कनकाई खबर \ झापाको सुरुङ्गामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सरकार गम्भीर नभएको भन्दै आक्रोस पोखेका छन् ।
राज्यको समान नागरिकका छोराछोरीले सामुदायिक वा संस्थागत विद्यालयमा पढेकै आधारमा पाउने सुविधामा विभेद भएको भन्दै सहभागीहरुले स्थानीय सरकारप्रति आक्रोस पोखेका हुन् । संस्थागत विद्यालयहरुको संगठन प्याव्सन कनकाई नगर समितिले आयोजना गरेको ‘शिक्षामा संस्थागत विद्यालयको भूमिका तथा समुदायको दृष्टिकोण’ विषयक अन्तरक्रियासहितको शैक्षिक व्यक्तित्व सम्मान कार्यक्रमका सहभागीहरु सरकारको विभेदप्रति आक्रोसित बनेका हुन् ।

शिक्षामा सुधार सहितको विकासका निम्ति २०३६ सालको विद्यार्थी आन्दोलन र त्यसले उब्जाएका अनकौँ शैक्षिक सवाललाई थेग्न नसक्ने अवस्था सिर्जना भएपछि राज्यले नै आह्वान गरेअनुसार संस्थागत विद्यालयहरु संचालनमा आएको विद्यालयका संचालकहरु बताउँछन् । राज्यबाटै अनुमति प्राप्त भई संचालनमा आएका संस्थागत विद्यालयलाई राज्यको निकायबाटै विभेद गरिनु ठूलो अन्याय भएको ठहर गर्दै सरकारको गम्भिर ध्यानाकर्षण हुनु पर्ने तर्फ जोड दिइएको छ ।
कार्यक्रममा प्याव्सन कनकाई नगर समितिका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्दै प्याव्सन नगर अध्यक्ष विनोद सुव्वाले शिक्षा प्रदायक संस्थागत विद्यालयहरुलाई अन्य व्यवसाय सरह २५ प्रतिशत लाभकर लिइनु अन्यायपूर्ण भएको बताएका छन् । त्यस्तै विद्यालय र विद्यार्थी संख्याको हिसाबले संस्थागत विद्यालयहरुको संख्या ठुलो भएता पनि स्थानीय तहका शिक्षा समितिहरु तथा शैक्षिक नीति निर्माणमा संस्थागत विद्यालयहरुको नगण्य प्रतिनिधित्व गराउँनुलाई विभेदको रुपमा महसुस भएको प्याव्सन अध्यक्ष सुव्वा बताउँछन् ।
प्याव्सन नगर अध्यक्ष सुव्वाको सभापतित्व एवम् संघीय सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विकासप्रेमी नेताका रुपमा मानिएका सांसद साँवाले समेत संस्थागत विद्यालयमा भएको विभेदका विषयमा सम्बोधन नगरी उनले विषयवस्तु मोडेको भन्दै आयोजक समिति असन्तुष्टी बनेको बताइएको छ । सांसद साँवाले समाज परिवर्तनको सम्बाहकका रुपमा रहेका शैक्षिक व्यक्तित्वहरुले समाजमा रचनात्मक भूमिका खेल्नु पर्ने तर्फ जोड दिएका थिए । शैक्षिक व्यक्तित्वहरुले समुदायको दृष्टिकोण खोज्ने भन्दा पनि समाज रुपान्तरणकालागि सकारात्मक ढङ्गले नेतृत्वदायी भूमिकामा अघि बढ्नु पर्ने आजको आवश्यक्ता रहेको सांसद साँवाले बताएका थिए । संस्थागत विद्यालयहरु आफ्नै तरिकाले व्यवस्थित बन्दै आएको टिप्पणी गर्दै सांसद साँवाले राज्यले समेत गर्न नसकेको काम निजी विद्यालयहरुबाट भइरहेको अवस्थामा अब सरकारको बाटो हेर्नुको कुनै औचित्य नरहेको प्रतिक्रिया दिए ।
कार्यक्रममा कनकाई नगर शिक्षा शाखाका प्रमुख पिताम्बर गौतमले संस्थागत विद्यालयहरुबाट सरकारलाई समेत सहयोग पुग्नेगरी भएको कार्यप्रति स्थानीय सरकार समेत प्रभावित भएको बताए । शिक्षा शाखा प्रमुख गौतमले सरकारबाट बालबालिकाको क्षेत्रमा कुनै विभेद नगरेको बताउँदै स्थानीय सरकारबाट संस्थागत विद्यालयहरुलाई समेत धेरै कार्यक्रममा समेटेको जानकारी दिए । संस्थागत विद्यालयका बालबालिकाहरुलाई समेत लक्षित गरेर आगामी दिनमा थप योजनाका कार्यक्रमहरु संचालन गरिने गौतमले आश्वासन दिए ।
अन्तरक्रिया कार्यक्रममा प्याव्सन झापाका पुर्व अध्यक्ष एवम् वर्तमान समितिका प्रमुख सल्लाहकार एलपी उप्रेतीले सामुदायिक विद्यालयका वालवालिकालाई सरकारले दिने सुविधा संस्थागत विद्यालयका विद्यार्थीले समेत पाउँनुपर्ने तर्फ जोड दिए । विद्यालयमा अध्ययनरत छात्राहरुकालागि अतिआवश्यकीय स्वास्थ्य सामाग्री स्यानेटरी प्याड लगायतका सामाग्री वितरणमा समेत विभेदकारी नीति लिइनु न्यायोचित नभएको भन्दै प्रमुख सल्लाहकार उप्रेतीले यस तर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु पर्ने बताए । प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोले संस्थागत विद्यालय तर्फ पनि सरकारको दृष्टि सकारात्मक भइदिए समाज रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीका तर्फबाट कनकाई वडा नं.—९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशी, सामाजिक अभियन्ता ओम पाठक र लिलाप्रसाद चिमरीया साथै विद्यार्थी नेता राजेन्द्र उप्रेती लगायतले शैक्षिक क्षेत्रमा असल संस्कारको विकास गर्न स्थानीय सरकार सकारात्मक बन्नु पर्ने तर्फ जोड दिए । शैक्षिक वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउँने कार्यमा नीजि विद्यालयको भूमिका महत्वपूर्ण भएको ठहर गर्दै राज्यले पूर्ण रुपमा निःशुल्क शिक्षा घोषणा गरेको सामुदायिक विद्यालयहरुले विभिन्न शिर्षकमा शुल्क लिएर वालवालिकामा ठूलो अन्याय गरेको भन्दै सहभागीका तर्फबाट चिन्ता व्यक्त गरिएको छ ।
कनकाई—३, सुरुङ्गास्थित होटल क्विनको सभा हलमा सम्पन्न कार्यक्रममा संस्थागत विद्यालयका संचालक, प्याब्सन नगर, जिल्ला साथै प्रदेश समितिका समेत विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी, अभिभावकसहितको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कनकाई नगर प्याव्सनका कोषाध्यक्ष विनोद उप्रेतीले स्वागत गरेको औपचारीक कार्यक्रमको संचालन सचिव मोहन थापाले गरेका थिए ।