
राम निरौला |
सुरुङ्गा / “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने मूल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको चौथो वृहत झापा जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधी कनकाई खेलकुद प्रतिष्ठानले हात पारेको छ ।
शुक्रवार सम्पन्न प्रतियोगिताको फाइनल खेल कनकाई खेलकुद प्रतिष्ठान र शिवसताक्षी नगरपालिकाको महिला फुटवल क्लव विच भएको प्रतिस्पर्धात्मक प्रतियोगिताको निर्धारित समयमा खेल वरावरीमा टुङ्गीएपछि खेलको ट्राइवेकरमा १–४को फराकिलो अन्तरले कनकाई खेलकुद प्रतिष्ठान विजयी भएको हो ।
विजेता टिमलाई प्रतियोगिताका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद पुरस्कार रु.६० हजार, मेडल र प्रमाण पत्र वितरण गरेका छन् । त्यस्तै दोस्रो पुरस्कार प्राप्त गर्ने शिवसताक्षीलाई कनकाई नगरकी उपप्रमुख मन्जु प्रसाईँले ४० हजार नगद, मेडल र प्रमाण पत्र वितरण गरेकी छन् ।

प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडी विजेता कनकाई खेलकुद प्रतिष्ठानकी गंगा राईलाई नगद रु.५ हजार प्रदान गरिएको छ । नगद रु.५ हजारको प्रायोजन मूल समिति संयोजक अम्विका खरेलले गरेकी हुन् । फाइनल खेलको म्यान अफ द म्याच कनकाई खेलकुद प्रतिष्ठानकी आशा श्रेष्ठ घोषित भएकी छन् भने उनले नगद पुरस्कार रु.१ हजार प्राप्त गरेकी छन् ।
म्यान अफ द म्याचको प्रायोजन स्थानीय खेल प्रेमी कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीले गरेका थिए । त्यस्तै प्रतिष्ठानलाई स्थानीय खेलप्रेमी रेवत गौतमवाट एउटा फुटवल सौजन्य प्राप्त भएको वताइएको छ । प्रतियोगीताको मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाले गरेको हो ।

नारी दिवसको अवसर पारेर सम्पन्न भएको प्रतियोगिताको विशेष समारोहमा सामाजिक व्यक्तित्व एवम् पूर्व संविधान सभा सदस्य प्रेमवहादुर गिरीलाई विशेष सम्मान गरिएको छ । प्रतिष्ठानको स्थापना कालदेखी नै विविध गतिविधिमा पुर्याएको योगदानको उच्च मुल्याङ्न गर्दै गिरीलाई सम्मान पत्रका साथ विशेष सम्मान गरीएको प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेतीले वताएका छन् ।
कनकाई माविको खेलमैदानमा यहि फागुन १८ गतेदेखी संचालन भएको प्रतियोगितामा झापा जिल्लाका आठवटा टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा आयोजक कनकाई खेलकुद प्रतिष्ठानको महिला टिम सहित झापा गाउँपालिका, दमक नगरपालिका, हल्दीवारी गाउँपालिका, जयुन क्लव विर्तामोड, जुनतारा स्पोर्टिङ क्लव खुदुनावारी, पारिजात महिला एफसी सालवारी र शिवसतासी नगरपालिकाको टिम रहेको वताइएको छ ।वडा साथै नगरपालिका स्तरीय फुटवल, भलीवल, क्रिकेटका प्रतियोगिता यस अघिका वर्षहरुमा सफलतापूर्वक सम्पन्न गरिसकेकोे प्रतिष्ठानका सदस्य एवम् प्रतियोगिताको आर्थिक समिति संयोजक विनोद रानामगरले वताएका छन् ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्व रहेको समापन कार्यक्रममा प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, पूर्व सांसद अम्विका राजवंशी, जिल्ला फुटवल संघ झापा अध्यक्ष भगिरथ आले लगायतले मन्तव्य राखेका थिए । खेल संयोजक अम्विका खरेलले स्वागत मन्तव्य राखेको औपचारिक कार्यक्रमको संचालन सचिव दिननाथ खतिवडाले गरेका थिए ।
