कनकाई खबर \ कनकाई नगर खेलकुद विकास समितीद्वारा आयोजित वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको विहिवार भएको अन्तिम सेमिफाइनल खेलबाट वडा नं ३ ले फाइनलको यात्रा तय गरेको छ ।

वडा नं.२ सँग भएको प्रतिष्पर्धात्मक खेलमा वडा नं. ३ ले १ का विरुद्ध २ गोल गरी फाइनलमा प्रवेश गरेको हो । खेलमा वडा नं. ३ का खेलाडी विशाल किस्कु (मेक्स) म्यानअफ द म्याच घोषित भए । उनलाई खेल संयोजक गोविन्द उप्रेतीले म्यानअफ द म्याचको पुरस्कार दिएका थिए । त्यस्तै उपविजेता टिमलाई समेत सान्त्वना पुरस्कार नगद रु.५ हजार पूर्व खेलाडी लिलु गिरीले हस्तान्तरण गरे ।
शुक्रबार वडा नं ५ र वडा नं. ३ बिच फाइनल खेल संचालन हुने खेल संयोजक उप्रेतीले जानकारी दिए । सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई दिउँसो २ः३० बजेदेखि फाइनल खेल संचालन हुने आयोजक समितिले जनाएको छ ।
विजया दशमीको अवसरमा गत असोज १७ मा उद्घाटन भई २५ गते समापन हुने गरी संचालन भएको प्रतियोगिताको अन्त्यतिर प्राविधिक कारणले खेल स्थगित हुन पुगेको थियो । त्यसपछि चाडपर्व समापनसँगै कोरोना कहरका विच केही समय ढिला हुन गएको भएपनि बाँकी खेललाई संचालन गरेर समापन गर्ने तयारीमा आयोजक समितिले सक्रियता देखाएको खेल संयोजक उप्रेतीले जनाएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५ \ ५ हजार नगद प्रदान गरिने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिए ।