सिएम शर्मा,
कनकाई खबर / कनकाई नगर क्षेत्रमा क्रियाशिल टोलविकास संस्थाहरु मध्येको कनकाई ४ स्थित शान्ती टोल विकास संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
स्थानीय सरकार वडा समिती मातहतको टोल समिति देशभरका सबै वडामा गठन भइसकेको भए पनि सबै टोल समितिहरु क्रियाशिल नभइरहेको अवस्थामा शान्ती टोलको साधारण सभालाई महत्वका साथ हेरिएको छ । टोल समितीको आफ्नो काम, कर्तब्य र क्षेत्राधिकार नबुझेर कतिपय वडामा औपचारिक्ता पूरा गर्न जनप्रतिनिधिले टोल समिति गठन गरेका कारण धेरै टोल समितिहरु निष्क्रिय नै देखिन्छन् ।

धेरै टोल समितिहरु नाम मात्रका भए पनि केही टोल समितिले भने सक्रियता देखाउदै आफ्नो क्षेत्राधिकार भित्र रहेर समितिको काम र कर्तव्यबोध गर्दै उदाहरणीय काम पनि गरेका छन । यस्तै उदाहरणीय काम गर्नेमा झापाको कनकाई— ४ मा रहेको शान्ति टोल विकास समिति रहेको बताइएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आइसकेपछि २०७६ फागुन १२ गते कनकाई ४ की वडा सदस्य देवीमाया दाहालको अध्यक्षता साथै वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलको आतिथ्यमा सम्पन्न शान्ति टोलवासीको भेलामा अग्रज , बुद्धिजीवी , सेवानिवृत शिक्षक दुर्गाप्रसाद चापागाईंलाई नेतृत्व प्रदान गर्दै ९ सदस्यीय टोल समिति गठन प्रक्रिया पूरा भएको थियो ।
टोल समिति गठन लगत्तै समितिले टोल विकासका योजनाहरु ल्याउन नपाउँदै विश्वभरी फैलिएको कोरोना महामारी त्रासको चपेटामा रहँदै यस विषम परिस्थितिमा पनि समितिले स्वास्थ्य मापदण्ड अपनाउदै वडा र नगरबाट आएको निर्देशन पालना गर्दै घरघरमा मास्क बितरण साथै अति बिपन्न परिवारलाई सरकारले दिने राहातकोलागि छनौट गररे सिफारिस गर्ने जस्ता कर्यहरुमा सरिक हुँदै पाइला अगाडि सार्न सुरु गरेको बताइएको छ ।
फलस्वरूप टोल समितिले कोभिड महामारीसंग जुद्धै संस्था संचालनका लागि आवाश्यक विधान वनाई २०७७ श्रावण ३२ गते शान्ति टोल विकास संस्थाको नामबाट दर्ता प्रक्रिया समेत पूरा गरेको बताइएको छ ।
संस्थाले टोलमा आएका अनेकौं चुनौतीहरुको सामना गर्दै टोल विकासको लागि अहोरात्र समय दिँदै २०७८ माघ २१ गते शुक्रबार टोल परिसर भित्रै रहेको श्री कृष्ण परोपकार संस्थाको भवनमा पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
सभामा समितिका अध्यक्ष दुर्गाप्रसाद चापागाईंले तयार पारेको अध्यक्षको प्रतिवेदन कारणवस चापागाईंको उपस्थिति हुन नसके पछि संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष भवानी शंकर निरौलाले प्रस्तुत गरेका थिए ।
संस्थाले हालसम्म नगर र वडाबाट आएका निर्देशन पालना गर्दै आफ्ना विकासका धेरै योजनाहरु सम्पन्न गरेको छ । यसै क्रममा भुमिहिन, सुकुम्बासी , अव्यवस्थित बसोबासको डाटा संकलन गरी वडामा पठाउँने, घर नं. छुटेको डाटा, वैदेशिक रोजगारीमा रहेकाको यथार्थ तथ्यांक र विवरण संकलन गरी वडामा पठाउँने काम भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै टोल भित्रको शैक्षिक गतिविधि र तथ्यांक संकलन , जेष्ठ नगरिक साथै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको तथ्यांक संकलन , अपाङ्ग अशक्तहरुको तथ्यांक संकलन गरिएको बताइएको छ । कृषकहरुलाई आवश्यक मल , बीउ ,औषधि लगायत अति आवश्यक चिजहरुको डाटा संकलन गरी वडामा पुर्याउने काम भएको बताइएको छ । वडाबाट प्राप्त बिउबिजन सबै टोलवासिलाइ वितरण गरिएको साथै आवश्यकता अनुसार विद्युत पोल समेत माग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी टोलमा रहेका बाटाहरुको रुपरेखा लगभग सम्पन्न भइ केही बाटाहरुले सरकारी मापदण्ड पूरा गरेको र केही पूरा गर्ने प्रक्रियामा रहेको बताइएको छ । साथै अन्य बाटाहरु स्तर उन्नतिमा पहल गरि क्रमश स्तर उन्नति गर्ने कार्य गरिदै आएको र शान्ति मार्ग १ लाई नगर संगको ७०÷३० को साझेदारीमा २ सय ४४ मिटरमा ब्लक लगाउने काम भइरहेको पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
शान्ती टोललाई उज्यालो टोल बनाउने योजनाले टोल भरी ७० थान सडक बत्ती जडान गरि टोल उज्यालो अभियान चलाएको बताइएको छ । त्यस्तै निरन्तर मर्मत सम्हार गर्दै कसरी दिगो वनाउन सकिन्छ भन्ने बिषयमा समेत टोल समिति गम्भीर रहेको बताइएको छ । टोलमा आवश्यक हेमपाईपको अपवाद बाहेक परिपुर्ति गरिएको , साथै टोलमा हुनेगरेका समस्याको समाधानका निमित्त टोल समितिले सधै सकारात्मक भुमिका निर्वाह गर्दै आएको पनि अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
एक सय ३४ घर धुरी रहेको यस टोलमा हाल सम्म भएका कार्यलाई निरन्तरता दिँदै संस्थाले आगामी दिनमा कृषिकालागि आवश्यक सामाग्री उपलव्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यलाई भावी योजनाका रुपमा लिएको बताइएको छ । टोलमा प्रत्येक बर्ष कम्तिमा २ सय ५० मिटर बाटो साझेदारीमा ब्लक लगाउन माग गर्ने , सामाजिक सुरक्षा भत्ता वितरण सहज गर्न पहल गर्ने, खानेपानी , स्वास्थ्य , शिक्षा , फोहोर मैला व्यवस्थापन लगायतका कार्यलाई संस्थाले आफ्नो भावी योजनाका रुपमा राखेको बताइएको छ । त्यस्तै आवश्यकता अनुसार नगर र वडाबाट नागरिकले पाउने सेवा सुबिधा छिटो छरितो र सहज बनाउँन पहल गर्ने बताइएको छ ।
आ.ब. २०७७÷०७८ र २०७८÷७९ मा बाटो बाहेक संस्थामा १ लाख ८७ हजार ५ सय ७३ रुपैयाँ वराबर कारोवार भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी कोषाध्यक्ष राम जी गौतमले हाल सम्म १ लाख ४१ हजार ४सय ९५ रुपैयाँ खर्च रहेको बताइएको छ । त्यस्तै ४६ हजार ७८ रुपैयाँ बैंक मौज्दात भएको बताइएको छ । संस्थाको साङ्गठानिक विवरण प्रतिवेदन सचिव बालकृष्ण अधिकारीले प्रस्तुत गरेका थिए भने अध्यक्ष , कोषाध्यक्ष र सचिव तिनै जनाको प्रतिवेदन हलले अनुमोदन गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले शान्ति टोलले गरेको काम देशमै उदाहरणिय रहेको र सरकारले पनि यसरी नै योजनाबद्ध काम गरेमा देश समाजवादमा रुपान्तरण हुने बताएका छन् । कनकाई ४ मा रहेका १५ वटा टोल समिति मध्ये पहिलो साधारणसभा सबै टोल भन्दा पहिले सम्पन्न गरेको यस शान्ति टोलको कार्य शैलीले सबै जनप्रतिनिधिलाई समेत सिक्ने अवसर प्राप्त भएको भन्दै वडाअध्यक्ष पौडेलले शान्ति टोल विकास संस्थाको प्रशंसा गरेका छन् । वडाअध्यक्ष पौडेलले आगामी दिनमा समेत संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा वडा नं. ४ की वडा सदस्य देवीमाया दाहाल , आदर्श टोलका अध्यक्ष बुद्धिप्रसाद सुवेदी , कनकाई कञ्चन टोलका अध्यक्ष रत्न बहादुर श्रेष्ठ , मनोकामना टोलका अध्यक्ष मनोरथ थापा , कनकाई सिर्जन टोलका अध्यक्ष रविन भट्टराई , लक्ष्मी पाण्डे टोलका सचिब हरि मिश्र , नेपाली कांग्रेस वडा सभापति तारकुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।
वडा सदस्य रोशन सुवेदी ,बुद्धिजीवी शिक्षासेवी खड्ग प्रसाद बिमली, डा. पुण्यप्रसाद पौडेल लगायतले स्थानीय तह धेरै बर्ष सम्म जनप्रतिनिधि विहिन भएर कर्मचारीको नियन्त्रणमा रहँदाको अवस्था स्मरण गर्दै जनप्रतिनिधि र टोल विकास संस्थाको सक्रियतामा स्थानीय शिक्षासेवी दुर्गाप्रसाद चापागाईँको नेतृत्वमा रहेको शान्ती टोल विकास संस्थाले मुहार फेरेको उल्लेख गरेका छन् ।
टोल सदस्य गुरु प्रसाद गौतमले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको संचालन सचिव बालकृष्ण अधिकारीले गरेका थिए ।