कनकाई खबर \ कनकाई नगर खेलकुद विकास समितिले यस अघि स्थगीत गरेको वडास्तरीय फुटवल प्रतियोगिताको बाँकी रहेको खेललाई निरन्तरता दिने भएको छ ।
विजया दशमीको अवसरमा गत असोज १७ मा उद्घाटन भई २५ गते समापन हुने गरी संचालन भएको प्रतियोगिताको अन्त्यतिर प्राविधिक कारणले खेल स्थगित हुन पुगेको थियो । त्यसपछि चाडपर्व समापनसँगै कोरोना कहरका विच केही समय ढिला हुन गएको भएपनि बाँकी खेललाई संचालन गरेर समापन गर्ने तयारीमा आयोजक समितिले सक्रियता देखाएको खेल संयोजक गोविन्द उप्रेतीले जनाएका छन् ।
सो अवसरमा स्थगीत भएको खेल पुनः संचालनकालागि नगर खेलकुद विकास समितिको वैठकले यहि फागुन १२ गते विहिबार र १३ गते शुक्रवारलाई खेल संचालनको तयारी गरेको जनाएको छ । नगर खेलकुद विकास समितिका सदस्य एवम् खेल संयोजक उप्रेतीले दिएको जानकारी अनुसार बाँकी रहेको वडा नं.२ र वडा नं.३ का विच विहिबार सेमिफाइनल खेल हुने भएको छ । सेमिफाइनलको विजेता टिमले यस अघि नै फाइनलको यात्रा तय गरेको वडा नं.५ सँग शुक्रवार फाइनल खेल खेल्ने भएको छ । कनकाई माविको खेल मैदानमा दिउँसो ठीक ३ वजेदेखी संचालन हुने प्रतियोगितामा उपस्थितीकालागि आयोजक समितिले सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई अपिल गरेको आयोजक समिति कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्सालले जनाएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५ \ ५ हजार नगद प्रदान गरिने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिए । प्रतियोगितामा कनकाई नगर क्षेत्रका ९ वटा वडाले सहभागिता जनाएका थिए ।