कनकाई खबर \ झापाको सुरुङ्गामा जारी प्रदेशस्तरीय कनकाई कप भलिबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा आमचोक गाउँपालिका भोजपुर र झापा गाउँपालिका झापा विजयी भएका छन् ।
आमचोकले कनकाई नगरपालिकालाई २५–१२,२५–१५ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । खेलको म्यान अफ दि म्याच आमचोकका रोमन बस्नेत भए । त्यस्तै अर्को खेलमा झापा गाउँपालिकाले भद्रपुर नगरपालिकालाई २२–२५, २५–२१, २५–१६ र २५–२३ ले पराजित गरेको आयोजक समिति सुरुङगा जेसीजका खेल संयोजक विवेक शिवाकोटीले बताए । पराजयसँगै कनकाई र भद्रपुर नगरपालिका भने लगातार दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएका छन्।
सोमवार पहिलो खेलमा दमक नगरपालिका र आमचोक गाउँपालिका आमनेसामने हुनेछन्। त्यस्तै दोश्रो खेलमा बेलबारी नगरपालिका र झापा गाउँपालिका प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय एघार तथा उप–विजेताले नगद एकाउन्न हजार प्राप्त गर्ने छन्। प्रतियोगितामा प्रदेश १ का ६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना सुरुङ्गा जेसिजले गरेको हो ।