कनकाई खबर \ नेकपा माओवादी केन्द्र कनकाईले पार्टीका युवा नेता प्रदिप उप्रेतीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ ।
पार्टीको कारवाहीमा परेका कनकाई ५ निवासी युवा नेता उप्रेतीले आँफूलाई भएको कारवाही माओवादी पार्टीको कमजोर मानसिक्ताको उदाहरण भएको दावी गरेका छन् । मुलुकको परिवर्तनकालागि भएका सबै किसिमका आन्दोलनमा नेकपा माओवादी केन्द्रको एक जिम्मेवार कार्यकर्ताको हैसियतमा कहिले विद्यार्थीको रुपमा त कहिले वाइसिएलको विभिन्न जिम्मेवारीमा रहेर शसक्त भूमिका निर्वाह गर्दै आएका उप्रेतीले माओवादी पार्टीबाट भएको कारवाही आँफैमा कुण्ठा भरिएको मानसिक्ताको ज्वलन्त उदाहरण भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटीले गरेको यो निर्णय पार्टीलाई थप शसक्त र अनुशासीत बनाउँन चाहने युवाहरुमाथि प्रहार भएको भन्दै युवा नेता उप्रेतीले अबको स्थानीय निर्वाचनमा यसको परिणाम पार्टीले नराम्ररी भोग्नु पर्ने बताए ।
वाइसिएलको प्रदेश कमिटी साथै हाल नेकपा माओवादी केन्द्र कनकाई ५ को वडासचिव समेत रहेका युवा नेता उप्रेतीले स्थानीय साथै राष्ट्रिय राजनीतिमा समेत माओवादी केन्द्रका नेताले खेलेको भूमिकाप्रति असन्तुष्टी पोख्दै आएका थिए । कारवाहीमा परेका उप्रेतीले पार्टीका अन्य नेताले पार्टी भित्रै बसेर पार्टी हित विपरित गतिविधि गर्दा समेत सम्मानजनक व्यवहार भएकोमा आफूले फरक विचार राख्दै आएको प्रतिक्रिया दिए । पार्टीले रोजेको यस्तो अराजक गतिविधिको बाटोमा आफू हिड्न नसक्नके भएपछि उत्पन्न असहज परिस्थितीका कारण कारवाहीको प्रक्रिया अघि बढेको हुन सक्ने आफ्नो बुझाई रहेको उप्रेती बताउँछन् ।
पार्टीको कनकाई नगर कमिटी अध्यक्ष यामनाथ सेडाई र सचिव विष्णुप्रसाद बिमलीले एक विज्ञप्ति जारी गर्दै उप्रेतीले प्रतिगामी पक्षलाई सहयोग पुग्नेगरी काम गरेको र पार्टीलाई असहयोग गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको बताइएको छ ।