कनकाई खबर \ नारी दिवसकै अवसरमा रोटरी क्लव अफ सुरुङ्गाले विपन्न श्रमिक महिलालाई नगदसहित खाद्य सामाग्री सहयोग गरेको छ ।
रोटरीले कनकाई ३ सुरुङ्गास्थित आफ्नै कार्यालयमा श्रमिक महिलालाई उपस्थित गराएर कनकाई ४ निवासी निर्माण मजदुर बड्की मुर्मु र कनकाई ३ निवासी अनिता मुर्मुलाई नगद सहित खाद्य सामाग्री वितरण गरेको रोटरी क्लव सुरुङ्गाका निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले जानकारी दिए ।
काम गर्ने सिलसिलामा गत वर्ष नै लडेर हात भाँचीएकी निर्माण मजदुर बड्की मुर्मुको हातमा स्टिल लगाएका कारण हाल बिहान बेलुकाको छाक टार्न समेत धौ धौ पर्ने गरेको बताइएको छ । त्यस्तै श्रीमानले अर्की श्रीमति लिएर अन्तै हिँडेपछि बेसहारा बनेकी अनिता ज्याला मजदुर गरेरै भएपनि आफ्नी सानाी छोरीलाई हुर्काउदैछिन् । रोटरी क्लवका तर्फबाट प्राप्त चामल, दाल नुन, तेल लगायतका खाद्य सामाग्रीले ठूलो राहत मिलेको उनीहरु बताउँछन् ।
क्लवका अध्यक्ष सुशिल श्रेष्ठको सभापतित्वमा सम्पन्न सहयोग सामाग्री वितरण कार्यक्रममा नगद सहित खाद्य सामाग्री लगायतको सौजन्य रोटरी क्लवका उपाध्यक्ष डिल्लीराम र रेणुका मैनालीले गरेको बताइएको छ । कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले नारामा मात्र सिमित नराखी महिला र पुरुषमा व्यवहारिक रुपमै समानता ल्याउँन सकेमा मात्र नारीप्रतिको सच्चा सम्मान हुने बताए । क्लवकी सचिव सरला दहाल पोखरेलले सहजीकरण गरेको कार्यक्रममा दाता डिल्लीराम मैनालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।