कनकाई खबर \ झापाको सुरुङ्गामा सुरु भएको प्रदेश नं. १ स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगितामा दमक र बेलबारी नगरपालिकाले विजयी शुरुवात गरेका छन्।
सुरुङ्गा जेसीजको आयोजना एवम् रोटरी क्लव अफ सुरुङ्गा सहआयोजक रहेको प्रतियोगिताको शनिवार भएको उद्घाटन खेलमा दमक नगरपालिकाले आयोजक कनकाई नगरपालिकालाई २५ \ ११, २५\ १७ र २५ \२० को सोझो सेटमा पराजित गरेको छ । तीन राष्ट्रिय खेलाडी सहित मैदान उत्रिएको दमकले कनकाई नगरपालिका माथि सोझो सेटमा जित हासिल गरेको हो। सो खेलको म्यान अफ दि म्याच दमकका ज्योति प्रकाश लावती भए ।
त्यस्तै दोश्रो खेलमा बेलबारी नगरपालिकाले भद्रपुर नगरपालिकालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ। समुह ख मा रहेको बेलबारीले भद्रपुर माथि संघर्षपूर्ण जित हासिल गरेको थियो।
पहिलो र दोश्रो सेट २५ \ १८ र २८ \ २६ ले जितेको उसले तेश्रो र चौथौ सेट भने गुमाएको थियो। तेश्रो सेट २५ \ २० ले गुमाएको बेलबारीले चौथौ सेट २५ \ १९ ले गुमाएको थियो। तर पाँचौं तथा अन्तिम सेटमा भद्रपुर माथि १५ \ १० को जित निकाल्दै बेलबारीले प्रतियोगितामा विजय शुरुवात गरेको हो । सो खेलको म्यान अफ दि म्याच बेलबारीका प्रकाश राउत भए ।
आइतबार पहिलो खेलमा उपाधि दाबेदार आमचोक गाउँपालिका भोजपुर र कनकाई नगरपालिका तथा दोश्रो खेलमा झापा गाउँपालिका र भद्रपुर नगरपालिका बिच प्रतिस्पर्धा हुने आयोजक सुरुङ्गा जेसीजका खेल संयोजक विवेक शिवाकोटीले जानकारी दिएका छन् ।
कनकाई माध्यमिक बिद्यालयको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए । आगामी पुस २१ गतेसम्म हुने प्रतियोगितामा प्रदेश नं. १ का ६ वटा पालिकाको सहभागीता रहेको छ । प्रतियोगितामा भोजपुरको आमचोक गाउँपालिका, मोरङको बेलबारी नगरपालिका, झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकाको टिमले सहभागीता जनाउँने खेल संयोजक शिवाकोटीले बताए । प्रतियोगिातामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११, दोस्रोलाई ५१ हजार १ सय ११ र तेस्रो हुनेलाई २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिने जनाइएको छ ।
सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती(उषा) को सभापतित्व रहेको उद्घाटन समारोहमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख पोखरेलले कनकाईलाई खेलकुदको हव बनाउँने अभियानमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताएका छन् । हरेक विधागत खेलमा नगरपालिकाले खेलाडी उत्पादन गरेर खेलकुदको माध्यमबाट समेत कनकाईको पहिचानलाई देशव्यापी बनाउँने योजनामा नगरपालिका अघि बढिसकेको नगर प्रमुख पोखरेलले जनाएका छन् ।
खेल सम्पन्न गर्न ९ लाख १६ हजार ७ सय ७७ रुपैंयाँ खर्च अनुमान गरिएको छ भने खेलप्रति युवाहरुलाई प्रोत्साहन गर्ने उद्येश्यले स्थानीय सरकार कनकाई नगरपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजकका रुपमा रहेको नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि. ले १ लाख ५० हजार प्रायोजन गरेको छ भने सह—प्रयोजकका रुपमा मेचीनगरका नरेन्द्र मेचे रहेका छन् । प्रथम पुरस्कारको राशी युवा व्यवसायी विकाश प्रसाईंबाट आफ्नो भाइ स्व. विनोद प्रसाईँको स्मृतिमा प्रायोजन हुने बताइएको छ । प्रतियोगिताको तेस्रो पुरस्कार गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएका बोर्ड डाइरेक्टर आशिष संग्रौलाले प्रायोजन गरेका छन् भने झापा क्षेत्र नं.४ का संघीय सांसद एलपी साँवा लिम्बूबाट समेत सहयोग प्राप्त भएको बताइएको छ ।