कनकाई खबर \ झापाको दमकमा प्रधान कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कनकाई ३ स्थित सुरुङ्गामा समेत सेवा केन्द्र संचालनमा ल्याएको छ ।

संस्थाको १३ औ स्थापना दिवसको अवसर पारेर सुरुङ्गा बजारमा स्थापना गरेको सेवा केन्द्रको विधिवत रुपमा उद्घाटन गरिएको हो । केही महिना अघिदेखि नै सेवा प्रारम्भ गरेको भएपनि विहिबार एक विशेष समारोहका विच कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले रिवन काटेर सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । सुरुङ्गा लगायत आसपासको क्षेत्रमा मात्र ७ सय बढी शेयर सदस्य भइसकेको यस सहकारीका कुल शेयर सदस्य संख्या १० हजार बढी रहेको बताइएको छ । विधिवत रुपमा सेवा केन्द्र संचालन हुनु अघि नै यस क्षेत्रमा ६ करोड ६० लाख बराबरको कारोबार गरीसकेको स्वर्णलक्ष्मीले ६ करोड बढी ऋण लगानी गरिसकेको सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिए । सेवा केन्द्र संचालनको प्रारम्भमै ७० लाख बढी शेयर पुँजी बनाएको सुरुङ्गा सेवा केन्द्रले बचत निक्षेप तर्फ भने ८५ लाख बनाएको केन्द्र प्रमुख घिमिरे बताउँछन् ।
संस्थाका अध्यक्ष रवि न्यौपानेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा सहकारीका व्यवस्थापक कमलप्रसाद घिमिरेले संस्थाले १३ बर्षमा प्राप्त गरेको प्रगति र सेवा सुविधाका वारेमा जानकारी दिएका थिए । दमकमा प्रधान कार्यालय रहेको यस संस्थाको सुरुङ्गासँगै झिलझिले, गौरादह र उर्लावारीमा समेत सेवा केन्द्र संचालनमा ल्याइसकेको बताइएको छ ।
बन्द निषेधित क्षेत्रका रुपमा रहेको धार्मिक तथा पर्यटकीय नगरी कनकाईको सुरुङ्गा क्षेत्र वित्तिय संस्थाहरुकालागि उर्वर भूमी भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथी कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाले स्वर्णलक्ष्मी साकोसलाई सुरुङ्गामा स्वागत गरे । समाज रुपान्तरणमा सहकारी संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथी चिमरीयाले कृषि तथा व्यपार व्यवसायका क्षेत्रमा सहकारी संस्थाहरुको सहकार्य उल्लेखनीय रहेको प्रष्ट पारे ।
संस्थाका सचिव वुद्धिसागर बरालको स्वागत साथै व्यवस्थापक कमलकुमार घिमिरेको संचालन रहेको कार्यक्रममा भगवती साकोस सुरुङ्गाका अध्यक्ष खेम प्रसाई, कनकाई उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष अर्जुन बोहोरा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।