जना भन्दा बढी पत्रकारहरुलाई वरिष्ठ पत्रकार वविता वस्नेतले प्रशिक्षण दिइरहेकी छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीको सभापतित्वमा भएको पहिलो दिनको तालिमको स्वागत तथा औचित्यमाथि उपाध्यक्ष रेजिना गौतमले प्रकाश पारेकी थिइन् । सञ्चालन कोषाध्यक्ष जोस्ना श्रेष्ठले गरेकी थिइन् ।