कनकाई खबर \ झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले तथ्य कुराको विश्लेषण गरेर मात्र समाचारको विषय बनाउनु पर्नेमा जोड दिएका छन् ।
मौसमी कृषि प्रशिक्षार्थीका रुपमा १३ जना नगरवासीलाई दक्षिण कोरिया पठाएको बिषयलाई लिएर चरित्र हत्या गर्ने गरीको तथ्यहिन समाचार बाहिर आएको भन्दै कनकाई नगर प्रमुख पोखरेलले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो कुरा बताएका हुन् । ।
गलत हल्ला चलाएर चरित्र हत्या गर्न खोजिएको भन्दै नगर प्रमुख पोखरेलले आपत्ति जनाएका छन् । भगिनी सम्बन्ध विकास हुन खोजिरहेको अवस्थामा भ्रामक समाचारले कनकाई र कोरियाको नगरपालिकावीचको सुमधर सम्बन्धमा दरार पैदा गर्न सक्ने भन्दै दोस्रो, तेस्रो लटमा जान तयार रहेका किसाानको सपनामा समेत असर पु¥याउने बताइएको छ । डकुमेन्टेसन, भिजा प्रोसेसिङ, प्लेन भाडा, मेडिकल खर्च, बिमा खर्च, सीप तथा भाषा सम्बन्धी अभिमुखीकरण खर्च, पीसीआर तथा दक्षिण कोरिया पुगेपछि लाग्ने क्वारिन्टिन खर्च र कोरियामा गरिने मेडिकल खर्च सबै किसान स्वंयले नै बेहोर्ने गरी अग्रिम सम्झौता भएको समेत गर प्रमुख पोखरेलले जानकारी दिए
स्थानीय तह निर्वाचनको मिति तय भइसकेको अवस्थामा कुप्रचार गरेर प्रतिष्ठामा धुलो र हिलो छ्याप्ने दुस्प्रयास भएको भन्दै नगरप्रमुख पोखरेलले दुःख व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचन हुने मिति तय भएको अवस्थामा चुनावप्रति लक्षित गरि तिललाई पहाड बनाएर प्रतिष्ठामा धुलो र हिलो छ्याप्ने काम भएको नगर प्रमुख पोखरेलको ठहर छ ।
कनकाई नगरपालिकाले कृषकहरुको ज्ञान र सीप विकासका लागि दक्षिण कोरियाको गोहेङ्गुन पालिकासँग सम्बन्ध कायम गरी मौसमी कृषि प्रशिक्षार्थीको रुपमा पठाउने निर्णय गरेको नगर प्रमख पोखरेलले बताए । दक्षिण कोरियामा प्राप्त ज्ञान र सीपको अधिकतम् उपयोग नेपालमा गरी कृषकहरुको आय आर्जन बढाउने उद्धेश्यले पहिलो चरणमा कनकाईका १३ जना कृषकहरु छनौट भएका थिए । कनकाईबाट छनौट भएका १३ जना र फक्ताङ्लुङ् ताप्लेजुङका ३ जना गत मंसिर २९ गते दक्षिण कोरिया गएको पोखरेलले जानकारी दिए । कनकाईबाट गएका मध्ये कनकाई ८ का दिनेश न्यौपाने, दक्षिण कोरियामा दुईपटक गरिएको स्वास्थ्य परिक्षणमा अयोग्य ठहर भएर कानूनी कारबाही भोग्नु पर्ने परिस्थिती सिर्जना भएपछि न्यौपानेको परिवार, दक्षिण कोरियामा रहेका नेपालीहरु र कनकाई नगरपालिकाको सहयोगमा न्यौपानेलाई स्वदेश फिर्ता ल्याइएको पोखरेलले बताए ।
तर, न्यौपाने स्वदेश फिर्ता आएपछि भ्रम सिर्जना हुने खालका सूचना दिएको भन्दै नगरप्रमुख पोखरेलले दुःख व्यक्त गरे । नगरमा क्रियाशिल नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशिल साझा पार्टी, जनता समाजवादी पार्टीबिच भएको सहमति अनुसार नगरपालिकाले दक्षिण कोरिया जान लाग्ने टिकट, क्वारेण्टाइन, विमा लगायतका सम्पूर्ण खर्च कृषकले व्यहोर्ने र भिषा प्रक्रियाका लागि मात्र नगरपालिकाले सहजीकरण गर्ने निर्णय अनुसार नै कृषकलाई पठाइएको अवस्थामा न्यौपानेले ३ लाख ८० हजार रुपैँया तिरेको र ३ लाख नगरपालिकाले हिनामिना भएको भन्दै लगाएको आरोपमा कुनै सत्यता नरहेको पोखरेलले प्रष्ट्याएका छन् ।
नगरप्रमुख पोखरेलले खोप कार्ड र श्रम स्वीकृतिको क्षेत्र नगरको नभएको भन्दै त्यसको जवाफ नगरपालिकाले दिन नसक्ने बताएका छन् ।
असल नियतका साथ काम गर्ने शिलशिलामा भएका कमीकमजोरीलाई लिएर गरिएका सिर्जनात्मक टिप्पणी र आलोचना शिर झुकाएर स्वीकार गर्ने जनाउँदै नगरप्रमुख पोखरेलले ध्वंशात्मक र गलत नियतका साथ गरिएका आलोचना आफ्नो लागि त्याज्य हुने बताएका छन् ।