कनकाई खबर \ झापाको झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङडम पार्कको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । पर्यटन प्रवद्र्धनका क्षेत्रमा प्रदेश नं.१ कै उत्कृष्ट नमूनाका रुपमा रहेको वाटर किङडम पार्कको एक विशेष समारोहका विच औपचारीक उद्घाटन भएको हो ।
पूर्वपश्चिम लोकमार्गको झिलझिलेबाट ४ सय मिटरको दुरीमा रहेको वाटर किङडम पार्कमा संचालक राजकुमार संग्रौलाले व्यवस्था गरेको बग्गीमा चढेर पुगेका ओलीले पार्कको उद्घाटन गरेका हुन् ।
५० करोडको लागतमा निर्माण भएको वाटर किङडम पार्कको उद्घाटन गर्न आएका ओलीलाई नौमती बाजाका साथमा विभिन्न जातजातिको झाँकीसहितको र्यालीले स्वागत गरेको थियो । दुई वर्ष अघि नै निर्माण कार्य सम्पन्न भई संचालनमा आइसकेको वाटर किङडम पार्कको कोरोना महामारीका कारण औपचारिक उद्घाटन हुन पाएको थिएन ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी सावाँ लिम्बूले शिलान्यास गरी शिवसताक्षीको झिलझिलेमा स्थानीय व्यवसायी राजकुमार संग्रौलाको परिवारबाट भएको निजी लगानीमा पार्क निर्माण भएको बताइएको छ । पार्कमा जिपलाइन, सुपरम्यान जिपलाइन र जिप साइकिलिङले पर्यटकको मन लोभ्याउन सफल भएको पार्कका संचालक संग्रौलाले बताए । मनोरञ्जनका साथै पार्कमा विभिन्न प्रकारका उत्सव, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि सहज हुने भएको छ । थप आकर्षकका रुपमा पार्क परिसरमा स्विमिङ पुल, वेब पुल, मल्टीलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड रहेका छन् ।