कनकाई खबर \ नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाले कनकाई नगर क्षेत्रका ५० जना जेष्ठ नागरिकको संकलन गरिएको रगतको रिपोर्ट सम्बन्धित जेष्ठ नागरिकलाई हस्तान्तरण गरेको छ ।
जेष्ठ नागरिक संघ कनकाई नगर समिति सहआयोजक रहेको कार्यक्रममा मुटु रोगसँग सम्बन्धित लिपिड प्रोफाएल परिक्षणकोलागि दुई दिन अघि कनकाई ७ स्थित जेष्ठ नागरिक भवनमा रगत संकलन गरिएको थियो । प्रतिष्ठानका निवर्तमान अध्यक्ष समेत रहेका डा.सि.पी. यादवले रगत परिक्षणको रिपोर्ट जेष्ठ नागरिक भवनमै आएर दिएका हुन् ।
कार्यक्रमबाट ५० जनाको रगत संकलन गरिएको जेष्ठ नागरिक संघ कनकाईका सचिव शम्भुप्रसाद पोखरेलले जानकारी दिए । जसको परिक्षणबाट ५० प्रतिशतको रिपोर्टमा केही समस्या देखिएकोले आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको जेष्ठ नागरिक संघका सचिव पोखरेलले बताए ।
रिपोर्ट राम्रो देखिएका अन्य जेष्ठ नागरिकहरुलाई समेत मुटु रोग विशेषज्ञ समेत रहेका डाक्टर सि.पी. यादवले कसरी मुटुलाई स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा आवश्यक परामर्श दिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले बताए । स्वास्थ्यको पहुँचबाट टाढा रहेका ग्रामिण समुदायका जेष्ठ नागरिक, वालवालिका साथै विपन्न समुदायलाई लक्षित गरेर आगामी दिनमा समेत स्वास्थ्य परिक्षणका साथै स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष पोखरेलले जानकारी दिए । प्रतिष्ठानका सचिव लुवराज उप्रेतीसहित अन्य पदाधिकारी, जेष्ठ नागरिक संघका प्रतिनिधि, संचारकर्मीसहितको उपस्थितीमा संकलन गरिएको रगतको रिपोर्ट सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको बताइएको छ ।
प्रतिष्ठानका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व एवम् प्रेस चौतारी नेपाल प्रदेश नं. १ का कार्यसमिति सदस्य पत्रकार रामप्रसाद निरौलाको प्रमुख आतिथ्य रहेको एक विशेष कार्यक्रमका विच दुई दिन अघि मात्र रगत संकलन गरिएको थियो ।