कनकाई खबर \ झापा विर्तामोड घर भई हाल डेनमार्क बस्दै आएका नविन र राधा विमलीले ब्रेन ट्युमरबाट १० महिनामा निधन भएका आफ्ना छोराको स्मृतिमा छात्रवृत्ति वितरण गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा परिवारसहित विगत १४ वर्षदेखि डेनमार्क बस्दै आएका नविन र राधाको २०७१ फागुन १८ गतेका दिन जन्म भएका छोरा सिभांसको ब्रेन ट्युमरका कारण १० महिनापछि २०७२ पुष २५ गते निधन भएको थियो । बाल्यकालमै निधन भएका छोरालाई स्मरण गर्दै परिवारले वार्षिक पुण्य तिथीकै अवसर पारेर २०७२ को पुष २५ गतेका दिन सिभांस स्मृत्ति प्रतिष्ठान स्थापना गरेको छ । हरेक बर्ष स्मृति दिवको अवसरमा पुष २५गते विद्यालयका वालवालिकालाई छात्रवृत्ति वितरण गरिँदै आएको प्रतिष्ठानका अध्यक्ष नविन विमलीले बताए ।
पाँच लाखबाट सुरुवात गरेको भएपनि हाल आठ लाख सम्म भएको अक्षयकोषलाई क्रमिक रुपले बढाउँदै लैजाने योजना रहेको बिमली बताउँछन् । स्थापनादेखि हरेक वर्ष झापाका विभिन्न सामुदायिक विद्यालयहरुमा वितरण गरिँदै आएको छात्रवृत्ति यस पटक शिवसताक्षी ४ स्थित लालपानी माविमा वितरण गरिएको हो । विद्यालयको कक्षा नर्सरीदेखि पाँच कक्षा सम्म अध्ययनरत ३ सय ३४ विद्यार्थीलाई न्यानो कपडा(सुइटर) वितरण गरिएको विद्यालयका प्रधानाध्यापक वालकृष्ण प्रसाईँले बताए । अभिभावक भेलासहितको छात्रवृत्ति वितरण कार्यक्रममा प्रधानाध्यापक प्रसाईँले विद्यालयको गतिविधिसहितको सामाजिक लेखा परिक्षणको प्रतिवेदन समेत सार्वजनिक गरेका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य केशव ओझाले गरेका थिए ।
हरेक बर्ष स्मृति दिवको दिन अर्थात पुष २५ गते फरक फरक विद्यालयहरुमा गएर प्रतिष्ठानले विपन्न विद्यार्थीहरुकालागि शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गर्दै आएको छ । सिभांसको स्मृतिलाई ताजा बनाउँदै अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले यस अघि कनकाई ८ स्थित हिमाली माध्यमिक विद्यालयमा स्थापनादेखि चार वर्ष सम्म निरन्तर यो छात्रवृत्ति वितरण गर्दै आएको तत्कालिन हिमाली माविक प्रधानाध्यापक प्रतिष्ठानका सदस्य केशव ओझाले बताए । झापा जिल्लामा रहेका दृष्टि विहिनहरुलाई आवश्यक सामाग्री, बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री साथै विद्यालयमा अध्ययनरत प्राथमिक तहका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसहित न्यानो कपडा वितरण गरिँदै आएको बताइएको छ । अघिल्लो वर्ष झापा गाउँपालिकाको मदरगाछमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा समेत छात्रवृत्ति वितरण गरिसकेको प्रतिष्ठानले यस बर्ष सिभांसको छैटौं स्मृति दिवसको अवसर पारेर लालपानी मा.वि. का विद्यार्थीलाई विद्यालयको पोशाकको रुपमा रहेको स्विटर वितरण गरिएको बताइएको छ ।
प्रतिष्ठानमा नविन र राधा विमलीसहित सदस्यका रुपमा प्रविण र अर्पना विमली, रविन र पुनम विमली, सिजन, सदिक्षा र समिर विमली, नरप्रसाद विमली, नुतन विमली, केशव र कमला ओझा, लक्ष्मी र श्रीकृष्णा चापागाईं, लक्ष्मण पराजुली, राम पराजुली, शिव पराजुली, नविन पराजुली, सावित्रा र कुन्दन जोशी लगायतको सहभागिता रहेको बताइएको छ ।
प्रतिष्ठानले आगामी बर्षबाट कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । आउँदो बर्षदेखि सामुदायिक विद्यालयबाट कक्षा १२ मा जिल्ला उत्कृष्ट हुने दुईजना छात्र÷छात्रालाई नगदद्वारा प्रोत्साहन गर्ने, त्यसैगरी पालिका स्तरीय कक्षा ८ र कक्षा ५ बाट सर्वोत्कृष्ट अंक ल्याउँने दुई जना छात्र र दुईजना छात्रालाई पनि नगदसहित प्रोत्साहित गर्ने प्रतिष्ठानका अध्यक्ष नविन विमलीले बताए ।