कनकाई खबर / नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभापतिमा पुनः सुन्दरलाल गणेश सर्वसम्मत चयन भएका छन् ।
उपशाखाको सभाहलमा मंगलबार सम्पन्न पाँचौं साधारण सभा तथा दोस्रो अधिवेशनबाट सुन्दरलाल गणेश दोस्रो कार्यकालकालागि पुनःसभापतिमा सर्वसम्मत चयन भएका हुन् । यस अघि रेडक्रस कुमरखोदको एक कार्यकाल सभापतिको सफल जिम्मेवारी पूरा गरिसकेका गणेश शिक्षण सेवाबाट अवकाश प्राप्त डिल्लीराज माविका पुर्व प्रधानाध्यापक समेत हुन् । शिक्षण सेवामा ३५ वर्ष विताइसकेका गणेश उमेर हदका कारण २०६९ देखि शिक्षण पेशाबाट अवकाश भई त्यसपछिका दिनहरुमा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताइएको छ ।
समाजसेवी गणेशको नेतृत्वमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन भएपनि आधिकारीक घोषणा हुन भने बाँकी रहेको बताइएको छ । रेडक्रसको विधानअनुसार निर्वाचन अधिकृतका रुपमा जिल्लाबाट खटिएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका कोषाध्यक्ष हेम खड्काको सहजीकरणमा कार्यसमिति सर्वसम्मत चयन भएको बताइएको छ । नवनिर्वाचित कार्यसमितिको आगामी फागुन ४ गते हुने औपचारीक कार्यक्रमका विच घोषणा हुने बताइएको छ ।
सभापतिमा गणेशसँगै उपसभापतिमा कल्पना खड्का, सचिवमा पशुपतिलाल गणेश, कोषाध्यक्षमा लख्खीकुमारी गणेश, उपसचिवमा जगन्नाथ पौडेल, उपकोषाध्यक्षमा कलाम शेख चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः मिथिलेशकुमार गणेश, चेतना विश्वकर्मा, प्रदिप गणेश, नुनुवा टुडु, गिरीधारीप्रसाद सिंह चयन भएको बताइएको छ ।
उपशाखा सभापति सुन्दरलाल गणेशको सभापतित्व एवम् झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा गाउँपालिकाको वडा नं.१ का वडाअध्यक्ष राजकुमार यादव, वडा नं.२ का वडाअध्यक्ष नेत्रवहादुर खड्का, नेरेसो प्रदेश नं.१ का कोषाध्यक्ष ओमप्रकाश गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपकोषाध्यक्ष कल्पना खड्काले स्वागत गरेको कार्यक्रमको संचालन सचिव पशुपतिलाल गणेशले गरेका थिए ।